यस्तो छ, एनआरएनए जापानको चुनावि हिसाबकिताब
गैर आवासीय नेपाली संघ जापानको मुख्य मुख्य पदहरुमा सहमति भएपनि उपाध्यक्ष, सचिव र सदस्य पदमा सहमति नभएपछी बाँकी रहेका पदहरुको लागी भोली निर्वाचन हुने भएको छ । सहमतिका लागी लामो कसरत गरेपनि उम्मेद्वारहरुबीच सहमति हुन नसकेपछी चुनाव हुने पक्का भएको हो ।
निर्वाचन समितिका संयोजक ओम गुरुङका अनुसार निर्वाचन भोली बिहान १० बजेबाट सुरु हुँदैछ । गैर आवासीय नेपाली संघ जापानको निर्वाचनमा पहिलोपटक अनलाईन मार्फत मतदान हुँदैछ । मतदाताले आईफोनमा एनआरएनए जापानको एप्लीकेसनमार्फत र कम्प्युटरमा app.nrnaelection.com मा गएर मतदान गर्नसक्नेछन ।
एप्लीकेसन तथा कम्प्युटरको सुबिधा प्रयोग गर्न नसक्ने मतदाताहरुका लागी एनआरएनए जापानका १३ ओटै क्षेत्रिय समितिको मतदान केन्द्रमा दिउँसो १ बजेबाट मतदान गर्न पाउने व्यवस्था गरिएको छ । क्षेत्रिय समितिको मतदान केन्द्रमा सम्बन्धित क्षेत्रिय संयोजक, उप–संयोजक र सचिव रहनेगरी निर्वाचन समिति तोकिएको छ ।
अनलाईन मतदान बिहान १० बजेबाट साँझ ६ बजेसम्म खुल्ला रहनेछ भने क्षेत्रिय मतदान केन्द्रहरुबाट दिउँसो १ बजेबाट साँझ ६ बजेसम्म मतदान गर्न पाईनेछ । निर्वाचन समितिका संयोजक ओम गुरुङले निर्वाचन निष्पक्ष हुनेमा निर्धक्क हुन सबै जापानबासी नेपालीहरुलाई आग्रह गरेका छन ।
एनआरएन जापानका मुख्य पदहरु अध्यक्ष, महिला उपाध्यक्ष र कोषाध्यक्ष लगायतमा सहमतिमा नेतृत्व चयन भईसकेको छ । बरिष्ठ उपाध्यक्षमा देवीलाल केसी निर्बिरोध निर्वाचित भईसकेका छन । अध्यक्षमा टासी लामालाई अनुज थापाले अन्र्तराष्ट्रिय समन्वय परिषद सदस्यसँग साटफेर गरेका थिए ।
महिला उपाध्यक्षमा सविता श्रेष्ठले अनीता गुरुङलाई छाडेकी थिईन । महासचिवमा विशेश्वर रेग्मीले बुद्धिराज घिमिरेलाई छाडिदिएका थिए । कोषाध्यक्षमा कालिका थापालाई प्रल्हादसिंह महत र महेन्द्र अधिकारीले छाडेका थिए ।
भोली बाँकी रहेका खुल्ला उपाध्यक्ष, सचिव, महिला सदस्य र सदस्यका लागी चुनावी भिडन्त हुँदैछ । उपाध्यक्षका लागी सरोजकुमार खत्री, शिवप्रसाद पौडेल, द्रोण सिलवाल, छत्र दाहाल र जीवन न्यौपानेबीच प्रतिस्पर्धा हुँदैछ ।
सचिवमा जनकविक्रम शाही र बासु देब लामीछाने भिडदैछन । सचिवमा जनकबिक्रमले जित्ने सम्भावना बलियो रहेको छ । महिला सदस्यका लागी कमला गैरे, सिर्जना पाण्डे र स्मृति आचार्य तीन जना प्रतिस्पर्धामा छन । महिला सदस्यमा कमला गैरे, सिर्जना पाण्डे र स्मृति आचार्यको कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
पाँच जना खुल्ला सदस्यका लागी २१ जना चुनाबी मैदानमा ओर्लिएका छन । सबैभन्दा रोचक प्रतिस्पर्धा खुल्ला सदस्यमै हुने देखिएको छ । खुल्ला सदस्यमा विक्रम खत्री, कुमार कार्की, राजु पनेरु, सुरेश रेग्मी, ज्याक खड्काको नाम चर्चामा छ ।
प्रतिस्पर्धामा विक्रम खत्री, बालकृष्ण कंडेल (हिमाल), उत्तमकुमार श्रेष्ठ, नरेन्द्रराज सापकोटा, दयाराम खरेल, नारायण खड्का, डिलाराम गैरे, चेतराम गैरे (चेतन), दिनेश लोहनी, श्याम कंडेल (गोपाल), हस्त लामा, राजनकुमार पौडेल, अस्मीता लामा (वाइबा), टिकाराम कंडेल, सोमनाथ लम्साल, लालबहादुर रावल, डिल्लीराम शिवाकोटी लगायत छन् ।
निर्वाचन समितिका संयोजक ओम गुरुङका अनुसार निर्वाचन परिणाम पर्सी सोमबार मात्रै सार्बजनिक गर्ने कार्यतालिका रहेको छ । संयोजक ओम गुरुङका अनुसार मतपरिणाम गैर आवासीय नेपाली संघको वेभसाईटमार्फत सार्वजनिक गरिनेछ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्