सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

वानेश्वरमा दुई ग्याङको खुकुरी हानाहान, एकको मृत्यु

काठमाडौंको बानेश्वरस्थित गैरीगाउँको सुकुम्बासी टोलमा दुईवटा समूहबीच भएको ग्याङ फाईटमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुकुम्बासी टोलमा बस्दै आएका विक्की लिम्बु रहेको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता होबिन्द्र बोगटीले बताएका छन् ।

ग्याङ फाईट हुँदा अर्को समूहले खुकुरी प्रहार गरेपछि सिभिल अस्पताल बानेश्वरमा उपचारका क्रममा विक्कीको मृत्यु भएको बताईएको छ । घटनामा बर्ष २३ का अनिल श्रेष्ठ गम्भिर घाईते भएका छन्, उनको ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।

प्रहरी स्रोतका अनुसार सुकुम्बासी बस्तीस्थित बाग्मती पुलवारीको शान्तिनगर टोल र पुलपारीको जोगी टोलमा बस्दै आएका दुई समूहको बिचमा ड्रग्सको डिलरको विषयलाई लिएर खुकारी हानाहान भएको थियो ।

ग्याङ फाईटमा संलग्नमध्ये अधिकांश ड्रग्स प्रयोगकर्ता तथा कारोवारी रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको पुर्ण विवरण आउन केही समय लाग्ने काठमाण्डौ प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्