सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

स्वर्गीय राजा वीरेन्द्रको नाममा ८७ अर्व सम्पती

स्वर्गीय राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारको नाममा अहिलेसम्म करिब ८७ अर्बको चल अचल सम्पत्ति भेटिएको छ । नेपाल ट्रस्टको कार्यालयले हालसम्म वीरेन्द्र र उनको परिवारको चलअचल सम्पत्ति ८७ अर्ब भएको अनुमान गरिएको छ ।

राज्य व्यवस्था समितिको बिहीबारको बैठकमा नेपाल ट्रस्टका सचिव डा. रमेशप्रसाद सिंहले अहिलेसम्म ८७ अर्बको रकम प्राप्त भएको बताएका हुन । सो सम्पत्तिलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन व्यावसायिक योजना बनाएर परिचालन गरी आएको बताएका छन ।

रकम शिक्षा र स्वास्थ्यमा लागानी गर्ने उद्देश्य रहेको समेत उनले बताएका छन । सो कार्यान्वयन गर्न निर्देशिका तयार गरिएको पनि उनले बताए । नेपाल ट्रस्टमा स्वर्गीय राजा वीरेन्द्र र उनको परिवारको अचल सम्पत्ति अन्तर्गत २२ हजार रोपनी जग्गा प्राप्त भएको र चल सम्पत्ति अन्तर्गत १ अर्ब ६९ करोड रुपैंया प्राप्त भएको सचिव सिंहले जानकारी दिएका छन ।

यसैगरी, विदेशी मुद्रा अन्तर्गत हालसम्म ४९ हजार पाउण्ड, १ लाख ४१ हजार डलर प्राप्त भएको छ भने नविल बैंकमा ४ लाख ३५ हजार सेयर, होटल अन्नपूर्णमा ३० हजार ५ सय ३० सेयर, नेपाल पब्लिक निगममा ३७ सय ५० सेयर लगानी देखिएको छ ।

त्यस्तै, रत्नमन्दिर पोखरा, दियालो बंगला चितवन र मकवानपुरको बंगला अचल सम्पत्ति रहेको उनले बताएका छन । पोखराको फेवातालमा मात्रै करिब २ सय रोपनी जग्गा रहेको उनले जानकारी दिए । हालैमा दुईवटा जग्गा फेला परेको पनि उनले बताएका छन ।

पूर्व अधिराजकुमारी प्रेरणाका नाममा उहाँ बसेको १५ रोपनी क्षेत्रफल भएको जग्गालाई सर्वोच्चको आदेशपछि नेपाल ट्रस्टको नाममा ल्याइएको छ भने प्रेरणाको नजिकै एकजना व्यक्तिको नाममा रहेको अढाई रोपनी जग्गा पनि एक महिना अघि ठाउँ छोड्न आदेश दिइएको उनले बताएका छन ।

वि.स. २०५८ सालमा राजा वीरेन्द्र र उनका परिवारको वंशनाश हुनेगरी राजदरबार हत्याकाण्ड भएको थियो । २०६२/०६३ को आन्दोलनपछिको परिवर्तनले राजतन्त्रको अन्त्य भएपछि वीरेन्द्र र उनको परिवारको सम्पतिको खोजी गर्न अन्तरिम संविधानमा नेपाल ट्रस्टको स्थापनाको व्यवस्था गरिएको थियो ।

अन्तरिम संविधानको धारा १५९ मा नेपाल ट्रस्टको विषयमा उल्लेख गरिएको थियो । जसबमोजिम २०६४ साल मंसिर ६ मा नेपाल ट्रस्टको स्थापना गरिएको थियो । पूर्वराजा वीरेन्द्र र रानी ऐश्वर्य र उनका छोरा दिपेन्द्र, निराजन र छोरी श्रुतीका नाममा रहेको सम्पत्तिको खोजबिन स्वदेश र विदेशमा भइरहेको नेपाल ट्रष्टका सचिव डा. सिंहले जानकारी दिएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्