पोखराका मेयरले अब चटपट, पानीपुरी बेच्न नदिने
पोखरा–लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले फेवाताल किनारमा निर्माण गरिएका फुट ट्रयाकमा गरिने बन्द व्यापार हटाउने उद्घोष गरेका छन् । मेयर जिसीले ताल किनारमा हुने व्यापारले ताल फोहोर भएको भन्दै यस्तो धारणा राखेका हुन ।
महानगरपालिकाकै सभाहलमा बिहिबार नागरिक समाज पोखराले आयोजना गरेको ‘महानगरका प्रमुखसँग साक्षात्कार’ कार्यक्रममा बोल्दै मेयर जिसीले ताल किनारको व्यापारले ताल दुर्गन्धीत र फोहोर भएकाले शील नै गर्नुपर्ने बताएका छन ।
प्रमुख जिसीले भने, ‘ताल किनारमा चटपट, पानीपुरी, बदाम बेच्नेको भीड हुने गरेको छ, त्यसले फेवाताललाई फोहोर बनाएको छ ।’ ब्यापारलाई शील गरेपनि फुट ट्रयाकमा मान्छे भने हिंड्न दिइने उनले प्रष्ट्याएका छन ।
मेयर जिसीले केहि व्यक्ति र शक्तिहरुले आफूलाई असफल बनाउने प्रयास गरिरहेको गुनासो समेत गरेका छन् । नियतवश नै मानिसहरुले सफा ठाउँमा पनि फोहोर थुपार्ने, भइसकेको काम पनि बिगार्ने लगायतका काम गर्ने गरेको र त्यो आफूलाई असफल पार्ने प्रयास स्वरुप भइरहेको उनको भनाई छ ।
महानगर प्रमुख जिसीले ढुवानीका सामान ओसारपसार गर्ने सवारी साधन पार्किङ गर्नकै लागि बसपार्क र सडक नबनाउने प्रस्ट पारेका छन । उनले भने,’कसैका सामान ढुवानी गर्ने सवारी साधन पार्किङ गर्नका लागि बसपार्क र सडक बनाएको होइन र बनाइन्न पनि, त्यस्ता सवारीसाधनका धनीले आफ्नै घर र भवनमा पार्किङ स्थल बनाउनुपर्छ, राज्यले गर्दिने हैन ।’
मेयर जिसीले महानगरमा जनसंख्या बढ्दा फोहोरको मात्रा पनि बढेको तर फोहोर उठाउने जनशक्ति र श्रोतसाधन उही हुँदा व्यवस्थापनमा समस्या भएको बताएका छन ।
मेयर जिसीले फोहोरलाई मोहरमा बदल्न रिसाक्लिङ प्रविधि अपनाउनुपर्नेमा जोड दिएका छन । उनले दीर्घकालिन समाधान, ब्यबस्थापन र अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन । साक्षात्कारमा जिसीले महानगरमा भएका घट्नाको सबै जिम्मेवारी महानगरपालिकाले लिन नसक्ने प्रस्ट्याएका थिए ।
केहि दिनअघि लामाचौर भन्दा केहि तल सुन्दरफिडस्थित नालीमा ज्यान गएको कुरा उप्काउँदै उनले भने, ‘५ मिटर रगडिँदै नालीमा खसेको देखिन्छ, बाइक चलाउनेको आफ्नो बाइक पनि हैन, लाइसेन्स पनि छैन, महानगरमा भीर पनि पर्छ, भोलि भीरबाट झरेर कोहि मर्ला, ती सबैको जिम्मेवारी महानगरले लिन सक्दैन ।’
प्रमुख जिसीले हप्ता उठाउने टोले गुण्डाहरुलाई आफूले तह लगाउने बताएका छन । उनले टोले गुण्डाहरुले हप्ता उठाउने गरेको गुनासो सुनेको भन्दै त्यस्तो भए किटानी जाहेरी दिन आग्रह गरेका छन ।
जिसीले न्यूरोडलाई नमूना क्षेत्र घोषणा गरेर त्यहाँ हरियाली बनाउने योजना बनिरहेको जानकारी गराएका छन । उनका अनुसार कम्तिमा ७/८ फुटको विरुवा रोपेर त्यसको संरक्षण गर्ने योजना बनिरहेको छ । त्यसपछि अन्य क्षेत्रमा बिस्तार गरिने उनले बताए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्