चरीकी प्रेमिका खुश्बुले बुझाईन प्रचण्डलाई ज्ञापनपत्र
प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’ की प्रेमिकाको रुपमा चर्चामा आएकी खुश्बु ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएकी छिन् ।
आफूले सञ्चालन गरेको आश्रय सेल्टर नेपालको लेटर प्याडमा उनले असहाय, अनाथ तथा सडक बालबालिकाको संरक्षणका लागि विस्तृत कार्यक्रम र भौतिक पूर्वाधारको विकासमा पर्याप्त बजेट विनियोजन हुनुपर्ने माग गर्दै प्रचण्डलाई ज्ञापन पत्र बुझाएकी हुन् ।
उनले ज्ञापन पत्रमार्फत सन् २०१८ को मे १९ देखि २७ तारिखसम्म हुन लागेको सडक तथा असहाय बालबालिकाका निम्ति विश्वकप फुटबलमा नेपालको सहभागिता सुनिश्चित भएको समेत उल्लेख गरेकी छिन् ।
ज्ञापन पत्रमा भनिएको छ, ‘यो विश्वकपमा २२ देशबाट २४ टिमको सहभागिता रहनेछ । जसमा छात्र र छात्रामा समान १२–१२ टिम छन् । नेपालले पहिलो पटक छात्र टिममा भाग लिन लागेको हो । आगामी विश्वकपमा छात्रालाई पनि सहभागी गराउने हाम्रो लक्ष्य छ ।’
उनले नेपालमा बालबालिकाको स्थिति अत्यन्तै कमजोर रहेकाले पर्याप्त बजेट र कार्यक्रम बनाउन समेत माग गरेकी छिन । भनिएको छ–‘अनेक समस्या र बाध्यताका बीच बालबालिकाहरु सडकमा बस्न र पढ्ने उमेरमा मागेर दैनिकी चलाउन बाध्य छन् ।’
उनले मानव बेचबिखन, यौनशोषण लगायतका हिंसामा बालबालिकाको प्रयोग रोक्नका निम्ति सीमित कार्यक्रम बने पनि त्यसको व्यावहारिक कार्यान्वयन हुन नसकेको बताउँदै नेपालमा सडक, अनाथ तथा असहाय बालबालिकालाई संरक्षण र उचित शिक्षादिक्षाको प्रबन्ध गर्ने कार्य लक्ष्य अनुसार अघि बढ्न नसकेको उल्लेख गरेकी छिन् ।
उनले प्रचण्डले नेतृत्व गरेको १० वर्षे जनयुद्ध र त्यसको जगमा भएको जनआन्दोलनपछि संविधान निर्माणसँगै मुलुक आर्थिक समृद्धि र विकासतर्फ अघि बढिरहेको अवस्थामा सडकमा रहेका बालबालिकाको सुन्दर भविष्यका लागि नेकपा माओवादी केन्द्रको पनि योगदान रहन्छ भन्ने अपेक्षा सहित ज्ञापन पत्र बुझाएको जनाएकी छिन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्