सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पोखरामा रेडलाईट तोकौँ, डाँडाभरी रिसोर्ट; मुख्यमन्त्री

होटल संघ नेपालले पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरामा रेडलाइट एरिया तोक्नुपर्ने र यसलाई व्यवस्थित गर्नुपर्ने बिषयमा बहस गर्नेबेला आएको बताएका छन ।

यौन धन्दा रोक्न प्रहरीले अनेक प्रयास गरे पनि अहिले पनि अवैध यौन धन्दा चलिरहेको भन्दै उनले रेडलाइट एरिया तोक्ने वा व्यवस्थित गरेर लैजाने विषयमा खुला छलफल गर्नुपर्ने बेला भएको बताएका हुन् ।

कार्यक्रममा मुख्यमन्त्री गुरुङले यौन धन्दामा अहिले जे भइरहेको छ, त्यसलाई यत्तिकै छाड्न नमिल्ने बताएका छन । मुख्यमन्त्री गुरुङले भने–‘त्यस्तो ठाउँ तोकेर कार्ड उपलब्ध गराउन सकिन्छ । प्रहरीले छापा मार्न आउँदा त्यही कार्ड देखाउँछ । सरकालाई कर पनि तिर्छ ।’

यौन धन्दालाई व्यवस्थित गर्न पनि नसक्ने तर धन्दा चलिराख्ने भन्दै मुख्यमन्त्री गुरुङले यसले कसैलाई फाइदा नपुग्ने बताएका छन । गुरुङले यौन धन्दाको विषयमा खुला दिलले छलफल गर्ने बेला आएको बताएका छन ।

त्यसैगरी कार्यक्रममा मुख्यमन्त्रीले पोखरालाई २४ घण्टा नै खोल्नुपर्ने बताउँदै पुरै पोखरा खोल्न नसके पनि बैदाम वा लेकसाइड क्षेत्रलाई खोल्नुपर्ने प्रस्ताव अगाडी सारेका छन ।

गुरुङले अगाडी भनेका छन–‘भोलि अन्तराष्ट्रिय उडान भयो भने कोही राति २ बजे पोखरा झर्ला । हाम्रो बाटो त्यस्तै छ १० बजे आइपुग्ने गरी गाडी चढेको मान्छे २ घन्टा ढिला हुन्छ के गर्ने ?’ उनले अगाडी भने–‘बजार २४ सै घन्टा खुला गर्नका लागी सुरक्षा प्रवन्ध मिलाउन प्रदेश सरकार तयार छ । किनभने प्रदेश प्रहरी अब हाम्रै हुन्छ ।’

मुख्यमन्त्री गुरुङले पोखरा आसपासका डाँडाडाँडामा रिसोर्ट र होटल खोल्न व्यवसायीलाई आग्रह गरेका छन । ‘वरीपरीका कुनै पनि डाँडा खाली नहोस, रिसोर्ट नै रिसोर्ट होस’ उनले भने–‘सबै डाँडा भएका ठाउँमा रिसोर्ट र ठूला होटलमा लगानी गर्नुस् । बाटो र सुरक्षा सरकारले दिन्छ ।’

मुख्यमन्त्री गुरुङले पोखरालाई पर्यटकीय राजधानी बनाउन सरकारले नीतिगत निर्णय गरिदिनु पर्ने भएकाले प्रदेश मन्त्रिपरिषदले निर्णय गरेर पठाउने बताएका छन । हवाइ तथा सडक कनेक्टिभिटीका हिसाबले पनि गण्डकी प्रदेश दक्षिण एसियाकै प्रवेशद्वार बन्न सक्ने उनको भनाइ थियो ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कर तिर्ने सवालमा सरकारको आलोचना गर्नु गलत भएको बताएका छन् । ‘करका विषयमा हामी किन नकारात्मक ढंगले बुझ्छौं,’ अर्थमन्त्री गुरुङले व्यवसायीलाई प्रश्न गरे, ‘कर नलिए राज्यको ढुकुटीमा पैसा कहाँबाट आउँछ ?’

राज्यको ढुकुटी बलियो नभएसम्म कोही पनि बलियो हुन नसक्ने उनको भनाइ छ । कर तिर्ने हो भने आधा भ्रष्टाचार अन्त्य हुने भन्दै अर्थमन्त्री गुरुङले भने, ‘कर छल्न पाए हामी खुसी हुन्छौं । कर छल्न कर्मचारीसँग मिल्नुर्पयो, घुस दिनुर्पयो ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्