सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

समातिए सुन तस्करी र सनम हत्याका नाईके ‘गोरे’

करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ काठमाण्डौको गौरीघाटबाट पक्राउ परेका छन् । गृह मन्त्रालयद्वारा गठित सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिले पत्रकार सम्मेलन गरी गोरेलाई सार्बजनिक गरेको छ ।

सुन तस्करीका मुख्य नाइके ‘गोरे भनिने चूडामणि उप्रेतीको नाम धेरैले सुनेका थिए । तर, यति धेरै सुन तस्करीका नाइके भनिएका गोरे कस्ता थिए भन्ने जिज्ञासा धेरैलाई थियो । गोरे पक्राउ नपर्दासम्म सञ्चारमाध्यममा आएका उनका तस्वीरमा गोरेको अनुहार सेतो अर्थात ‘गोरो’ नै देखिन्थ्यो ।

सो प्रकरणको अनुसन्धान गर्न गठित अनुसन्धान टोलीले तिनै गोरेलाई पक्राउ गरी आज गृहमन्त्रालयमा सार्वजनिक गरेको छ । गोरेलाई गृहमन्त्रालय ल्याइँदा उनको अनुहार मास्कले छोपिएको थियो । रातो क्याप र कालो मास्क लगाएका गोरे झण्डै ६ फिट अग्ला देखिन्थे । चस्मा लगाएका उनलाई गृह मन्त्रालयमा ल्याइँदा हल्का दाह्री पालेका अवस्थामा थिए ।


विशेष अनुसन्धान टोलीले गोप्य सुचनाका आधारमा गोरेलाई काठमाण्डौ महानगरपालिका वडा नम्बर ८ गौरीघाट क्षेत्रबाट मंगलबार बिहान ५ बजेर ३४ मिनेटमा नियन्त्रणमा लिएको जानकारी गराएको छ ।

आज मंगलबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरी विशेष अनुसन्धान टोलीले गोरेलाई सार्वजनिक गर्दै गोप्य सूचनाको आधारमा पक्राउ गर्न सफल भएकोे जानकारी गराएको हो ।

मन्त्रीपरिषद्को चैत २० गते बसेको बैठकले गृहमन्त्रालयका सह सचिव ईश्वरचन्द्र पौडेलको संयोजकत्वमा संगठित अपराध निवारण ऐन २०१२ बमोजिम विशेष अनुसन्धान टोली गठन गरेको थियो ।

माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्र्तराष्ट्रिय विमास्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको गाइगुइ हल्ला चलेको थियो । तर, भरिया उर्लाबारीका सनम शाक्यको हत्यासँगै सुन हराएको पुष्टि पुष्टि भएको थियो ।

घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप छ । यसबारे छानविनका क्रममा पूर्व डिआईजी गोविन्द निरौला, महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमख एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसीसहित ७ प्रहरी अधिकारी पक्राउ परेका छन् ।

एसएसपी श्याम खत्री अँझै फरार छन् । घटनामा संलग्न ६३ जनाविरुद्ध जिल्ला अदालत, मोरङमा मुद्दा दर्ता भएको छ । यो मुद्दामा जिल्ला अदालत मोरङमा बहस जारी छ । घटनाको अनुसन्धान गर्न सरकारले गृहमन्त्रालयका सह–सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समिति बनाएको थियो ।

भारतको भगौडा आर्मीदेखि सुन तस्करीसम्म ‘गोल्ड डन’
चर्चित साढे ३३ केजी सुन प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती मोरङको उर्लाबारीका हुन । ‘गोरे’ उपनामले चिनिने उनलाई ‘गोल्ड डन’ पनि भन्ने गरिन्छ । प्रहरी उच्च अधिकारीहरुसँग हिमचिमबाट फाइदा उठाउँदै गोरेले सुन तस्करी गर्दै आएका थिए ।

यसअघि पनि उनको नाम तस्करीसँग नजोडिएको होइन तर, बच्दै आएका थिए । यो पटक सनमको हत्या भएपछि उनी अनुसन्धानको घेरामा तानिएका थिए । उनी मध्यम वर्गीय परिवारमा हुर्किएका थिए ।

नेपाल प्रहरीका पूर्व प्रहरी सहायक निरीक्षकका छोरा उप्रेतीले भारतीय सेनामा जागिर खाने प्रयास पनि गरेको थिए । तर, त्यहाँ पुगेर सेनाको तालिम लिएको केही समयमै उनी भागेका थिए ।

त्यहाँबाट भागेर उनी दूबई पुगेका थिए । त्यहाँ पनि उनले दूबई प्रहरीमा पनि जागिर खाए । स्वदेशमा छँदा मोरङ–११ फुटबल क्लबमा समेत आबद्ध उनको जीवनमा दूबई गएपछि भने एकाएक परिवर्तन आएको थियो ।

उनी निकट उर्लाबारीका एक व्यवसायी भन्छन, ‘दूबई गएपछि एकाएक आर्थिक हैसियत फेरियो ।’ दूबई प्रहरीमा काम गर्दा नै उनले सुन तस्करी उपायको बारेमा जानकारी लिएको देखिन्छ । त्यसपछि दूबई प्रहरीको जागिर छाडेर तस्करीलाई धन्दा बनाएका थिए ।

जसलाई सफल बनाउन उनले प्रहरी अधिकारीसँग सम्बन्ध बढाए । दूबईमा प्रहरीको जागिर छाडेपछि निरन्तर नेपाल आउजाउ गर्न थाले । नेपालमा रहेका बेला उर्लाबारीका प्रतिष्ठित भनिएकाहरुसँग ‘मन्डे होटल’ मा दिनहुँ पार्टी चल्ने गरेको थियो ।

‘उसले हाम्रो लागि प्रायः एउटा कोठा रिजर्भ गर्ने गरेको थियो’, स्रोतले भनेको छ, ‘उनले कतिपयलाई स्कोर्पियो गाडी दिएका थिए ।’ देखिने गरी उनको उर्लाबारीमा डेढ विगा जग्गा र दुई तले पक्की घर बनाएका थिए ।

काठमाडौंको गौरीघाटमा पनि आलिसान बंगला ठड्याएका उनले बानेश्वरमा दुई वटा कोठा भाडामा लिएर सुन स्टोर गर्ने गोदाम बनाएका थिए । हाल उनका भाइ र श्रीमति दुबईमा छन् । उनका परिवारका अधिकांश सदस्य उर्लाबारीबाट हिँडिसकेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्