सोलुखुम्बुमा विप्लव समुहको चौकी कब्जाको प्रयास
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी समूहले सोलुखुम्बुको विकट क्षेत्रमा प्रहरी चौकी नियन्त्रणमा लिने प्रयास गरेको छ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३, छेस्काममा गएराति विप्लव कार्यकर्ताले चौकी कब्जा गर्ने उद्देश्यसहित आक्रमणको प्रयास गरेको स्रोतले बताएको छ ।
तर, त्यसबारे अग्रिम सूचना पाएपछि प्रहरी टोली आइतबार दिउँसै अन्यत्र भागिसकेको स्रोतको दाबी छ । चौकी आक्रमणको घटनाबारे एक उच्च सुरक्षा अधिकारीले पुष्टि गरेका छन् ।
उनले भनेका छन्, ‘२०÷२५ जनाको संख्यामा हतियारधारी गाउँ पसेको सूचना आएलगत्तै चौकी खाली गरेर प्रहरी अन्यत्रै सरेका थिए ।’ ती अधिकारीले त्यो अज्ञात समूह चौकीभित्र छिरे पनि कागजपत्र वा अन्य केही सामान तोडफोड भएको नदेखिएको बताएका छन् ।
उनका अनुसार थप अनुसन्धानका लागि काठमाडौंबाट समेत सुरक्षाकर्मीको टोली पठाइएको छ । महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किरातीले पछिल्लो समय गाउँपालिकाको केही वडामा विप्लव समूहको गतिविधि बढेको पुष्टि गरेका छन् ।
उनले भनेका छन्, ‘खोला पारिपट्टि रहेको वडा नं. ५ को नुर्कुममा विप्लव कार्यकर्ताको आउजाउ भइरहेको सूचना थियो । प्रहरीले गस्ती पनि बढाएको थियो ।’
गएराति भएको घटनाबारे भने अहिलेसम्म यर्थाथ विवरण आइनसकेको उनले बताए । यद्यपि, उनले गाउँपालिकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले गस्ती बढाएको भने स्वीकार गरेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्