सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बजेट घोषणा, बृद्ध भत्ता बढेर ३ हजार पुग्यो

सरकारले बृद्धभत्ता एक हजार बढाएको छ । आर्थिक वर्ष ०७६/०७७ को बजेटमार्फत सरकारले बृद्धभत्ता बढाएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संयुक्त संसदमा प्रस्तुत गरेको बजेटमा हाल दिइँदै आएको भत्तामा एक हजार रकम बढाइएको हो ।

अरु भत्ता पनि एक हजार बढेको छ । सामाजिक सुरक्षा भत्ता कार्यक्रमअनुसार हाल जेष्ठ नागरिक तथा पूर्ण अपांगता भएकालाई मासिक २ हजार रुपैयाँ, आंशिक अपांग भएकालाई ६ सय रुपैयाँ, एकल महिलालाई १ हजार, लोपोन्मुख आदिवासी जनजातीलाई २ हजार र बालबालिकालाई मासिक ४ सय रुपैयाँ दिंदै आईएको थियो ।

सामाजिक सुरक्षा कार्यक्रममा ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिक, ६० वर्ष उमेर पुगेका दलित/कर्णालीका जेष्ठ नागरिक, पूर्ण तथा आंशिक अपांगता, एकल महिला र लोपोन्मुख आदिवासी÷जनजाती र बालबालिका समेटिन्छन् ।

सामाजिक सुरक्षा शीर्षकमा भत्ता लिने नागरिकको संख्या चालू आर्थिक वर्षको फागुनसम्म २८ लाख १४ हजार ८४ पुगेको छ । जसमा जेष्ठ नागरिकको संख्या १२ लाख ७६ हजार १३७, एकल महिलाको संख्या ७ लाख १६ हजार ९३३, पूर्ण र आशिंक अशक्त एक लाख १७ हजार ९५, लोपोन्मुख आदिवासी/जनजाती संख्या २४ हजार २०४ तथा बालबालिका ६ लाख ७९ हजार ७१५ जना छन् ।

नेपालमा पहिलो पटक सामाजिक सुरक्षा कार्यक्रम २०५१ सालमा तत्कालिन नेकपा एमाले नेतृत्वको कम्युनिष्ट सरकारले सुरुवात गरेको थियो । तत्कालिन अर्थमन्त्री स्व.भरतमोहन अधिकारीले प्रारम्भमा सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत ७५ वर्ष उमेर नाघेका बृद्धका लागि मासिक एक सय रुपैयाँ दिने घोषणा गरेका थिए ।

यो कार्यक्रम लोकप्रिय भएपछि उनै अधिकारीले २०६० सालमा सो रकम बढाएर १७५ रुपैयाँ र्पुयाएका थिए । २०६५ सालमा माओवादी सरकारका अर्थमन्त्री डा.बाबुराम भट्टराईले ५०० पुर्याएको उक्त रकम २०७१ सालमा नेपाली कांग्रेस सरकारका अर्थमन्त्री डा.रामशरण महतले १ हजार रुपैयाँ र्पुयाए भने २०७२ सालमा एमाले अर्थमन्त्री बिष्णु पौडेलले सो रकम मासिक २ हजार रुपैयाँ र्पुयाएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्