के पाँच बर्ष नै केपी ओलीले सरकार चलाउलान ?
नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सत्ताको रथ पाँच वर्ष नै हाँक्छन भन्ने अपेक्षामा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको पछिल्लो अभिव्यक्तिले संशय थपिदिएको छ । पार्टी एकताका क्रममा भएको भनिएको पाँच बुँदे गोप्य सहमती सार्बजनिक भएपछी सरकारलाई ओलीले नै पाँच बर्षसम्म सञ्चालन गर्छन या दाहाललाई हतान्तरण गर्छन भन्ने बहस सतहमा आएको छ ।
भदौमा भारत गएका बेला ओलीसँगको ५ बुँदे सहमतिबारे उतै मुख खोलेका दाहालले प्रधानमन्त्री ओली समकक्षी मोदीलाई बधाई दिन भारत जानु एक दिनअघि अर्थात् बुधबार किन यसरी ‘छताछुल्ल’ भए भन्नेमा विशेषतः पूर्वएमाले पंक्ति सशंकित भएको छ ।
जेठ १३ गते विराटनगर पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहालले विमानस्थलमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुनु एक दिन अघि अर्थात् २०७५ जेठ २ गते दुवै दलका अध्यक्षबीच ‘खास’ सहमति भएको बताएपनि त्यसबारे स्पष्ट पारेनन् ।

‘पार्टी एकताका बेला एउटा समझदारी गरेका थियौं, त्यो सबैलाई थाहा छ, मेरो मुखबाट नबोलाउनुहोस्’ भनेका दाहालले त्यही सहमति अनुसार नै पार्टी र सरकार अगाडि बढ्ने दावी गरेका थिए ।
नेकपाले सहमति एक वर्षसम्म गोप्य राखेको थियो । तर, एबीसी टेलिभिजनका संस्थापक अध्यक्ष शुभशंकर कँडेलले लेखेको ‘ऐतिहासिक एकताका आधारहरू’ पुस्तकको पाना नम्बर २०१ मा सहमतिका ५ बुँदा छापिएको छ । जुन पुस्तक बैशाख ९ गते नेकपाका अध्यक्षद्वय ओली र दाहालले नै लोकार्पण गरेका थिए ।
दाहालले अन्तरर्वार्ताका क्रममा लिखित सहमति किताबमा छापिएरै आएको बताएपछि मात्रै धेरैको यसमा ध्यानाकर्षण भयो । गोप्य भनिएको दस्तावेज सार्वजनिक हुनु नै गलत भएको तत्कालीन एमाले पक्षको भनाइ छ ।
तत्कालीन दुई पार्टीका अध्यक्षले हस्ताक्षर गरेको सहमति–पत्रमा ‘साक्षी’का रुपमा तत्कालीन एमालेका उपमहासचिव विष्णु पौडेल र माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य जनार्दन शर्माको पनि हस्ताक्षर छ ।
दाहालले सहमतिको बुँदा नम्बर ४ लाई व्याख्या गर्दै आफ्नो हैसियत राम्ररी परिभाषित हुनुपर्ने, सरकारको नेतृत्व एउटाले र पार्टीको नेतृत्व अर्कोले गरे सन्तुलन मिल्ने र सहमतिमा महाधिवेशन नभए फरक स्थिति उत्पन्न हुने औंल्याएका थिए ।
तत्कालीन दुई अध्यक्षबीच समान अवधि सरकार सञ्चालन गर्ने सहमतिबारे शुक्रबार दिल्लीमै रहँदा प्रधानमन्त्री ओलीले आफू सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । तर, सहमतिअनुसार सत्ता हस्तान्तरण गर्नैपर्ने भएपनि १५ महिना बाँकी रहँदा दाहालले किन बहस उचालेका हुन भन्नेबारे चासो बढेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्