सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

आज अरुण तेस्रो भारतलाई दिँदै प्रधानमन्त्री ओली

भारतको तीनदिने औपचारिक भ्रमणको क्रममा नयाँदिल्लीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज पनि महत्वपूर्ण राजनीतिक भेटवार्ता गर्दैछन् । प्रधानमन्त्री ओलीले आज बिहान ९ बजे राष्ट्रपति भवनमा गार्ड अफ अनरसहित सेरमोनियल रिसेप्सनमा सहभागी भएका छन ।

त्यसपछी उनले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग शिष्टाचार भेटवार्ता गरेका छन । राष्ट्रपतिसँगको भेटपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ओलीसँग भेटवार्ता गर्ने तय भएको छ । बिहान ११ बजे महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर प्रधानमन्त्री ओलीले माल्यार्पण गर्नेछन् ।

साढे ११ बजे हैदरावाद हाउसमा समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गर्ने तय भएको छ । मोदीसँग आज औपचारिक भेटवार्ता तय भए पनि मोदीले शुक्रबार साँझ नै ओलीसँग करिब डेढ घण्टा ‘वान टु वान’ वार्ता गरेका थिए । सो वार्तापछि ओलीले नेपाल–भारतबीच असमझदारी हटिसकेको बताए भने मोदीले आफू प्रशन्न भएको प्रतिक्रिया सार्वजनिक गरेका छन ।

आज शनिबार भने ओली र मोदीबीच प्रतिनिधिमण्डस्तरीय मुख्य वार्ता हुनेछ जसमा दुईपक्षीय सहयोगका विषयमा पनि छलफल हुनेछ । त्यसपछि सवा १२ बजे ओली र मोदीले संयुक्त रुपमा रिमोटमार्फत् वीरगञ्जस्थित एकीकृत जाँच चौकीको उदघाटन गर्नेछन् । सोही समयमा अरुण तेस्रो जलविद्युत आयोजनाको पनि संयुक्त रुपमा शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

सो कार्यक्रमलगत्तै दुई देशका उच्च अधिकारीहरुको उपस्थितिमा संयुक्त पत्रकार सम्मेलन गरी सहमति वा समझादारीहरु सार्वजनिक गरिनेछ । पत्रकार सम्मेलनपछि भारतीय उपराष्ट्रपति, गृहमन्त्रीलगायतसँग शिष्टाचार भेटवार्ताको समय निर्धारण गरिएको छ । यसैगरी शनिबार साँझ नै प्रधानमन्त्री ओलीलाई इण्डिया फाउन्डेसनको कार्यक्रममा नागरिक अभिनन्दन गर्ने र सो कार्यक्रमलाई सम्वोधन गर्ने तय भएको छ ।

आइतबार भने ओली उत्तराखण्डको पन्तनगरस्थित कृषि विश्वविद्यालयको अवलोकन भ्रमणमा जानेछन् जहाँ ओलीलाई विश्वविद्यालयले विद्यावारिधीको मानार्थ उपाधिले विभूषित गर्नेछ । ओली आइतबार साँझ नै स्वदेश फर्किने छन् ।

यसरी विते दिल्लीमा प्रधानमन्त्री ओलीका १२ घण्टा
तीन दिने औपचारिक भ्रमणका लागी ५४ सदस्यीय टोलीसहित भारत गएका प्रधानमन्त्री केपी शर्मा ओली दिल्ली गएदेखि हिजो राती पौने १० बजेसम्म व्यस्त रहे । विहान १०ः२० मा नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा ओर्लेका प्रधानमन्त्री ओलीलाई स्वागतका लागि भारतीय गृहमन्त्री राजनाथ पुगेका थिए ।

उनको साथमा भारतीय अर्थराज्य मन्त्री शिवप्रताप शुक्ला, नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरी पनि विमानस्थल पुगेका थिए । विमानस्थलको विशिष्ठ कक्षमा केहीछिन गृहमन्त्री सिंह र प्रधानमन्त्री ओलीबीच भलाकुसारी भएको थियो । त्यहाँबाट ११ः३० मा भारतीय राष्ट्रपति भवन पुगे । जहाँ उनको लागि वासको व्यवस्था गरिएको छ ।

उनी त्यहाँ १५ मिनेट आराम गरेपछि उद्योगी व्यावसायीले आयोजना गरेको कार्यक्रमका लागि ताज प्यालेश होटलमा गए । अढाई घण्टा कार्यक्रममा सहभागि भएर उनी सवा तीन बजे राष्ट्रपति भवन पुगे । कार्यतालिका अनुसार ४ः३० वजे राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटघाट गर्ने कार्यक्रम थियो तर उनले त्यो बीचमा आराम नगरि भारतीय नेता तथा विशिष्ट व्यक्तिहरुसँग भेटघाट गरे ।

राज्यसभा सदस्य एवं जनता पार्टी (युनाइटेड) नेता शरद यादव शुरुमै गएर भेटे । त्यस लगतै भारतीय गुप्तचर निकाय ‘रअ’ का पूर्व उपप्रमुख एबी माथुरले पनि भेटेका थिए । त्यसपछि भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धी लगायत सो दलका विशिष्ट नेताहरुसँग भेट गरे । त्यसमा भारतका पूर्वप्रधामन्त्री मनमोहन सिंह पनि सहभागि थिए । जब कि यिनीहरुको नाम कार्यतालिकामा समावेश गरिएको थियो ।

त्यसपछि मात्र राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले प्रधानमन्त्री ओलीलाई भेटेका थिए । प्रधानमन्त्री मोदीका सबभन्दा विश्वास पात्रको रुपमा चिनिएका डोभालकै भेटमा प्रधानमन्त्री ओलीलाई आजै प्रधानमन्त्री मोदीलाई भेट्न सुझाव दिएका थिए । उनीहरुको बीचमा के कुरा भयो त्यसका खुलासा कसैबाट भएको छैन ।

यद्यपी स्रोत भन्छन, डोभालले ओलीलाई पाकिस्तान र चीनसँग नेपालको सम्बन्धको बारेमा ख्याल गर्न ध्यानाकर्षण गराएका थिए । पछिल्लो समय नेपालमा चीन र पाकिस्तानको चहल पहल बढीरहेको विषयमा पनि चासो उनले लिएका छन् ।

डोभालभन्दा पहिले भेटेका रअ का पूर्व उपप्रमुख एवी माथुरले भेटेका थिए । जो नेपालका लागि रअ का प्रमुख पनि भइसकेका छन् । ओलीका लागि विश्वासपात्र मानिन्छन । उनी अहिले प्रधानमन्त्री मोदी मातहतमा रहेको राष्ट्रिय सुरक्षा परिषद्का नेपाल मामलाका सल्लाहकार पनि हुन् ।

प्रधानमन्त्री ओलीले डोभाललाई भेटिसकेपछि उनी भारतमा रहेका नेपाली प्रवासीलाई सम्बोधन गर्नका लागि भारतका लागि नेपाली राजदूतावास पाँच वजे पुगेका थिए । निर्धारीत समयमा नै पुगेका ओलीले सम्बोधन गर्न थालेपछि पानी पर्नुको साथै हावाहुरी चलेको थियो ।

त्यसका कारणले कार्यक्रम नै प्रभावित भयो । कार्यक्रम स्थगित भयो । अनि उनी त्यहाँ नेपाली प्रवासीसँग ६ वजेसम्म भेटघाट गरे । अनि त्यहीँबाट उनी बसेको राष्ट्रपति निवास फर्के । एकछिन् आराम गरेपछि मात्र उनी भारतीय प्रधानमन्त्री मोदीको सरकारी निवास पुगेका थिए ।

यी दुईजनाको बीचमा पुरै एकघण्टासम्म कुराकानी भएको थियो । जो प्रधानमन्त्री ओलीको कार्यतालिकामा थिएन । प्रधानमन्त्री ओलीको भ्रमण दलमा आएका एकजना मन्त्रीले भने, प्रधानमन्त्रीको भ्रमण दलमा हामी छौ तर मोदीसँग भेटघाटको बारेमा जानकारी नै भएन । मोदीसँग आजै भेट हुन्छ भन्ने कुरा हामीलाई पनि थाहा थिएन ।’

ओलीले मोदीसँगको भेटलाई मात्र गोप्य राखेको थिएन । यस्ता धेरै कुरा गोप्य हुन्छ जो भ्रमण दलका प्रतिनिधि मण्डलका सदस्यलाई पनि थाहा हुँदैन । मोदीसँगको भेटघाट सकाएर ८ः३० बजे दूतावासको रात्रीभोजमा सहभागि हुन इम्पेरियर होटल पुगे । ओली पुग्नुअघि अन्य गेस्टहरु आइसकेका थिए । सबैजना इन्जोय गरिरहेका थिए ।

उनी त्यहाँ सो कार्यक्रममा भारतका उद्योगपति, कर्मचारी, नेता लगायतले ओलीलाई बधाई दिएका थिए । ९ः१५ बजे कार्यक्रमबाट सिधै राष्ट्रपति भवन पुगेका थिए । यो प्रधानमन्त्री ओलीको हिँजोको कार्यतालिका थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्