सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेकपा बन्यो ईतिहाँसकै ठुलो पार्टी, एशियाको तेस्रो

टुट्ने र फुट्ने श्रृंखलाबाट गुज्रिएका नेपालका कम्युनिष्ट पार्टीहरुमा एमाले र माओवादी पार्टी एकिकरणसँगै नयाँ ईतिहाँस रचिएको छ । पार्टी एकिकरणसँगै नेपाल कम्युनिष्ट पार्टी ईतिहाँसमै एकल बहुमत भएको देशको सबैभन्दा ठुलो पार्टी बनेको छ भने एशियाको तेस्रो ठुलो कम्युनिष्ट पार्टी बनेको छ ।

जननेता मदन भण्डारी र जिवनाथ आश्रीतको स्मृति दिवस पारेर जेठ ३ गते दुई ठूला वामपन्थी दल नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणसँगै ५६ वर्षपछि नेपाल कम्युनिष्ट पार्टी एकीकृत भएको छ ।

वि.स.२०१९ सालमा नेपाल कम्युनिष्ट पार्टी विभाजित भएपछि सुरु भएको कम्युनिष्टको टुटफुट एमाले माओवादी एकतामा आएर टुंगिएको छ । अँझै पनि विप्लव, बैद्य लगायतको नेतृत्वमा रहेका कम्युनिष्ट पार्टीहरु बिभाजित रुपमै छन ।

२००६ सालमा पुष्पलाल श्रेष्ठ, निरन्जनगोविन्द वैद्य, नरवहादुर कर्माचार्य, नारायणविलाश जोशी र मोतिदेवी श्रेष्ठ संस्थापक रहेर गठन भएको नेपाल कम्युनिष्ट पार्टी २०१९ सालमा फुटेको थियो । त्यसपछि केशरजंग रायमाझी राजाको पक्षमा पञ्चायतमा बिलय भए भने पुष्पलाल र तुलसीलाल अमात्यहरुले अलगअलग पार्टी बनाए ।

२०२८ सालमा तत्कालिन झापाली क्रान्तिकारीले सशस्त्र युद्धबाट एकीकरण गरेको नेकपा माले र २०४७ सालमा माले माक्र्सवादी मिलेर बनेको नेकपा एमालेले संसदीय धाराको नेतृत्व गरेको थियो ।

२०३४ सालमा मोहन विक्रम सिंहले पुनर्गठन गरेको नेकपा चौम पछिल्लो समय एकता केन्द्र हुँदै २०५२ सालमा माओवादी धारा बनेर सशस्त्र क्रान्तिको नेतृत्व गरेको थियो ।

२०७४ साल असोज १७ गते चुनावी तालमेल र पार्टी एकताको घोषणा गरेका एमाले र माओवादी अन्ततः एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठक जीवनराज आश्रीतको स्मृति दिवस पारेर एकीकृत भएका हुन् ।

विभाजनका २० हजार ४४० दिनपछि नेपाल कम्युनिष्ट पार्टी एकीकरण भएको नेपाल कम्युनिष्ट पार्टीका नेता जनार्दन शर्माले पार्टी एकता घोषणा सभामा बताएका थिए ।

एकीकरणसँगै नेपाल कम्युनिष्ट पार्टी दक्षिण एशियाकै सबैभन्दा ठूलो वामपन्थी पार्टीमात्र बनेको छैन, इतिहासकै ठूलो पार्टीसमेत बनेको छ । एसियामा चीन र भियतनामपछि ‘नेकपा’ तेस्रो ठूलो कम्युनिष्ट पार्टी बनेको छ ।

२०१५ सालको पहिलो आम निर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत ल्याउँदा जम्मा ४ सिट जितेको कम्युनिष्ट पार्टी अब करीव दुई तिहाईको हैसियतमा पुगेको छ । एकतासँगै संघीय सरकारसँगै ६ वटा प्रदेशका सरकार एकल बहुमतको भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीले केन्द्र, प्रदेश र स्थायी तह सबैतिर बहुमत ओगटेको छ । लोकप्रिय मतमा कम्युनिष्ट पार्टी बहुमतभन्दा माथि अर्थात करीव ५३ प्रतिशत स्थापित भएको छ ।

सात मध्ये ६ प्रदेश र ७५३ मध्ये ४०३ स्थानीय तहमा कम्युनिष्ट पार्टीको सरकार छन् । प्रतिनिधिसभामा २७५ सिटमध्ये नेपाल कम्युनिष्ट पार्टी एक्लैको १७४ सिट भएको छ भने प्रमुख विपक्षी नेपाली कांग्रेस निकै कमजोर बनेको छ ।

कांग्रेसको जम्मा ६३ सिट छ । पार्टी एकीकरण घोषणा गर्दै प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस अब कम्युनिष्ट पार्टीको प्रतिस्पर्धी नरहेको बताएका थिए ।

ओलीले सुखी नेपाली सम्बृद्ध नेपालको अभियानमा कांग्रेसलाई पनि सँगै लैजाने र बैधानिक प्रतिपक्षको हैसियतको सम्मान गर्ने बताएका थिए । उनले जनताले मन नपराउने एजेण्डा बोकेर थप अलोकप्रियताको बाटोमा नजान कांग्रेसलाई आग्रह गरेका थिए ।

ओलीले नेपाल कम्युनिष्ट पार्टीले अब अर्को चुनावमा दुई तिहाईमात्र जितेर नपुग्ने भन्दै तीन चौथाई स्थान जित्ने दावी समेत गरेका छन । अर्का अध्यक्ष प्रचण्डले सत्तामा पुगेपछि भ्रष्टीकरण हुने रोग नेपाल कम्युनिष्ट पार्टीमा लाग्न नदिने र अझ बलियो पार्टी बनाउने बताएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएसँगै अब एमाले र माओवादी केन्द्रको अस्तित्व विधिवत रुपमा समाप्त भएको छ । पार्टीको सिद्धान्त माक्र्सवाद लेनिनवाद र कार्यक्रम समाजवाद उन्मुख जनताको जनवाद हुनेछ । नेकपाको चुनाव चिन्ह भने सूर्य नै रहने छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्