सरकारलाई जवाफ दिन राजदुत शेर्पा नेपालमा
मानव तस्करको आरोप लागेकी अष्ट्रेलियाका लागी नपाली राजदुत लक्की शेर्पालाई सम्बन्धित मन्त्रालयले सोधपुछका लागी नेपाल बोलाएको छ । आरोप र प्रत्यारोपबीच राजदूत शेर्पा परराष्ट्र मन्त्रालयले सोधपुछका लागि बोलाएपछि शनिबार नेपाल उडेकी छिन् ।
अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पामाथि उनकै चालक वाड्चु शेर्पाले पैसा लिएर आफूलाई अष्ट्रेलिया ल्याएको आरोप लगाएपछि अचानक विवादमा परेकी थिइन् । त्यसपछि मन्त्रालयले शेर्पाका विषयमा लागेको आरोपमाथि सत्यतथ्य बुझ्न उनलाई काठमाडौं बोलाएको हो ।
छोटो समयमा कुतनीतिक मर्यादाभित्र शान र मान कमाउन सफल राजदूत शेर्पामाथि आफ्नै कामदारले यसरी पैसाको आरोप लगाउँदै सञ्चार माध्यममा सार्वजनिक अभिव्यक्ति दिपछि यो विषय निकै गम्भीर बनेको हो ।
मोटो रकम असुलेर कामदारका रूपमा आफूलाई अस्ट्रेलिया ल्याएको र श्रीमतीलाईसमेत यता ल्याउन थप पैसा मागेको उनका पूर्वचालक वाड्चु शेर्पाले आरोप लगाउँदै आएका छन् ।
आमा क्यान्सरले गुमाएको र अहिले श्रीमतीलाई समेत जेल हालेर मार्न खोजेपछि बाध्य भएर आफू मिडियामा सार्वजनिक हुनुपरेको वाड्चु शेर्पाले मिडियासँग बताउने गरेका छन् ।
राजदुतावासले भने निकै बदमास रहेका वाड्चु शेर्पाले बहुमूल्य गरगहना चोरेर भागेको र यहाँ स्थायी बसोबासका लागि बिभिन्न बहाना बनाउँदै झूठा आरोप लगाएको बताएको छ ।
बिभीन्न सञ्चारमाध्यममा राजदूतका विषयमा आरोप आउन थालेपछि मन्त्रालयले राजदूत शेर्पालाई काठमाडौं बोलाएको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जानकारी दिएका छन् ।
मन्त्री ज्ञवालीले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि लागेको आरोपका विषयमा स्वयम् राजदूतसँगै कुरा गरेर सत्य तथ्य पत्ता लगाउने र उनीमाथि लागेको आरोपका विषयमा समेत जानकारी मागीने बताएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्