पुर्वयुवराज पारस शाहलाई हृदयघात, नर्भिकमा भर्ना
हृदयघात भएर नर्भिक अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको एन्जियोप्लास्टी गरिएको छ । एन्जियोप्लास्टी मार्फत मुटुको भल्व खोल्न सफल भएपछि डाक्टरहरु आशावादी बनेका छन् ।
हृदयघात भएपछि पारस अस्पताल भर्ना भएका थिए । आफ्ना एक भतिजसँग दिउँसो साढे चार बजे अस्पताल पुगेका उनलाई आईसीयूमा राखिएको थियो । एन्जियोप्लास्टीपछि आईसीयूबाट सीसीयूमा सारिएको नर्भिकका मिडिया कोअर्डिनेटर आरपी मैनालीले बताएका छन् ।
मिडिया कोअर्डिनेटर मैनालीले भनेका छन्–‘एन्जियोप्लास्टिक गरेर स्टेन प्रत्यारोपण गर्न डाक्टरहरु सफल हुनुभएको छ, यद्यपि उहाँलाई खतरामुक्त भइसकेको भन्न मिल्दैन ।’ पारस अहिले होसमै रहेको पनि मैनालीले जानकारी दिएका छन् ।
पारस आजै दिउसो ललितपुरस्थित शिव पार्वती मन्दिरमा पुजा गर्न पुगेका थिए । त्यहाँ उनलाई भेटेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले त्यतिबेला पारस सामान्य अवस्थामा रहेको जानकारी दिएका छन् ।
उनले भने–‘हिजो राति पनि उहाँमा छातिको समस्या देखिएको रहेछ । तर, आज मैले भेट्दा सामान्य अवस्थामा हुनुहुन्थ्यो । छुट्टिएको केही बेरपछि नै अस्पताल भर्ना भएको भनेर मलाई फोन आयो ।’
पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल भने अहिले सिमरामा छन् । फोनमार्फत उनीहरुले छोराको स्वास्थ्यबारे जानकारी लिइरहेको बस्नेतले बताएका छन् । पारसकी पत्नी पूर्वयुवराज्ञी हिमानी भने थाइल्यान्डमा छिन् । पारसलाई तेस्रोपटक हृदयघात भएको हो । बैंककको समितीभेज अस्पतालमा लामो समय उपचार गरेर त्यसबेलै उनको मुटुको धमनीमा स्टेन्ट राखिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्