सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मुस्ताङी स्याउ कुहिँदै, बजारमा विदेशीको बिगबिगी

बजारमा चिन र भारतबाट आयात गरिएका स्याउले बजार ओगटिरहेका बेला नेपाली स्याउ भने सडक अबरुद्ध हुँदा कुहिन थालेका छन । स्याउ टिपेर बजार पठाउन ठिक्क पारेको बेला मुख्य बजारसँग जोड्ने सडकमार्ग पहिराले अबरुद्ध हुँदा मुस्ताङका स्याउ बोटमै कुहिन थालेका हुन ।

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेपछि स्याउ ढुवानीमा समस्या भएको छ । भौगोलिक प्रतिकूलता, निरन्तरको वर्षा र कटानका कारण अघिल्लो हप्तादेखि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनमा ढिलाइ हुँदा बगैँचाबाट टिपेर बजार पठाउन ठिक्क पारिएको स्याउ गोदाममै कुहिन थालेको हो ।

झण्डै ७६ किलोमिटर लामो बेनी–जोमसोम सडक दर्जनौँ ठाउँमा पहिरो, कटान र बाढीका कारण अवरुद्ध छ । जसका कारण त्यहाँका किसानले बगैँचाबाट टिपेको स्याउ ढुवानी गर्न सकेका छैनन् । स्याउ बजारमा र्पुयाउन नसक्दा गोदाममै कुहिन थालेको व्यापारी तथा किसानले बताएका छन् ।

म्याग्दी, पर्वत, बागलुङ, पोखरा, धादिङ, काठमाडौं, चितवन लगायतका जिल्लाबाट आएर व्यापारीले बगैंचामा आएर बोटबाटै स्याउ खरिद गर्ने गरेका छन् । जिल्लाको कोवाङ, टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ र छुसाङको एक हजार ११५ हेक्टर क्षेत्रफलमा रेड, रोयल, रिचारेड तथा गोल्डेर फुजी डेलीसियस जातको स्याउखेती गरिँदै आएको छ ।

वार्षिक पाँच हजार मेट्रिक टनको हाराहारीमा स्याउ उत्पादन हुन्छ । जिल्लाबाट अघिल्लो वर्ष करीब रु.२५ करोड मूल्य बराबरको स्याउ बिक्री भएको थियो । विगत वर्षमा भदौमै आधाभन्दा बढी स्याउ बजारमा पुगिसक्थ्यो । यसपालि एक चौथाइ पनि बिक्री हुन नसकेको घरपझोङ गाउँपालिकाको कृषि शाखाका प्रमुख विमल खड्काले बताएका छन ।

राहुघाट, रुप्से, काभ्रे, बादरजुङ र लेते क्षेत्रको अक्करे भीरको फेदीमा पहिरोले सडक भत्काएको छ । त्यहाँ नदीले कटान गर्दा बेनी–जोमसोम सडकमा सवारीसाधन चल्ने सकेका छैनन् । स्थानीयवासी, पर्यटक र तिर्थयात्री समस्यामा छन् । सडक खुलाउने प्रयास भइरहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका इञ्जिनीयर प्रदीप निरौलाले बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्