सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जनबादी शिक्षाको हुँकार गर्नेका छोराछोरी अमेरीकामा

समय फेरीयो माओबादीका नेताहरूको बिचार फेरीए । कोही माओबाद त्याग गरी नयाँ शक्ति बने भने कोही नेकपा बने आखिर जो जे जे बने पनि कम्युनिष्टका झुण्ड नै हुन रंग मात्र बदलिएका हुन स्वाद भने एकै किसिमको छ ।

बिभिन्न पार्टीको नाममा आफ्नो पद र प्रतिष्ठालाई स्थापित गराउन सबै लागी परेका छन् । मैले कयौ पटक कम्युनिष्टका बिषयमा कलम चलाउदिन भनेर आफूलाई काबुमा राख्न खोजेँ तर जति खेर उनीहरूको ब्यबहार सतहमा छर्लङ्ग देखिन्छ अनि आफुलाई कन्ट्रोल नै गर्न सक्दिन र लेख्न बाध्य हुन्छु ।

कुनै बेला बुर्जुवा शिक्षाको काम छैन यसका बिरूद्धमा जनबादी शिक्षा लागु गर्नु पर्छ भन्दै तत्कालिन माओबादीले साना साना ५/७ कक्षामा पढ्ने भाई बहिनीहरूलाई किताबको ठाउँमा बम, बारूद र हतियार थमाएका थिए ।

आज समय फेरीयो १० बर्षे जनयुद्ध रोकियो । नेपाललाई सिंगापुर र स्वीजरल्याण्ड बनाउछु भन्ने माओबादीका बागडोर सम्हाल्नेहरूलाई २०७० सालको संबिधान सभा चुनावमा जनताले पाखा लगाई दिए ।

जसको परीणाम २०७४ सालको प्रतिनिधि र प्रदेश सभा चुनावमा बाम गठबन्धन गर्ने नाममा कमरेड प्रचण्ड लगायतका नेताहरूले माओबादी केन्द्रलाई बिसर्जन गरे । आज हामीले माओबादी केन्द्र खोई भन्दा इतिहासको पानामा मात्र सिमित भएको पाउदछौ ।

जनतालाई थर्कमान बनाएको माओबादी अन्त्यमा आफै थर्किएर बिलय भई दियो । हिजोका दिनमा किताब कलम फ्यालेर जनयुद्धमा होमिएका भाई बहिनीहरू आज युवा भई सकेका छन ।

आज उनीहरूसंग न त शिक्षा छ न त बन्दुक नै । न त उनीहरूलाई माओबादीले पत्यायो न त सरकारले नै । कति त अयोग्य लडाकु ठहरीएर रूँदै रूँदै शिबिरबाट बाहिरीए ।

यति खेर कोही खाडीमा पसिनासंग पैसा साटि रहेका छन भने कोही बम बारूद र गोलीको चोट शरीरमा बोकेर आमरण अनसन बसी रहेका छन् तर ती हिँजोका दिन बुर्जुवा शिक्षाको संज्ञा दिनेहरूका छोरा छोरीहरू युरोप अमेरीकामा उच्च शिक्षा हाँसिल गर्दैछन् ।

आखिर बुर्जुवा शिक्षा भन्नेहरूले आफ्नालाई चाँहि युरोप अमेरीकामा नै पढाउनु रहेछ भने बिचरा ती ५२/५३ सालमा ५/७ कक्षामा पढ्नेलाई किन बाध्य बनायौ बन्दुक बोक्नलाई ?

केही दिन अगाडी सामाजिक संजाल फेसबुकको भित्तामा कमरेड जनार्दन शर्मा र कमरेड देबेन्द्र पौडेलका छोरीहरूले अमेरीकाको युनिभर्सिटीबाट स्नातकोत्तर पुरा गरेको तस्बिरहरू भाईरल भए ।

स्नातकोत्तर पास गर्नेमा जनार्दनको छोरी काब्यता गौतम र देबेन्द्रको छोरी गरीमा पौडेल हुन् । त्यसै गरी पूर्ब गृहमन्त्री कमरेड शक्ति बस्नेतको छोरी संगम पनि अमेरीकामै अध्ययनरत छिन् । त्यसै गरी नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईको छोरी पनि भारतमै पढेकी हुन ।

बर्तमान समयमा नेताको छोरा छोरीले युरोप अमेरीका पढ्यो भनेर मेरो कुनै गुनासो होईन तर जनबादी शिक्षा लागु गर्छु भन्ने कमरेडहरूले आफ्ना सन्ततिका लागि किन बुर्जुवा शिक्षा रोजे भन्ने हो ।

एउटा कुरामा चाँहि कमरेड प्रचण्डलाई म मान्दछु । उहाँले जनयुद्धमा आफ्ना छोरा छोरीलाई आफैसंग हिँडाउनुभयो । कहीँ कतै बिदेश पढ्न पठाउनु भएन । जसले उहाँप्रति प्रत्यक्ष रुपमा औँला ठड्याउने ठाउँ भएन ।

होईन भने अन्य नेताहरुको हकमा, के त्यो युद्धमा होमिएका भाई बहिनीहरूको आत्माले यो कुरालाई सहजै पचाउला त ? आज न त शिक्षा छ न त शीप छ बेरोजगार भएर घरको न घाटको भई रहँदा पक्कै पनि पछुतो चाँहि लागेकै हुनु पर्छ ।

माओबादीमा कोही रहरले लागे, कोही बाध्यता र बिवसताले लागे होलान तर आज ५२ देखि ७४ साल सम्म आईपुग्दा न त रहयो माओबादी न त रह्यो माओबाद । सबै विदेशीको इशारामा आयातित थिए र त २२/२३ बर्ष पछि माओबादलाई उतै तिर नै फर्काई दिए ।

बिगतमा माओबादीका नेताहरूले ती कलिला बाल मस्तिष्कलाई नभुटेको भए कोही भाई बहिनी यति खेर डाक्टर, ईन्जिनियर साथै मास्टर भएर बस्थे होलान तर दुर्भाग्य ती भाई बहिनी आज कोहि परदेशमा छन त कोही नेपालै तड्पिएर बाँचि रहेका छन् ।

लेखमा प्रस्तुत् बिचार लेखकका नीजी बिचार हुन् । कर्ण अधिकारीले लेखेको यो लेख हामीले मिडिया डबलीबाट साभार गरेका हौँ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्