सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

नायिका श्वेता खड्काको पहलमा बन्यो ‘माझि वस्ती’

अनेकन् रोगले थिलथिलो बनाएको ज्यानलाई पारिलो घाममा सेकाएर टहरोछेउ टुक्रुक्क बसेका छन् पदमबहादुर माझी । बिनाशकारी भूकम्पपछि आश्रय लिएको यही सानो टहरोमा कुँजिएर उनले चार हिउँद काटिसके ।

यो छाप्रोले न चिसो सिरेटो थेग्न सक्छ, न दर्के झरी । कहिले रुझ्दै, कहिले कठ्याङ्ग्रिँदै प्राण जो धान्नुपरेको छ । ‘यो जुनी यसै बित्यो,’ बुढ्यौली यात्रामा हिँडिरहेका पदमबहादुरलाई लाग्न थालेको छ, ‘अरु जे भए पनि सुविस्ताले मर्न पाए हुन्थ्यो ।’

बन्दै गरेको माझी वस्ती नियाल्दै पदमबहादुर माझी । श्रोतः अनलाइनखबर

इन्द्रावतीको छालसँग खेल्दै हुर्किएका पदमबहादुरको जीवन एकनास रहेन । उनका रहरहरु कहिले छालमा तैरिए, कहिले भुँमरीमा फसे । त्यो एकलासे खोली–किनारमा न उनको सपना अंकुराउन सक्यो, न जीवनको अवयव तंग्रिन सक्यो । तातो बालुवामा घोटिएरै ६८ बर्ष निख्रियो । नियति नै उस्तो हो कि, आफ्नो कर्म ? खुट्याउन समर्थ भएनन् ।

ठीक सामुन्नेको दृष्यले भने उनलाई आशावादी बनाइरहेको छ । त्यहाँ रहरलाग्दा घरहरु ठडिएका छन् । एउटै रुपरंगका । उस्तै साजसज्जाका । झट्ट हेर्दा कुनै सुन्दर चित्राकृति जस्तो ।

पदमबहादुरले सायदै सोचेका थिए, यो बगरमा यति लोभलाग्दो वस्ती बन्नेछ । नसोचेको भइदियो, जब अभिनेत्री श्वेता खड्का फिल्मी शैलीमा त्यो एकलासे ठाउँमा पाइला टेक्न पुगिन् ।

अभिनेत्री श्वेता खड्का

कहिलेकाहीँ अनपेक्षित सपना छाँद हाल्न आइपुग्छन् । त्यस्तै भयो, भूकम्पपीडित माझीहरुलाई । दुःखजिलो गरेर बनाएको घर भूकम्पले ध्वस्त बनाइदिएपछि उनीहरु रित्तिएका थिए । ओत लाग्ने छानो थिएन ।

यस्तैबेला वस्तीमा केही सुकिला अनुहार देखापरे । कतै देखेजस्तो, कतै चिनेजस्तो । उनीहरुले सुने, उनीहरुमध्ये एक जना फिल्मकी ‘हिरोनी’ हुन् । उनै हिरोनीले भनिन्, ‘तपाईंहरुका लागि सिंगो वस्ती बनाउन सहयोग गर्नेछु ।’

एउटा घर होइन, सिंगो वस्ती । सुनेर माझीहरु गद्गद् भए । हिरोनी श्वेता खड्कालाई फूलमाला लगाइदिए । गलाभरी पहि¥याइदिएका फूलमालाले हिरोनीको अनुहार ढाक्यो । र, गहभरी टिलपिल आँशु छचल्कियो । उनले दिवंगत श्रीमान् श्रीकृष्ण श्रेष्ठको तस्वीरलाई छोएर भावविह्ल हुँदै भनिन्, ‘उहाँको समाजसेवा गर्ने अधुरो चाहना बोकेर यहाँ आएकी छु ।’

दुःख, अभाव र कष्टसँग गुज्रिएका माझीहरुमा उमंग प्रकट भयो । उनीहरु नयाँ घर पाउने खुसीले नाचे । इन्द्रावतीको सम्मुख ४ सय ५६ वर्ग्फिट क्षेत्रफलमा एकीकृत वस्ती बन्ने भयो ।

वस्ती त बनाउने तर, आर्थिक स्रोत कसरी जुटाउने भन्ने प्रश्न खडा भयो । सरकारले प्रत्येक भूकम्पपिडित परिवारलाई आवास निर्माणका लागि तीन लाख रुपैयाँ अनुदान दिने भनेको थियो । अनुदानको सम्पूर्ण रकम एकीकृत वस्तीमा प्रयोग गर्न गाउँलेहरु खुशीसाथ सहमत भए । तर, ३ लाखले मात्रै घर बन्नेवाला थिएन ।

त्यसपछि प्रत्येक परिवारले ४ लाख रुपैयाँ बैंकबाट सहुलियत ऋण लिने समझदारी बन्यो । नयाँ घरमा बस्ने सपना देखेका भूकम्पपीडित ४ लाखको ऋणको बोझ बोक्न तयार भए । यसरी प्रत्येक परिवारका लागि ७ लाखमा मोटामोटी घर बन्ने आँकलन गरियो ।

यसबाहेक वस्तीमा चाहिने अन्य पूर्वाधारका लागि लाग्ने खर्च आफूले जुटाउन श्वेता तयार भइन् । काठमाडौं फर्किएर श्वेताले श्वेताश्री फाउन्डेसन स्थापना गरिन् । भूकम्प पुनर्निमाण प्राधिकरणसँग छलफल गरिन् । पब्लिक प्राइभेट पार्टनरसीप (पीपीपी) मोडलमा वस्ती निर्माण गर्ने विषयमा प्राधिकरणसँग फाउन्डेसनको समझदारी भयो ।

निर्माणको अन्तिम चरणमा रहेको माझी वस्ती

२०७३ जेठ १५ गते महिनामा वस्ती शिलान्यास भयो । प्राधिकरणका तत्कालीन कार्यकारी अधिकृत (सीईओ) गोविन्द पोखरेल आफैं शिलान्यास कार्यक्रममा पुगेका थिए । शिलान्यास भए पनि काम तत्काल सुरु हुन सकेन । जग्गाको बाँडफाँट र सट्टापट्टामा समय लाग्यो । कतिपय स्थानीयवासीको ४ पुस्तादेखि नै जग्गा नामसारी नभएको अवस्था थियो । सबै मिलाउँदा काम सुरु गर्न केही ढिलाई भयो ।

सुरुमा १६ वटा घर बनाएर दशैं अगाडि हस्तान्तरण गर्ने भनिएको थियो तर, न सरकारबाट समयमा अनुदान आयो न बैंकबाट ऋण । वर्षात सुरु भएपछि बाटो बिग्रियो । त्यसैले जेठमा शिलान्यास गरिएको वस्तीको निर्माण असोजमा मात्रै सुरु भयो ।

वस्ती निर्माणका लागि प्रति घर सात लाख रुपैयाँमा सिन्धु क्रियटिभलाई जिम्मा दिइएको थियो तर, समयमा पैसा नपाएको भनेर ठेकेदार कम्पनीले बीचमै काम छोड्यो ।

स्थानीय उपभोक्ता समिति बनाएर निर्माण अघि बढ्यो । गाउँवासीहरुलाई नै ज्याला दिएर श्रमिकका रुपमा प्रयोग गरियो । एक घरबाट एक श्रमिक अनिवार्य गरिएको थियो । आफैं बस्ने घर बनाउनका लागि गाउँवासी दिलोज्यानले जुटे ।

लक्ष्मी बैंकले समयमा ऋण उपलब्ध नगराएपछि पैसाको संकट प¥यो । काम सुचारु हुन सकेन । श्वेता अन्यत्रबाट महंगोमा ऋण लिन वाध्य भइन् । यही क्रममा उनले आफ्नो गोदावरीमा रहेको घर पनि सहकारी संस्थामा बन्धकी राखेर ४५ लाख ऋण लिइन् । यो घर अहिले पनि फुकुवा भएको छैन ।

यो उनले विवाहअघि नै आफ्नै कमाईले बनाएको घर हो । वस्ती निर्माणमा श्वेताले बाहिरबाट आर्थिक सहयोगको अपेक्षा गरेकी थिइन् । तर, सहयोग जुटाउन अभियान भने चलाइनन् । उनलाई कतिपय व्यक्ति र संस्थाले स्वेच्छिकरुपमा सहयोग गरे । त्यसले केही भरथेग ग¥यो । सरकारबाट थप अनुदान रकम प्राप्त भयो र, वस्ती निर्माणले गति लियो ।

तर, लक्ष्मी बैंकले भने अझै ७० प्रतिशत परिवारलाई ऋण दिन बाँकी छ । त्यसैले श्वेता व्यक्तिगत ऋणको बोझले थिचिएकी छिन् । व्यक्तिगत ऋण कति छ भन्ने चाहिँ खुलाउन चाहन्नन् । ‘यो मैले मनले गरेको काम हो, त्यसैले ऋणको हिसाब गरेर बसेकी छैन,’ उनी भन्छिन्, ‘बस्ति निर्माण पूरा गरेर हस्तान्तरण गर्न पाए मेरो ठूलो बोझ हलुका हुनेछ ।’

वस्तीको काम अहिले अन्तिम चरणमा छ । सबै घरहरुको रंगरोगन सकिएको छ । फिनिसिङका कामहरु बाँकी रहेको श्वेताले बताइन् । माझी वस्तीमा ५३ वटा भूकम्प प्रतिरोधात्मक घर छन् । जस्ताले छाएका एकतल्ले पक्की घरभित्र ३ कोठा र एक शौचालय छन् । अगाडि बरण्डा र पछाडि करेसाबारी छ ।

सरकारले एकीकृत वस्ती निर्माण गर्दा विभिन्न पूर्वाधारहरुका लागि ४ लाख रुपैयाँ दिने व्यवस्था गरेको छ । यो रकम निकासाका लागि अहिले श्वेताले पहल गरिरहेकी छन् । सरकारबाट रकम प्राप्त भएपछि वस्तीको बाटो, ढल, साझा शौचालय, पार्क, उद्यान, नाला, मन्दिर, सामुदायिक भवन लगायत बनाउने योजना छ ।

यसका लागि अहिले डीपीआर र सर्भे भइरहेको छ । वस्ती निर्माण सम्पन्न हुँदा ८ करोड रुपैयाँ लागत पुग्ने अनुमान छ । ‘हामीले दिर्घकालीन हिसाबले सबै कुरा सोचेर वस्तीको डिजाइन गरेका छौं । कुनै पनि कुरामा कम्प्रोमाइज गरिएको छैन,’ श्वेताले भनिन् ।

ऋण तथा अनुदान समयमा प्राप्त नहुनु र अन्य अवरोधले वस्ती निर्माणमा ढिलाई भयो । त्यसैले श्वेताले समयमा काम गर्न सकिनन् भनेर आलोचनाका स्वर पनि सुनिए । कतिपयले अनियमितताको आरोप पनि लगाए ।

यसबाट उनी कत्तिको विचलित भइन् ? ‘अहँ पटक्कै भइनँ,’ श्वेता भन्छिन्, ‘आलोचनाले मलाई कमजोर होइन, झन् बलियो बनाउँथ्यो । आफ्नो उद्देश्यप्रतिको अठोट प्रगाढ हुन्थ्यो ।’

आलोचनाबाट विचलित नभई श्वेता आफ्नो कर्ममा लागिरहिन् । उनले धेरै हण्डरहरु पनि खानुर्पयो । सरकारी निकायहरुमा धाउँदाधाउँदा खुट्टा गले । सहयोगका आश्वासन दिएका थुप्रैले मुन्टो बटारे । कतिले उनको उपहास पनि गरे ।

‘मैले जेजस्तो सहयोगको अपेक्षा गरेको थिएँ, त्यो प्राप्त भएन । त्यसैले धेरै दायित्व आफ्नो टाउकोमा आयो,’ श्वेता भन्छिन्, ‘यो वस्ती निर्माण गर्दा धेरै पाठ सिकेँ । तितामिठा अनुभव भए । वस्ती हस्तान्तरणको क्षण मेरो जीवनकै अविष्मरणीय हुनेछ । मेरो श्रीमानलाई साँचो श्रद्धान्जली पनि त्यही हुनेछ ।’

अझै केही काम बाँकी छन् । सरकारबाट आउने रकम प्राप्त भएपछि काम पूरा हुने उनी बताउँछिन् । दशैं अगाडि जसरी पनि वस्ती हस्तान्तरण गर्ने योजना छ उनको । श्वेता अगाडि भन्छिन्, ‘यो मैले मात्रै बनाएको वस्ती होइन । मैले समन्वय गरेकी मात्र हुँ । सरकारसँग मिलेर काम गरेकी छु । सहयोगी हातहरु छन् । उहाँहरु सबैप्रति ऋणी छु ।’

हरेक दिन उनी झुपडीबाट उसैगरी बाहिरिन्छन् पदमबहादुर । सामुन्नेको बस्तीमा नजर डुलाउँछन् र, मुसुक्क हाँस्छन् । शरीर दिनदिनै गल्दै गएको छ, थाक्दै गएको छ । ‘के–के हो, के–के औषधी खानुपर्छ’ उनी सुनाउँछन्, ‘कतिथरी रोग लागेको छ ।’

उनलाई गल्दै गएको आफ्नो शरीरको जति चिन्ता छ, उत्ति नै चिन्ता छ अघिल्तिर बनिरहेको वस्तीको । ‘पहिले सोत्तर काटेर छाप्रो हालिन्थ्यो, त्यसमै गुजारा चल्यो,’ उनी भन्छन्, ‘अब नयाँ घरमा बस्न पाइने भएपछि मनमा बेग्लै खुशी छ ।’

विभिन्न संघ संस्था र व्यक्तिले सामाजिक कार्य गर्नेभन्दै मिडियाबाजी गरिरहेका बेला अभिनेत्री श्वेता खड्काले सुटुक्क थुप्रै घरहरू बनाएर गरिव जनताको मन जितेकी छिन् ।

सामाजिक सञ्जालमा बोरा बोकेका, राहत बाँडेका, इट्टा बोकेका तस्वीर राखेर सहानुभूति र सस्तो लोकप्रियता खोज्नेहरूलाई अभिनेत्री खड्काको कामले सिधै झापड दिएको छ । खड्का सबैको प्रेरणाकी स्रोत बनेकी छिन् ।

सामाजिक काम गर्न लागेको भन्दै केही व्यक्ति र फाउण्डेशनले सामाजिक सञ्जाल, अनलाइन, पत्रपत्रिका, टेलिभिजनमा समाचार प्रकाशित गरेर सस्तो लोकप्रियतामा रमाउन चाहेको आरोप लाग्ने गरेको छ । तर, अभिनेत्री खड्काले गुपचुप रुपमा एउटा बस्ती नै निर्माण गरेर हस्तान्तरणको अन्तिम तयारीमा छिन् ।

श्वेताश्री फाउण्डेशनमार्फत अभिनेत्री खड्काले भूकम्पपछि तहसनहस बनेको सिन्धुपाल्चोकको माझी बस्तीका ५३ घर बनाएकी हुन् । माझी वस्ती निर्माण गर्नका लागि अभिनेत्री खड्काले सार्वजनिक रुपमा चन्दा मागिनन् ।

कसैले आफ्नै स्वइच्छाले दिएको सहयोगलाई इन्कार पनि गरिनन् । माझीबस्ती बनाउने क्रममा पैसा अभाव भएपछि अभिनेत्री खड्काले आफ्नै घर सहकारी संस्थामा धितो राखेकी छिन् । खड्काले ठूलै समस्या झेल्दै उदेश्यमा पुग्न सफल भएकी छिन् ।

खड्काले चौतारा साँगा चोकगढी नगरपालिका–१४ भीमटारमा माझी बस्तीका लागि आवास निर्माण गरेकी हुन् । ४ सय ६५ वर्ग फिटमा निर्माण भएका घरको लागत प्रतिघर करीव ७ लाख रुपियाँ खर्च भएको छ ।

विभिन्न अगुवाईहरूको हातेमालो र सहयोगका कारण माझीबस्ती चिटिक्क बन्न पुगेको हो । आफ्नो उदेश्य पूरा भएपछि अभिनेत्री खड्काले घर निर्माणमा सहयोग गर्ने सबैलाई धन्यावाद दिएकी छिन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS