कहाँबाट आयो सिडियोका ड्राईभरको करोडौँ सम्पती
जिल्ला प्रशासन कार्यालय बाराका सवारीचालक जगतनारायण राउत कुर्मीलाई छुटाउन करोडौं रकमको चलखेल भइरहेको छ । कुर्मीले चलाएको बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई र सशस्त्रका एसपी बलराम पोखरेल सवार गाडी गएको माघ १२ मा पूर्व पश्चिम महेन्द्र राजमार्गको पसाहा खोलाको पुल नजिकै दुर्घटना भएको थियो ।
सवारी चालक कुर्मी प्रजिअ भन्दा पनि बढी पावर राखेर हिंड्ने भएकाले गर्दा बारामा आउने हरेक सीडीओलाई अस्थायी सीडीओ र कुर्मीलाई स्थायी सीडीओ भन्ने गरिएको छ । प्रजिअ आउने जाने हुन्छ तर उनी २३ बर्षदेखि सीडीओका सवारीचालक रहँदै आएका छन् । उनी सवारीचालक मात्र होइन, मुद्दामा सेटिङ गर्नेदेखि लिएर हरेक कामका बीचौलिया हुन् ।
जिल्ला प्रशासन कार्यालय बाराका स्थायी प्रमुख जिल्ला अधिकारीको हैसियत बनाएका कुर्मी अहिले सवारी ज्यान मुद्दामा प्रहरी नियन्त्रणमा रहेका छन् । राजमार्गमै रोकिएको ढुंगा लोड गरेको टेलरमा तीव्र गतिमा चलाएको गाडी ठोक्किदा गाडीमा सशस्त्र प्रहरीका एसपी बलराम पोखरेलको घटनास्थलमै निधन भएको थियो ।
गाडीमा सवार प्रजिअको अवस्था चिन्ताजनक रहेको छ । कुर्मीले लापरवाहीपूर्वक तीव्र गतिमा गाडी चलाउँदा भाइको मृत्यु भएको भन्दै एसपी बलराम पोखरेलका दाजु शालिग्राम पोखरेलले कुर्मीविरुद्ध सवारी ज्यानमा कारबाहीका लागि किटानी जाहेरी दिएका छन् ।
पोखरेलको जाहेरीको आधारमा कुर्मीलाई बारा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाउँदा नेपाल सरकारका केही सचिव र सहसचिव तथा अवकाश प्राप्त सचिवहरुले कुर्मीलाई बचाउन खोजेका छन् ।
बारामा प्रमुख जिल्ला अधिकारी बनेर गइसकेका बालकृष्ण पन्थी, शान्तराज सुवेदी, माधवराज रेग्मी, शंकर कोइराला लगायतका अवकाशप्राप्त र बहालवाला उच्च अधिकारीहरुले कुर्मीलाई बचाउन खोजेको बारा प्रहरीका अधिकारीहरुले नाम नलेख्ने शर्तमा बताएका छन् ।
प्रहरी नियन्त्रणमा रहेका कुर्मीले अहिले पनि तिनीहरुको नाममा तस्कारी गराउने, बारामा रहेका उद्योगहरुबाट चन्दा उठाउने लगायतका कार्यहरु गर्दै आएका थिए । प्रजिअका गाडी चालक कुर्मीले तस्करी, मुद्दा मिलापत्र र उद्योगहरुबाट चन्दा संकलन गरी करोडौ सम्पत्ति आर्जन गर्न सफल भएका छन् ।
प्रजिअलाई खुसी पारी उनले धन्दा संचालन गरी करोडौं सम्पत्ति आर्जन गरेका छन् । कुर्मीले कलैया उपमहानगरपालिकामै करोडौ खर्चेर नमूना घर बनाउन सफल बनेका छन् । कलैया उपमहानगरपालिका १ मोतिवागमा उनको नमुना घर देखेर कलैयावासीहरु आश्चर्यचकित हुने गरेका छन् ।
२०५१ तिर दुई छाक टार्नका लागि चलचित्र निर्माता सुशील चौलागाईका गाडीचालक रहेका कुर्मीसंग अहिले १५ करोड भन्दा बढीको जायजेथा रहेको छ । जिल्ला प्रशासन कार्यालयको गाडी चलाएरै विगत २३ बर्षको अवधिमा उनले अथाह सम्पत्ति आर्जन गर्न सफल भएका हुन् ।
उनको कलैयामा रहेको नमुना घर र घरले चर्चेको जग्गा चार करोड मूल्यको छ । काठमाडौं सिंहदरबारको पूर्वी गेटको सामुन्ने तत्कालीन प्रमुख जिल्ला अधिकारी तथा नेपाल सरकारका अवकाशप्राप्त सचिव सिताराम खनालको घर नजिक अनामनगरमा आलिशान महल रहेको छ । जसको मूल्य पाँच करोड भन्दा बढी पर्छ ।
यसैगरी उनको गाउँमा ब्रम्हपुरीमा बहुमूल्य पाँच विगाहा जग्गा तथा घडेरी रहेको र त्यसको मूल्य पाँच करोड भन्दा बढी रहेको छ । त्यसैगरी कलैया र वीगञ्ज कैयौं स्थानमा घडेरी जोडेका छन् । नेपालमा अधिकृतलाई आफ्नो तलबवाट दुई छाक खान र छोराछारीलाई राम्रो स्थानमा पढाउन समस्या रहेको छ तर कुर्मीले २०५२ सालदेखि प्रमुख जिल्ला अधिकारीको गाडी चलाउन शुरु गरेदेखि अहिलेसम्म उनको अवस्था दिन दुगुना रात चौगुना प्रगति भएको छ ।
तीन सन्तान रहेका कुर्मीको जेठो छोरा सन्दिप जयसवार टर्कीमा ५० लाख रुपैयाँ खर्च गरी एमबीबीएस अध्ययन गराइरहेका छन्, माघ २२ को दृष्टि साप्ताहिकमा समाचार छ । कान्छो छोरा सन्जिव जयसवार काठमाडौंमा प्लस टु गरिरहेका छन् । छोरीको पर्साको अलौमा विवाह गर्नका लागि कामकुरो छिनिएको छ । दाइजोमा ७० लाख नगद र अन्य सामग्री दिने सहमति भएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्