सुन तस्करीमा संलग्न एसएसपीलाई पक्राउ गर्न आदेश
साढे ३३ किलो तस्करीको सुन प्रकरणमा मुछिएका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम खत्री फरार भएपछि उनलाई पक्राउ गर्न सर्कुलर जारी गरिएको छ ।
बरामद सुन हराएको भन्दै सनम शाक्य हत्याकाण्डमा समेत उनको संलग्नता भेटिएपछि छानबिन समितिले उनलाई बयानका लागि उपस्थित गराउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । तर उनी बयानका लागि उपस्थित नभएर फरार भएका हुन् ।
स्रोतका अनुसार फरार एसएसपी श्याम खत्रीलाई खोज्न प्रहरीले आन्तरिक सर्कुलर जारी गरेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालको मानव स्रोत विभागमा कार्यरत खत्रीलाई सनम शाक्य हत्या प्रकरण छानबिन गर्न बनेको समितिले बयानका लागि बोलाएको थियो ।
समितिले बोलाउनुभन्दा केही दिनअघि विदामा बसेका खत्री त्यसपछि कार्यालय फर्केनन् । समितिले खत्रीका चालक प्रहरी जवान विष्णु खड्कालाई नियन्त्रणमा लिएपछि उनी सम्पर्कविहीन भएका हुन् ।
सुन तस्करीका नाइके भनिएका चुडामणि उप्रेती ‘गोरे’ को सुन राख्ने कोठाबाट बरामद भएको कागजपत्रमा एसएसपी खत्रीको लेनदेन र टेलिफोन सम्पर्कसमेत देखिएको छानबिन समितिले जनाएको छ ।
सुन गायव बनाएको भन्दै सनम शाक्यको हत्यापछि फरार भएका गोरे र एसएसपी खत्रीको पहिलादेखि सम्पर्क रहेको समितिको अनुसन्धानमा देखिएको छ । २०७३ पुष २१ गते केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बरामद गरेको सुन पनि गोरेकै भएको र उक्त सुन भन्सार कटाउन खत्रीको भुमिका रहेको खुलेको थियो ।
त्यतिबेला खत्रीलाई प्रहरी प्रधान कार्यालयबाटै पक्राउ गरिएको थियो । सो मुद्दामा अदालतबाट धरौटीमा छुटेका खत्री पुनः कार्यालयमा हाजिर भएका थिए । तर छुटेपछि पनि उनको गोरेसँगको सम्पर्क जारी रहेको अनुसन्धानबाट खुलेको हो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्