सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

धमाधम व्याजदर घटाउँदै बैंक, दशैंपछी अँझै घट्ने

बैंकहरुले धमाधम व्याजदर घटाउन थालेका छन । हाल कर्जाको ब्याजदर घटेर ११ प्रतिशतसम्म आइसकेको बैंकर एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताएका छन । ब्याजदर घट्ने क्रम नयाँ आर्थिक वर्षदेखि नै शुरु भइसकेको भन्दै अध्यक्ष ढुंगानाले क्रमशः ब्याजदर घटिरहेको दाबी गरेका छन ।

अध्यक्ष ढुंगानाले भनेका छन–‘साउन महिनादेखि नै बैंकहरुले ब्याजदर घटाउन शुरु गरिसकेका हुन । यतिबेला क्रमशः ब्याजदर घटिरहेको छ ।’ हाल कर्जाको ब्याजदर ११ देखि १२ प्रतिशतमा रहेको उनले बताए ।

मौद्रिक नीतिका केही नयाँ व्यवस्थाका कारण व्याजदर घट्ने दावी गरिए पनि बैंकहरुले ब्याजदर नघटाएको भन्दै निजी क्षेत्रले असन्तुष्टि जनाउँदै आएको थियो । दशैंपछि भने कर्जा लिने व्यवसायीहरुलाई सहज हुने ढुंगानाको भनाइ छ ।

अध्यक्ष ढुंगानाले भनेका छन–‘ब्याजदर बेस रेटको आधारमा तय हुने हुँदा अब असोज महिनासम्मको बेस रेट आए पछि ब्याजदर कायम हुन्छ ।’ उनले दशैं पछि भने अँझै ब्याजदर घट्ने बताएका छन ।

पहिलो त्रैमास (साउन, भदौ र असोज) को रिपोर्टमा नयाँ बेस रेट आउने र त्यो बेस रेटपछि बैंकहरुको ब्याजदर घट्ने उनले बताएका हुन । मौद्रिक नीतिले कर्जा र निक्षेपबीचको ब्याजदरको अन्तर (स्प्रेड दर) ४।५ मा तोकिएको छ ।

यसअघि ५ प्रतिशत रहेको स्प्रेड दर ४।५ मा झरेका कारण कर्जाको ब्याजदरसमेत घट्नेछ । स्प्रेड दर घटाएको प्रभाव ब्याजदरमा देखिन शुरु गरिसकेको बैंकरहरुको भनाई छ ।

यसअघि बैंकको व्याजदर १६ प्रतिशत भन्दा बढी पुगेको थियो । लगानी योग्य पुँजीको अभाव भएको भन्दै बैंकहरुले आकर्षक ब्याज दिएर निक्षेप लिएका थिए ।

बैंकहरुले निक्षेपमै ११ प्रतिशतसम्म ब्याज दिए पछि कर्जाको ब्याज १६ प्रतिशत भन्दा बढी पुगेको थियो । यतिबेला भने बैंकहरुमा लगानी योग्य पुँजीको अभाव नरहेको बैंकहरुले बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्