सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पिलर गाड्दा नेपालीको ५० बिघा भुमी भारततर्फ

नेपाल–भारत सिमानामा पिलर निर्माण र मर्मतका क्रममा नेपाली सीमा मिचिएको पाइएको छ । नेपाल र भारतले संयुक्त रुपमा गरिरहेको हराएका र क्षतिग्रस्त पिलरको निर्माण र मर्मतको क्रममा वीरगञ्ज महानगरपालिका वडा नं १ छपकैया क्षेत्रमा मात्रै १२ जना भन्दा बढी स्थानीयको झण्डै ५० विघा जमिन मिचिएको पाइएको छ ।

त्यस क्षेत्रमा ३९२ नम्बर मुख्य पिलरको सहायक पिलर निर्माणको क्रममा नेपाली नम्बरी, ऐलानी र पर्ती जग्गा भारततर्फ परेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार पिलर नं ३९२ को ६, ७, ८ र २६ देखि २९ नम्बरको सहायक पिलर निर्माणको क्रममा नेपालको भूभाग मिचिएको छ ।

बर्षौँदेखि भोगचलन गर्दै आएको जग्गामा पिलर गाड्नलाई खाल्डो खनेपछि त्यसको विरोध गरेको स्थानीय रवीन्द्र महतो कोइरीले बताएका छन । गत पुस २२ गते सर्वे टिमका नेपाली प्रतिनिधिहरुले आफ्नो कित्ता नम्बर १४ को नम्बरी जग्गामा पिलर गाडेको कोइरीको भनाइ छ ।

स्थानीय नेमी साह कानु र असर्फी साह कानुको नाममा रहेको जग्गाको केही भाग पनि भारततर्फ पर्ने भएको छ । जग्गामा पिलर गाड्न खाल्डो खनेको जानकारी पाएपछि विरोध जनाएको नेमीका छोरा बद्रीले बताएका छन । नयाँ पिलर गाड्न लागेको क्षेत्रमा हजुरबुवाबाट बाबुको नाममा नामसारी भएको कित्ता नं ६५, ५४ र ५२ को नम्बरी जग्गा रहेको उनले बताएका छन ।

तिरो तिरेर वर्षौदेखि भोगचलन गर्दै आएको जग्गा भारतको हुनै नसक्ने उनीहरुको भनाइ छ । ‘उताको प्रहरी उतै बस्छन, यताको प्रहरी यतै बस्छन् । नदी वारी पारी गर्दा बुट भिज्छ भन्ने चिन्ताले नेपालको जमिन भारततर्फ परिरहेको छ’ स्थानीय रवीन्द्र महतो कोइरीले भने ‘वर्षेनी तिरो तिरेर भोग चलन गरेको जग्गा कसरी भारतमा पर्छ ? भारतकै हो भने राज्यले हामीलाई कसरी दियो ?’

उनले जग्गा भारतकै हो भनेर नेपाली अधिकारीहरु भन्छन् भने आफूहरुलाई क्षतिपूर्ति दिनुपर्ने बताएका छन । ‘जग्गा भारतकै हो भने हामीलाई किन लालपुर्जा दिइयो ? त्यसको मुआब्जा पाउनुपर्छ ।’ स्थानीयले तत्काल पिलर निर्माणको काम रोकेर समस्याको समाधान गर्नुपर्ने माग पनि राखेका छन् ।

पिलर निर्माण रोक्न जिल्ला प्रशासन कार्यालयबाट पत्र लिएर जाँदा नेपाल–भारत सीमा नापी टोलीको कार्यालयले पत्र समेत बुझ्न नमानेको आरोप स्थानीयले लगाएका छन् ।

नेपाली अधिकारी भन्छन्–कुरो नबुझेर समस्या

नेपाल भारत सीमा सर्वेक्षण टोलीका अधिकारीहरुले भने स्थानीयले कुरा नबुझेका कारण समस्या भएको बताएका छन् । नेपाल भारत सीमा सर्वेक्षण टोलीका टिम लिडर एवं प्रमुख नापी अधिकृत रमेश ज्ञवालीले स्थानीयले प्राविधिक कुराहरु नबुझेका कारण पिलर निर्माणको क्रममा समस्या देखिएको बताएका छन ।

‘हामीसँग प्रविधि छ, त्यही प्रविधिको प्रयोग गरेर नाप्छौं । त्यसमा एक इन्च पनि जमिन तलमाथि हुँदैन’ उनले भने, ‘नेपाल भारतबीच १८४० मा भएको सुगौली सन्धिकै आधारमा अहिले पिलर गाड्ने काम भइरहेको छ । त्यतिखेर सिर्सिया नदी जहाँ थियो, अहिले त्यहाँ छैन । नदीले धार परिवर्तन गरेर बनेका पर्ती जग्गाहरु पनि नापेर व्यक्तिहरुलाई दिइएको छ । त्यसैले गर्दा समस्या भएको हो ।’

सुगौली सन्धिपछि इष्ट इन्डिया कम्पनीले बनाएको नक्शाको आधारमा अहिले पिलर गाडिएकाले नेपाली जमिन भारतमा पर्नै नसक्ने दाबी प्राविधिक टोलीको छ । नापी अधिकृत ज्ञवालीले भने–‘हराएका र क्षतिग्रस्त पिलर मर्मत र निर्माणका क्रममा यस्ता केसहरु आइरहेको छ । त्यसका लागि हामीले एउटा फारम भरेर सरकारलाई रिपोर्ट गर्छौ । उनीहरुका लागि सरकारले केही न केही गर्ला ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्