जनजाति महासंघ जापानलाई अधिवेशनको चटारो
यसअघि आन्तरिक व्यवस्थापनको कमजोरीका कारण मिति तोकेर पनि स्थगित भएको नेपाल आदिवासी जनजाति महासंघ जापानको १६ औँ अधिवेशन आउँदो मार्च ११ तारिख आईतबारका दिन हुने भएको छ । अधिवेशन यसअघि जापानको राजदुत भईसकेका तथा अग्रज जनजाति नेता डा. गणेश योङ्जन तामाङको प्रमुख आतिथ्यतामा हुने जनजाति युवा नेता दावा शेर्पाले जानकारी दिएका छन ।
गत फेब्रुअरी ४ तारिखमा बसेको महासंघको सचिवालय र संघिय परिषद तथा अग्रज सल्लाहकार सहितको संयुक्त कार्यसमितिको बैठकले अधिवेशनको मिति तय गरेको महासचिव हर्क गुरुङले जानकारी दिएका छन । टोक्योस्थित गोतान्दोमा हुने अधिवेशनले संस्थाको विधान संशोधन गर्नुका साथै आगामी दुई बर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
अधिवेशनलाई भव्य रुपमा सफल पार्न संस्थाका अध्यक्ष पासाङ शेर्पाको संयोजकत्वमा कार्यसमितिका सबै पदधिकारीहरु सदस्य रहने गरी मूल आयोजक समिति गठन गरिएको छ । अधिवेशन व्यवस्थापन समितिको संयोजकको जिम्मा जनजाति महासंघ नागोयाका पूर्व उपाध्यक्ष पेम्बा शेर्पालाई दिइएको छ ।
महासंघको संरचनालाई समय परिस्थिति अनुरुप केहि परिमार्जिन गर्दै थप एकितृत तथा गोलबद्द गर्दै सामुहिक नेतृत्वलाई अँझ मजबुद र सशक्त बनाउन विधानमा केही संसोधन गरिने बताईएको छ । अधिवेशनले संगठनको विकाससंगै संस्थालाई जापानवासी सबै आदिवासी जनजातिले गौरव गर्न लायक नेतृत्व चयन गर्ने महासंघले विश्वास लिएको छ ।
संस्थाका सल्लाहकार तथा पुर्व प्रवक्ता सुकुमान थिङ तामाङ संयोजक रहने गरी सल्लाहकारद्वय डा. दिनेश मानन्धर र शरद कुमार गौचनसहितको ३ सदस्यीय विधान संशोधन समिति गठन गरिएको छ । त्यसै गरि निर्वाचन मण्डलमा सल्लाहकार तथा पूर्व अध्यक्ष ओम गुरुङ र मन बहादुर पुन मगरलाई जिम्मेवारी दिइएको छ ।
जापानमा कृयाशिल १० वटा जातिय संस्थाहरु क्रमश; तमुधिं जापान, थकाली सेवा समिति जापान, नेपाल तामाङ समाज जापान, नेपाल मगर संघ जापान, शेर्पा संघ जापान, याक्थुङ चुम्लुङ जापान, किंरात राई यायोख्खा जापान, नेवा जागरण मंच जापान र घले समाज जापान लगायतको अधिवेशनमा संलग्नता रहने छ ।
पासाङ शेर्पाको नेतृत्वमा रहेको हालको आदिवासी जनजाति महासंघ, जापानले क्यूश्यू, किता कान्तो, सेन्दाई र कान्तो क्षेत्र गरी ४ वटा क्षेत्रहरुमा क्षेत्रिय समितिहरु गठन गरिसकेको छ । बांकी क्षेत्रहरुमा आगामी कार्यकालमा आउने नयां नेतृत्वले संगठन विस्तार कार्यलाई निरन्तरता दिने योजना रहेको महासंघले जनाएको छ ।
यसै बिच महासंघले एक विज्ञप्ति प्रकाशित गर्दै बिहान ९ बजेबाट बन्द सत्र शुरु हुने र दिउँसो १ बजेबाट साँझ ४ बजेसम्म खुल्ला सत्र रहने जानकारी गराएको छ । महासंघले विज्ञप्तीमार्फत जापानमा कृयाशिल बिभिन्न संघ संगठन, व्यापारीक संस्थाका प्रमुख तथा प्रतिनिधि, बुद्धिजिबि, पत्रकार लगायत सबैलाई अधिवेशनमा सहभागी भईदिन अनुरोध गरेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्