सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सुरक्षित सेक्सका लागी युवायुवतीलाई मेलामा कण्डम

सोलुखुम्बुको छेस्काममा कुलुङ समुदायको महान् पर्व चाक्चाकुरको अवसरमा कण्डम वितरण गरिएको छ । चाक्चाकुरमा लाग्ने मेलामा यूवायूवतीबीच हुने सामिप्यतालाई मध्यनजर गर्दै महाकुलुङ गाउँपालिका ३ छेस्कामका यूवाहरुलाई दुई हजार बढि कण्डम वितरण गरिएको हो ।

शुक्रबार देखि शुरु हुने खुला फुटबल प्रतियोगिता र चाक्चाकुर मेलालाई ध्यानमा राख्दै स्वास्थ्य चौकी छेस्कामले कण्डम वितरण गरेको स्वास्थ्य शाखा संयोजक हरि प्रसाद आचार्यले जानकारी दिएका छन् ।

चाक्चाकुर मेला १७ गतेसम्म जारी रहने भएकाले मेलाको अवसरमा यूवायूवतीमा हुने सामिप्यताले निम्त्याउने यौन दुर्घटना न्यूनिकरणका लागि अस्थायी साधनको प्रयोगलाई प्रोत्साहन गरिएको गाउँपालिकाले जनाएको छ ।

समझदारीमा हुने यौन सम्पर्कबाट हुने अनिच्छित गर्भधारणलाई रोक्ने र सानै उमेरमा हुने विवाहलाई कमी गर्ने उद्देश्यले कण्डम वितरणको अभियान थालिएको स्वास्थ्य शाखाले जनाएको छ ।

संयोजक आचार्यले यूवाहरुसँग हातेमालो गर्दै कण्डम वितरण गरिएको र चाक्चाकुर अवधिसम्म खुला स्थानमा कण्डमको उपलब्धता गराउने तयारीमा रहेको बताए ।

उनले होटलहरुमा समेत कण्डम लिन सकिने गरि व्यवस्थापन गरिने बताएका छन् । मेलाको अवसरमा हुने यौन क्रियाकलापहरुलाई सुरक्षित बनाउने उद्देश्य रहेको उनको भनाई छ ।

मेलाको अवसरमा यूवायूवतीहरुको भागी विवाह हुने चलन पनि रहेको पाकापुस्ताहरु बताउँछन् । तर चेतनाको स्तर बृद्धि भएसँगै भागी विवाहको चलन घट्दै गएको जानकारहरु बताउँछन् ।

गाउँपालिकाले चाक्चाकुर पर्व मनाउनका लागि भन्दै पुस १५ देखि १७ सम्म स्थानीय विदा दिने निर्णय समेत गरेको छ । कुलुङहरुको बाक्लो बसोबास रहेको महाकुलुङमा पुस १५ को अवसरमा आफन्त भेटघाट, सामूहिक जमघट र खानपिनको चलन रहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्