सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बृद्धभत्ताको सुरुवात गर्ने नेता अधिकारीको निधन

पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा हृयाम्स अस्पतालमा उपचारका क्रममा शनिबार निधन भएको छ । अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आज आइतबार विहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने छ ।

अधिकारी तीनै हुन्, जसले ०५२ सालमा पहिलो कम्युनिस्ट सरकार हुँदा बुढाबुढीलाई भत्ता दिन सुरु गरेका थिए । त्यसबेला १०० रुपैयाँबाट भत्ता दिन सुरु भएको थियो । ०५१ मंसिर १४ गते तत्कालीन एमाले नेता मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार बनेको थियो ।

अधिकारी प्रधानमन्त्री बनेको भोलिपल्ट भरतमोहन अर्थमन्त्री भएका थिए । ११ गते बजेट ल्याए, जसमा ‘आफ्नो गाउँ आफैं बनाउँ’ भनेर हरेक गाविसलाई ३ लाख बजेट छुट्याइएको थियो । २०५२ असारमा अधिकारीले अर्को बजेट ल्याए, जसमा बृद्धभत्ताको सुरुवात गरिएको थियो । अहिले दुई हजार छ ।

२०७४ को चुनावमा वाम गठबन्धनले ५ हजार पुर्याउने प्रतिवद्धता जनाएको थियो । तर, केपी शर्मा ओली सरकारले पहिलो वर्षको बजेटमा बृद्धभत्ता नबढाएको भन्दै आलोचना समेत हुने गरेको थियो । अधिकारी स्वयंमले समेत बृद्धबृद्धालाई ढाँटेको भन्दै असन्तुष्टि जनाएका थिए ।

अधिकारीले ‘आफ्नो गाउँ आफैं बनाऔं’ अभियानका लागि २०५१ मा बजेट छुट्याएका थिए । अर्थतन्त्रको सबै स्वामित्व राज्यले लिनु पर्छ भन्ने एकथरी र सबै बजारलाई नै छाडिदिनु पर्छ भन्ने अर्काेथरी विचारधाराको बीचबाट अधिकारीले राज्य, सहकारी र नीजि क्षेत्रको तीन खम्बे अर्थनीति अंगिकार गर्नुपर्ने मत अघि सारेका थिए ।

त्यसपछि एमालेले पटकपटक सरकारमा जाने मौका पाउँदा भरतमोहन प्रायः छुटेनन् । उनी उप–प्रधानमन्त्रीसहित चारपटक अर्थमन्त्री भए । एक पटक भौतिक पूर्वाधारमन्त्री भए । तत्कालिन एमालेमा सँधै उनी प्रभावशाली नेताका रुपमा रहे । २०७१ सालको एमालेको नवौं महाधिवेशनले ७० वर्षे उमेरहद कायम गरेपछि उनले सक्रिय राजनीतिबाट अवकाश लिएका थिए ।

अधिकारीको जन्म विक्रम सम्वत १९९३ साल बैशाख २२ गते महोत्तरीको भ्रमणपुरा गाउँमा भएको थियो । उनी पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीका सहोदर भाइ हुन् ।

विराटनगरको आर्दश माद्यामिक विद्यालयबाट प्रारम्भिक शिक्षा लिएका उनले भारतको इलाहावादबाट प्रविणता प्रमाणपत्र तह, बनारसको हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्र र दर्शनशास्त्रमा स्नातक तथा त्रिभुवन विश्व विद्यालयबाट अर्थ शास्त्रमा एमए र कानुनमा स्नातक गरेका थिए ।

अधिकारीले सन् १९५२ मा १६ बर्षको उमेरमै भारतको बनारसमा भारतीय कम्युनिष्ट पार्टीको सदस्यता लिएर राजनीति सुरु गरेका थिए । २००८ सालमा गठन भएको आर्दश विद्यालयको छात्र संघका अध्यक्ष बनेका अधिकारीकै नेतृत्वमा २००७ सालमा विराटनगरको जुद्ध स्कुलको बोर्ड परिवर्तन गरेर आर्दश स्कुलको बोर्ड राखिएको थियो ।

२०१७ सालमा तत्कालिन राजा महेन्द्रले कू गरेपछि सोभियत संघमा पीएचडी पढ्न पाएको छात्रबृत्ति त्यागेर सक्रिय राजनीतिमा आए । अधिकारीले २०१८ सालदेखि कोशी प्रान्तीय कमिटीको सचिव बनेर पूर्वमा कम्युनिष्ट आन्दोलनको नेतृत्व गरे । साइकल चढेर गाउँ–गाउँमा कम्युनिस्ट पार्टीको पर्चा वितरण गर्थे ।

तत्कालीन नेकपाका महासचिव केशरजंग रायमाझीले राजाको सेवा गर्न थालेपछि २०१९ मा नेकपाको तेस्रो महाधिवेशन गराउन पहल गरे । अधिकारी त्यही महाधिवेशनबाट पोलिटब्युरो सदस्यमा निर्वाचित भएका थिए ।

तत्कालिन माले र माक्र्सवादीबीच २०४७ मा पार्टी एकिकरण गराएर एमाले बनाउन पनि उनको महत्वपूर्ण भूमिका छ । उनकै पहलमा २०४६ सालमा सात वाम घटक एक भएर संयुक्त वाम मोर्चा निर्माण भएपछि पञ्चायतबिरुद्ध आन्दोलन सशक्त भएको थियो ।

अधिकारी २०६२÷०६३ को आन्दोलनमा पनि सक्रिय भए । २०६१ सालमा राजा ज्ञानेन्द्रले ‘कू’ गरेर सत्ता हातमा लिँदा उपप्रधानमन्त्री रहेका अधिकारीलाई तीन महिना घरमै नजरबन्दमा राखिएको थियो । उनी २०४८, ०५१ र ०५६ मा मोरङबाट प्रतिनिधिसभा सदस्यमा विजयी भए । बिराटनगरमा केहि समय अध्यापन समेत गरेका अधिकारीले वकालात समेत गरे ।

नेपाल कम्युनिस्ट पार्टी एमालेको छैठौं, सातौं र आठौं महाधिवेशनबाट उनी लगातार स्थायी समितिमा निवार्चित भएका थिए । अधिकारीले २०१५ सालमा कम्युनिस्ट पार्टीको मुखपत्र नवयुगको सम्पादकको भूमिका निर्बाह गरेका थिए ।

स्वर्गिय अधिकारीका नेपालमा औद्योगीकरणको समस्या, मेरो जीवन यात्रा भाग–२ प्रकाशित छन् भने जनताको बहुदलीय जनवादको अर्थशास्त्र प्रकाशोन्मुख छ । पञ्चायत विरोधी संघर्षका क्रममा अधिकारी पटक–पटक जेल परेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्