सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

ग्याल्पो ल्होसार भव्यसँग मनायो शेर्पा संघ जापानले

शेर्पा संघ जापानले ग्याल्पो ल्होसार–२१४५ धुमधामसँग मनाएको छ । संघले आईतबार टोक्योको हामामाचु स्टेशन नजिकै रहेको मन्दिर रेष्टुरेन्टमा शुभकामना आदानप्रदान तथा बिभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरी ल्होसार मनाएको हो ।

शेर्पा संघका अध्यक्ष लाक्पा गेलु शेर्पाको सभापतित्वमा भएको कार्यक्रममा गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट प्रमुख अतिथी थिए । आदीवासी जनजाती महासंघ जापानका अध्यक्ष पासाङ शेर्पा बिशेष अतिथी थिए भने मगर संघ जापानका तर्फबाट किरण थापा, थकाली सेवा समाज जापानका अध्यक्ष बुद्धी गौचन लगायत बिभिन्न प्रवासी संगठनका प्रतिनिधि अतिथिका रुपमा आमन्त्रित थिए ।

शेर्पा संघ जापानको ल्होसार बिशेष कार्यक्रममा बोल्दै प्रमुख अतिथी भवन भट्टले शेर्पा जाती र नेपालको पर्यटन विकासको परस्पर सम्बन्धको बारेमा प्रसंशा गरेका थिए । उनले शेर्पा जाती नेपालको पर्यटन विकासको एउटा अभिन्न अंग भएको र राज्यले त्यसको मुल्यांकन गर्नुपर्ने बताएका थिए ।

ल्होसार बिशेष औपचारीक कार्यक्रममा कार्यक्रम संयोजक फुरलाक्पा शेर्पाले स्वागत मन्तव्य राखेका थिए । शुभकामना आदानप्रदान तथा सांगितीक कार्यक्रममा टोक्यो क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदाय र गैर शेर्पा नेपालीको बाक्लो उपस्थिति थियो ।

ल्होसारको शुभकामना मन्तव्य राख्दै जनजाती महासंघ जापानका अध्यक्ष पासाङ्ग शेर्पाले कार्यक्रमले जापानमा रहेका आम नेपालीहरुबीच सौहार्दता र सामिप्यता बढाएको बताएका थिए । दावा शेर्पाले सञ्चालन गरेको कार्यक्रममा बिभिन्न राजनीतीक दल सम्बन्द्ध प्रवासी संगठनका प्रतिनिधिको पनि उपस्थिती थियो ।

शेर्पा संस्कृती झल्कने नृत्यका साथै नेपाली गीत संगीतका बिभिन्न प्रस्तुतीले कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएको थियो । कार्यक्रममा गायक कर्म दोङ्गले आफ्ना बिभिन्न गीतहरुमार्फत सहभागी दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए भने डान्सर रक्षा भट्टराई र तितुङ लामाले पनि आकर्षक नृत्य प्रस्तुत गरी दर्शक दिर्घाको ध्यान खिचेका थिए ।

त्यस्तै कलाकारहरु मिङमार शेर्पा, रिञ्जी शेर्पा, फुर्वा शेर्पा, याङ्जी शेर्पा, डोल्मा शेर्पा, दाली शेर्पा, पासाङ पी शेर्पा, एल सोनाम शेर्पा, साङमु शेर्पा, दावा सलाका शेर्पा लगायतको नृत्यले कार्यक्रमलाई थप रौनकता थपेको थियो । त्यसैगरी गायक विरेन्द्र विष्ट र विकास शेर्पाले पनि गीत गाएर कार्यक्रमलाई रमाईलो बनाएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्