सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

उड्दै गरेको जहाजभित्र मुगुका धिरबहादुरको मृत्यु

रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एअरको टुइनेटर जहाजमा सवार एक यात्रुको जहाजभित्रै मृत्यु भएको छ । शनिबार दिउँसो १२ः३० बजे रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एयरलाइन्सको नाईन एन एइटी कलसाइनको उडान नं ७१६ जहाजमा मुगु जिल्ला सोरु गाँउपालिका–८ गिलाहाँ गाँउका अन्दाजी ३८ वर्षीय धिरबहादुर शाहीको मृत्यु भएको आफन्तले बताएका हुन् ।

यता तारा एयरलाइन्स नेपालगञ्ज स्टेशनका स्टेशन म्यानेजर सूर्यमणि सुवेदीले यात्रु जहाजभित्र अचेत भएको खबर आउना साथ बिरामीलाई गाडीबाट अस्पतालतर्फ लाँदै गर्दा मृत्यु भएको बताएका छन् । रारा विमानस्थल तारा एयरका स्टेशन इञ्चार्ज शेरबहादुर भामले बिरामीलाई प्राथमिकता दिने प्रावधानअनुसार मृतक शाहीका आफन्तलाई बिरामी मन्जुरी पत्रमा दस्तखत गराई तारा एयरको उडानबाट पठाइएको बताए ।

मृतकका दाई नन्दबहादुर शाहीका अनुसार शाहीलाई जहाजमा उडाई सकेपछि आफू घर फर्कँदै गर्दाबीच बाटोमा तारा एअरलाइन्सका दुई जना कर्मचारी र दुई जना प्रहरीले तपाईँ नेपालगञ्ज जानुपर्ने भयो भन्दै पुनः रारा विमानस्थलमा लगेर कागज गराएका थिए ।

शव परीक्षणका लागि शव भेरी अस्पतालमा प्रहरीले लगेपनि आफन्तले यात्रु बीमा नपाउनन्जेलसम्म शव नबुझ्ने बताएका छन् । रारा नागरिक उड्डयान कार्यालय मुगुका विमानस्थल प्रमुख सूर्य शर्मा बिरामी अचेत भएपछि राँझा विमानस्थलमा जहाज अवतरण गर्ने वित्तीकै बिरामीलाई अस्पतालतर्फ लगेको खबर आफूले पाएको र बिरामीका आफन्तले बिरामी उडान सहमतिपत्रमा दस्तखत गरेको बताएका छन् ।

तारा एयरको उडानमा मुगुबाट मृतक शाहीसहित १३ जना यात्रुहरु रहेका थिए । आफन्तहरुले बिरामीको जहाजभित्र मृत्यु भएको बताएपनि एयरलाईन्सले विमानस्थलबाट अस्पतालतर्फ लैजाँदै गर्दा मृत्यु भएको दावी गरेको छ । बिरामी मन्जुरी पत्रमा सहमति नगराई यात्रामा रहेका कुनै यात्रुको जहाजभित्र मृत्यु भएमा उडान भर्ने कम्पनीले यात्रुलाई बीमा र क्षतिपूर्ती दिनुपर्ने प्रावधान नागरिक उड्डययन ऐनमा छ । रासस

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS