सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

हिमालदेखी तराईसम्म रेल कुदाउन चिन आतुर

नेपालमा चिनियाँ रेलको चर्चा चल्छ । चीन पनि चाहन्छ–जतिसक्दो छिटो दुई देश रेलमार्गबाट जोडिऊन् । चिनियाँ विदेश मन्त्रालय एसिया मामिला निर्देशक झाङ झिसिन भन्छन, ‘हामी नेपालको दक्षिण भेगसम्म रेल लैजान आतुर छौं ।’

उनले काठमाडौंसम्म रेल र्पुयाउन उच्च राजनीतिक तहमा छलफल भएर अध्ययन अघि बढेको जानकारी दिएका छन् । ‘हाम्रो र नेपालको चाहना मिलेमा रेलमार्गसँग जोड्न समस्या हुँदैन । दुईपक्षीय सहकार्य भनेको विन–विन नै हो’, उनले भने, ‘हामी लगानीको प्रतिफलभन्दा पनि नेपाली जनताले कति फाइदा पाउँछन् भन्नेमा केन्द्रित छौं ।’

चीनको स्वशासित क्षेत्र तिब्बतको उच्च हिमाली क्षेत्रमा गुडिरहेकाे रेल । तस्बिर : एजेन्सी

नेपालजस्तो भूपरिवेष्टित मुलुकलाई रेलले जोडेमा एउटा लिंक खुला हुने र विकल्प थप बलियो हुने चिनियाँ पक्षको आँकलन छ । चिनियाँ विदेश मन्त्रालयका अर्का वरिष्ठ अधिकारीले नेपाल, भारत, बंगलादेश, पाकिस्तान, म्यानमार, अफगानिस्तान, श्रीलंका लगायत मुलुकलाई एकअर्कामा जोड्न चीन सक्रिय रहेको बताएका छन् ।

ती अधिकारीले भने, ‘सबै मुलुकलाई बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) मार्फत रेलले जोड्ने योजना छ ।’ यी मुलुकबीच सडक सञ्जाल, रेल र हवाई सञ्जाल जोड्न सके विश्वको नेतृत्व एसियाले गर्ने अवधारणा चीनको छ ।

चीनले हिमालपारिका मुलुकलाई रेलमार्गमा जोड्ने योजना तीव्र रूपमा अघि बढाएको छ । रेलमार्गसँग जोडिन चीनले दक्षिण एसिया, दक्षिणपूर्वी एसिया र अन्य मुलुकलाई यसअघि नै आग्रह गरिसकेको छ ।

‘नेपाललाई हामीले रेलमार्फत जोड्न चाहन्छौं । नेपाल पक्षबाट हुने काम र सहकार्य अनि आर्थिक व्यवस्थापन अध्ययनको विषय हो ।’ अर्का वरिष्ठ चिनियाँ अधिकारीले भने, ‘कुनै बेला हिमालपारि रेल लैजाने विषय सोच्न पनि सकिँदैनथ्यो । अहिले त्यो सम्भव भएको छ । हिमालमा रेल कुदिसकेको छ । चीनले त्यो काम गरेर देखाएको छ ।’

चिनियाँ अधिकारीले हिमालपारि रेल हिमालमाथिबाट लैजाने कि मुनिबाट भन्ने अध्ययनको चरणमै रहेको जानकारी दिएका छन् । ‘अब प्रविधिले रेल रोक्दैन । ति अधिकारीले भनेका छन्–रोकिन्छ भने आन्तरिक छलफल, अलमल र लगानीको मोडल नमिल्दा मात्र हो । मुलुकको विकासको मुख्य आधार कनेक्टिभिटी हो । त्यो रेल, सडक र हवाई जताबाट भए पनि हुन्छ । तर कुन उपयोगी र महत्त्वपूर्ण छ त्यो बुझ्न जरुरी छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्