सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

पहिला प्रेमिका मारे अनि आफैलाई लगाए आगो

रौतहटमा सुटकेसमा शव फेला परेदेखि सनसनी फैलिएको रुबी साहको हत्या प्रकरणको अनुसन्धान फाइल बन्द हुने अवस्थामा पुगेको छ । रुबीको हत्याका मुख्य आरोपी लक्ष्मण पासवानको मृत्यु भएसँगै सो घटना सम्बन्धी फाइल बन्द हुने अवस्थामा पुगेको हो ।

लक्ष्मणको बुधबार साँझ ६ बजे काठमाडौंको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको रौतहटका प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले बताएका छन् ।

चार दिनदेखि प्रहरीको तिव्र खोजीमा रहेका हत्या आरोपी पासवान बुधबार बिहान ७ बजेतिर रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते भएको अवस्थामा फेला परेका थिए ।

उनले आत्महत्या गर्न आफैंले जिउमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका थिए । प्रहरीले नियन्त्रणमा लिएर उपचारको लागि उनलाई गौर ल्याएको थियो । त्यहाँबाट थप उपचारको लागि काठमाडौंको किर्तिपुरस्थित वर्न अस्पताल पठाइएको थियो ।

मुख्य आरोपी पासवानकै मृत्यु भएकाले उनको हत्याको फाइल नै बिस्तारै बन्द हुने अवस्थामा जाने रौतहटका प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले बताएका छन् । एसपी गिरीले भनेका छन्–‘अहिले घटना अनुसन्धानकै क्रममा छ । मुद्दा दर्ता त हुन्छ नै । हत्या घटनामा अन्यको संलग्नता बारे पनि अनुसन्धान गर्दैछौं । तर हत्यामा लक्ष्मण मात्रै संलग्न भएको पाइए बिस्तारै फाइल क्लोज हुन्छ ।’

सुटकेसमा शव फाल्ने ई–रिक्सा चालक राजकुमार महरा पनि अहिले प्रहरी हिरासतमै छन् । उनीमाथि समेत प्रहरीले अनुसन्धान जारी राखेको छ । रौतहटका प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले भनेका छन्–‘हत्या घटनामै रिक्सा चालक त दोषी देखिँदैन । हेरौं अनुसन्धानको क्रममा के हुन्छ ।’

हुन त हत्या आरोपी लक्ष्मण पासवानले नै आफ्नो जिउमा आगो लगाएर आत्महत्या गर्नुअघि भिडियो बनाउँदै आफूले नै रुबीको हत्या गरेको स्वीकारेका छन् ।

उनले भिडियोमा भनेका छन्–‘रुबीलाई मारेदेखि मेरो हात काँपिरहेको छ । मेरो जान मरिसकेकी छन् । म बाँचेर के गर्नु । पक्राउ परे जेल जानुपर्छ । १०÷१५ वर्ष सजाय भोग्नुपर्छ । म पनि रुबी कहाँ नै जान्छु ।’

उनले रुबी र आफूबीच ६ कक्षादेखि नै प्रेम सम्बन्ध रहेको, दुईपटक विवाह समेत गरेको खुलाइसकेका छन् । तर आफू गरिब भएकै कारण रुबीको आमाले स्वीकार नगर्दा यो स्थिति आएको पनि उनले भिडियोमा भनेका छन् ।

माधव नारायण नगरपालिका– ६ माधवपुर माइत भएकी रुबीको भारतको बिहारस्थित मुजफ्फरपुरमा बिहे भएको थियो । लक्ष्मणको घर र रुबीको माइती घर एउटै गाउँमा हो । रुबी केही महिनादेखि गौरमा डेरा लिएर आफ्ना ४ वर्षीया छोरालाई पढाउँदै थिइन् ।

लक्ष्मणका पनि दुई छोरा छन् । वडा नम्बर ६ का वडाध्यक्ष रामनरेश यादवका अनुसार लक्ष्मण करिब ७ महिना अघि विदेशबाट फर्केका थिए । रुबीको शव राखेर फालेको सुटकेस उनले विदेशबाटै ल्याएका थिए । उनी जगरनाथ पासवानका एक मात्र छोरा थिए । गौरमा डेरा लिएर लक्ष्मण बसिरहेको कुरा घटनापछि मात्र खुलेको उनको भनाइ छ ।

उनका अनुसार केही लेनदेनको कारण रुबीको माइतको परिवार केही वर्षदेखि गाउँमा बसिरहेका छैनन् । उनको घर भएको घडेरीबाहेक केही छैन ।

गत शनिबार राति १० बजेतिर गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका–९ मुडवालगेटस्थित सडकमा बेवारिसे अवस्थामा सुटकेस फेला परेको थियो ।

भित्र महिलाको शव भएको आशंकासहित रातभर रुँगेर प्रहरीले आइतबार बिहान खोलेको थियो । जसमा घाँटीमा डोरी र सल बेरेको अवस्थामा शव थियो ।

केहीबेरपछि सो शव रुबीको रहेको माइती पक्षले पुष्टि गरेका थिए । डीएसपी कार्कीका अनुसार रुबीको परिवारले लक्ष्मण पासवान समेत यस घटनामा संलग्न हुन सक्ने आशंकासहित प्रहरीमा विगतको घटनाक्रमको जानकारी दिएका थिए ।

लक्ष्मण १४ वर्षअघि रुबीलाई अपहरण गरेर भारतमा लुकाएको आरोपमा पक्राउ परेका थिए । १४ वर्षकै उमेरमा रुबीलाई अपहरण गरेको भन्दै परिवारले दिएको अपहरण तथा शारीरिक बन्धक, मानव बेचबिखन मुद्दामा उनी १७ दिन हिरासत बसेर छुटेका थिए ।

उनको विगतले प्रहरीलाई अनुसन्धानमा सहज पुगेको र फाल्ने ई–रिक्सा चालक राजकुमार महरा पक्राउ परेपछि हत्यारा पत्ता लगाउन थप सहज भएको डीएसपी कार्कीले बताएका छन् ।

रिक्सा चालक महराले आफूलाई पाँचसय रुपैयाँ दिएर लक्ष्मण पासवानले शव फाल्न लगाएको बयान र ठाउँको बारेमा भनेपछि हत्या भएको घर प्रहरीले पत्ता लगाएको थियो ।

गौर नगरपालिका–५ बालमन्दिर पछाडि पासवानले डेरा लिएर बसेको कोठामा रुबीको हत्या भएको पुष्टि भएको थियो । त्यहाँबाट प्रहरीले रुबीको चप्पल लगायतका सामग्रीहरू पनि बरामद गरेको थियो । लक्ष्मण बेपत्ता भएकाले प्रहरीले खोजी कार्य तीव्र बनाएको थियो ।

पासवानले शव व्यवस्थापनको लागि गौरको कबिर चोकबाट राजकुमार महराको ई–रिक्सा बुक गरेर ल्याएका थिए । उक्त ई–रिक्सामा शवसहितको सुटकेस बोकेर पासवान बरहवा पुल पारी पुगेका थिए ।

पुल पारी पुगेपछि ई–रिक्साको पाङ्ग्रा बिग्रिएपछि चालक महराले अर्को ई–रिक्सा बोलाउने प्रयास गरेका थिए । तर अर्को रिक्साले नमानेपछि सुटकेस लिएर पैदल नै अघि बढेको जानकारी रिक्सा चालक महराले प्रहरीलाई बयान दिएका छन् ।

शनिबार अपरान्ह ४ बजेतिर रुबी गौर बजार पुगेकी थिइन् । त्यहाँ उनी ब्युटी पार्लरबाट निस्केपछि साँझ करिब ६ बजेतिर आमा मिथिलादेवी साहलाई फोन गरेर बजारबाट केही सामान ल्याउनु पर्छ ? भनेर सोधेकी थिइन् । त्यसपछि उनी बेपत्ता हुँदा घरपरिवारले खोजी सुरु गरेका थिए ।

लक्ष्मणले ब्युटी पार्लरबाट फर्केपछि रुबीलाई आफ्नो कोठामा बोलाएको र एक अर्काबीच बाँच्न नसक्ने भएकाले एक अर्कालाई मार्न भनेको लक्ष्मणले भिडियोमा भनेका छन् ।

त्यसपछि घाँटी कसेर हत्या गरी शव सुटकेसमा प्याक गरेर फाल्न लगाएको समेत उनको भिडियो बयानमा छ । लक्ष्मणले आफ्नो छातीमा रुबीको तस्वीर र हातमा रुबीको नामसहितको ट्याटु समेत बनाएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS