जापानमै पहिलोपटक नेपालीको हाकेन संचालनमा
जापानमा नेपालीहरुको संख्या बढ्दै जाँदा नेपालीहरुलाई लक्षित गरी बिभिन्न व्यवसायीक क्षेत्रमा लगानी गर्ने क्रम बढ्दो छ । रेष्टुरेन्ट, हलाल, रेमिट, ट्राभल लगायतका क्षेत्रमा लगानी गर्दै आएकोमा जापानमा पहिलो पटक नेपालीले हाकेन(मेनपावर) व्यवसाय पनि सुरु गरेका छन ।
नेपालीहरुको बाक्लो बसोबास रहेको जापानको तोचिगीकेनस्थित तोचिगीसीमा एसएमएस कर्पोरेशन नामको हाकेन कम्पनी(म्यानपावर एजेन्सी) सञ्चालनमा आएको हो । काभ्रेका महेश लुईटेल, ताप्लेजुङका सुरेन अधिकारी र भक्तपुरका श्याम खड्काको संयुक्त लगानीमा एसएमएस हाकेन संचालनमा आएको हो ।
तुलनात्मक हिसाबले अन्य व्यवसाय भन्दा जटिल कानुनी प्रक्रिया र ठुलो रकमको पुँजी आवश्यक पर्ने हुँदा जापानमा विदेशीहरुलाई हाकेन कम्पनी संचालन गर्न त्यति सहज मानिँदैन ।
कम्पनीका प्रबन्ध निर्देशक महेश लुईटेलका अनुसार हाल एसएमएस हाकेन मार्फत ३०० जना कामदारहरुले प्रत्यक्ष रोजगारी पाईरहेका छन । जसमध्ये ८० प्रतिशत नेपालीहरु रहेको लुईटेलले बताएका छन ।
एसएमएस हाकेनले जापानी र काम गर्ने अनुमति पाएका बिदेशीहरुलाई जापानका बिभिन्न कम्पनीहरुमा काम लगाईरहेको कम्पनीका प्रबन्धक सुरेन अधिकारीले बताएका छन । एसएमएस कर्पोरेशनले अर्को बर्षबाट जापानका अन्य प्रान्तहरुमा पनि हाकेनको शाखा बिस्तार गर्ने लक्ष्य राखेको छ ।
एसएमएस हाकेनले व्यवसाय मात्रै नभई नेपालीहरुलाई आईपर्ने बिभिन्न समस्याहरुमा पनि सहयोग गर्दै आईरहेको छ । हाकेनले तोचिगी अन्तराष्ट्रिय केन्द्र र तोचिगी नेपाली समाजको समन्वयमा बिभिन्न जनचेतनामुलक काम समेत गर्दै आएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्