सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

राउतको आफ्नै सुरक्षा दस्ता, छाडेनन् मधेषको नारा

अखण्ड र सार्वभौम नेपालमा सहमति जनाउँदै सरकारसँग ११ बुँदे सहमति गरेका डा. सिके राउत आइतवार जनकपुर पुग्दा पुरानै शैलीमा विखण्डणको नारा लागेको छ । काठमाडौँबाट सिके राउत जनकपुर ओर्लिँदा एकातिर तालिम प्राप्त सुरक्षा दस्ता थिए भने अर्कातिर उनका समर्थकले ‘स्वतन्त्र मधेसको’ नारा घन्काएका छन् ।

राउतले पृथकतावादी आन्दोलनको बाटो छाडेर मूलधारको राजनीतिमा प्रवेश गरेको भनिरहँदा उनका कार्यकर्ताहरुले भने पुरानै नारालाई झनै चर्काएका छन् । मूलधारको राजनीतिमा प्रवेश गरेपछि आइतबार काठमाडौंबाट जनकपुर पुगेका राउतलाई स्वागत गर्न जनकपुर विमानस्थल पुगेका समर्थकहरुले स्वतन्त्र मधेसको नारा लगाएका थिए ।

‘फ्री मधेस’ लेखिएको झण्डा बोकेर राउतको स्वागतमा पुगेका कार्यकर्ताहरुले हिन्दी भाषामा विखण्डनको नारा लगाए । कार्यकर्ताहरुले लगाएको नारामा ‘नेपाली उपनिवेश मुर्दावाद, मधेश देश लेके रहेंगे, स्वतन्त्र मधेस गठबन्धन जिन्दावाद’ लगायत रहेका थिए ।

राउतलाई सुरक्षा दिन उनका कार्यकर्ताहरुले दस्ता नै बनाएका थिए । राउतको सुरक्षामा खटिएका स्वतन्त्र मधेस गठबन्धनका कार्यकर्ताहरु जनकपुर विमानस्थलमा सतर्क अवस्थामा देखिए ।

राउतका आठजना निजी सुरक्षा दस्ताले कालो ज्याकेट (सायद बुलेट प्रुफ), टाउकोमा रातो फेटा, मुखमा कालो मास्क, आँखामा कालो चश्मा र स्वतन्त्र मधेस गठबन्धन लेखिएको झण्डा लिई विमानस्थलमा उभिएका थिए ।

राउत विमानस्थलमा आउँदा उनको सुरक्षा गर्न, भिडभाड व्यवस्थापन गर्न, सञ्चारकर्मीहरुको अनावश्यक भिडभाड नगर्न सुरक्षा गार्ड खटाइएको उनका समर्थकले बताए ।

राउत विमानस्थलमा पुग्नु अगावै जिल्ला प्रहरी कार्यालय धनुषाबाट दुईजना सुरक्षा गार्ड भीआईपी कक्षमा सुरक्षा दिन पुगेका थिए । राउतलाई एकजना असई र एकजना प्रहरी जवान सुरक्षाका लागि प्रशासनबाट उपलब्ध गराइएको हो ।

राउत विमानस्थलमा पुगेपछि उनीसँग सञ्चारकर्मीहरुलाई कुराकानी गर्न समर्थकहरुले रोक लगाएका थिए । उनको तस्बिर खिच्ने प्रयास गर्दा निजी सुरक्षा दस्ता बनाएर खटिएका कार्यकर्ता सञ्चारकर्मीमाथि जाई लागेका थिए ।

राउतसँग प्रश्न गर्ने सञ्चारकर्मीहरुलाई समर्थकहरुले दुर्व्यवहारसमेत गरेका छन् । भीआईपी कक्षबाट राउतलाई उनको सुरक्षा दस्ताले चारैतिरबाट घेरेर बाहिर निकालेको थियो । राउतले पनि सञ्चारकर्मीलाई कुनै प्रतिकृया दिएनन् । उनी समर्थकहरुसँगै लागेर विमानस्थलबाट निस्केपछि नगर परिक्रमा गर्दै घर पुगेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्