सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा नेपाली कामदार लैजाने अन्तिम तयारी

जापानमा नेपाली कामदार पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारी संयन्त्रमार्फत कामदार पठाउन मार्चभित्रै श्रम सम्झौता गर्ने तयारी सरकारले गरेको छ । मार्च दोस्रो सातासम्म सम्झौता हुने गरी प्रक्रिया अघि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

कामदार पठाउन वैदेशिक रोजगार विभागमा छुट्टै संयन्त्र बनाएर काम गर्न दुवै मुलुक सहमत भइसकेका छन् । मन्त्रालयका अनुसार कामदार पठाउने प्रक्रिया अप्रिलदेखि सुरु हुनेछ । त्यसअघि भाषा परीक्षा सञ्चालन गर्ने तयारी छ ।

नेपाली कामदार लैजान जापानी र नेपाली प्राविधिक टोलीबीच निरन्तरको छलफलपछि श्रम सम्झौता गर्ने तयारी अन्तिम चरणमा पुगेको हो । जापानसँग यसअघि प्रशिक्षार्थी कामदार लैजाने सम्झौता भए पनि कार्यान्वयनमा आउन सकेको थिएन ।

जापान नेपालीका लागि आकर्षक गन्तव्य मुलुक मानिन्छ । जापानमा कामदारले न्यूनतम दुई लाख रुपैयाँभन्दा बढी पारिश्रमिक पाउँछन् । जापानले आफ्ना नागरिकसरह विदेशीलाई सेवासुविधा दिँदै आएको छ ।

नर्सिङ, सुरक्षा गार्ड, उत्पादनमूलक उद्योग, होटल तथा आतिथ्य व्यवसाय, कृषि, मत्स्य संकलन, खाद्य प्रशोधन तथा खाद्य आपूर्तिलगायत १४ वटा क्षेत्र जापानले आप्रवासी कामदारका लागि खुला गरेको हो ।

जापानले कामदार लैजाने भनेपछी गाउँगाउँमा जापानिज भाषा पढ्नेको संख्या बढेको छ । सरकारी संयन्त्रबाट कामदार पठाउन दुवै देश सहमत भइसके पनि म्यानपावर व्यवसायीले मौकाको फाइदा उठाउन खोजिरहेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङले फेसबुकमार्फत केही समयअघि म्यानपावर व्यवसायीमार्फत कामदार लैजाने तयारी भएको बताएका थिए ।

यस्तै केही व्यवसायीले जापान रोजगारका नाममा पैसा असुल्न थालेको भन्दै सरकारले त्यस्ता भ्रममा नपर्न निर्देशन जारी गरेको थियो । विदेशी कामदार लैजाने नीति पारित गरेसँगै जापानले नेपालसहित नौवटै देशबाट एकैचोटि कामदार लैजाने प्रक्रिया अघि बढाएको छ ।

जापानले नेपाल, चीन, इन्डोनेसिया, म्यानमार, मंगोलिया, थाइल्यान्ड, फिलिपिन्स, भियतनामलगायत देशबाट कामदार लैजाने तयारी गरेको छ । जापानले केही महिनाअघि नेपाली कामदार लैजाने विषयमा अवधारणापत्र पठाएको थियो । अवधारणापत्रमाथि प्राविधिक टोलीले अध्ययन गरेको हो ।

जापानले पाँच वर्षको अवधिमा तीन लाख ४५ हजार विदेशी कामदार लैजाने तयारी गरेको छ । दोस्रो विश्वयुद्धपछि जापानले पहिलोपटक आप्रवासी कामदारलाई खुला गरेको हो । जापानमा ठूलो जनशक्ति पाको उमेरका भएका कारण विदेशी कामदार लैजान लागेको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्