सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

भाटभटेनीका सञ्चालक गुरुङको कालोधन छानबिनमा

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ तथा दुईजना भूमाफिया डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदीमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धान थालेको छ ।

बालुवाटारस्थित ललितानिवासले चर्चेको करिब एक सय १४ रोपनी सरकारी जग्गा हडपेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को छानबिनमा परेका गुरुङ, ढकाल र सुवेदीमाथि सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान अघि बढाएको हो ।

विभागले भाटभटेनीका नाममा देशभर सञ्चालित सुपरमार्केटको जग्गाजमिनसहितको लगानीलाई पनि छानबिनको दायरामा ल्याएको छ । गुरुङले तयारी कपडा आयात गर्दा सरकारलाई बुझाउनुपर्ने राजस्वमा छली भएनभएको विषयमा पनि अनुसन्धान भइरहेको स्रोतले जानकारी दियो ।

भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा भूमाफिया मीनबहादुर गुरुङ र भूमाफिया डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदी

आयोग र ब्युरोले छानबिन थालेपछि ढकाल र सुवेदी फरार भइसकेका छन् । विभाग उच्च स्रोतका अनुसार ललितानिवास र त्यसले चर्चेको जग्गा हिनामिनामा संलग्न गुरुङ, ढकाल र सुवेदी तथा उनीहरुका परिवारको नाममा रहेको चलअचल सम्पत्ति खोज्न विशेष टोली खटिएको छ । जग्गा हडप्नेमध्येका तीनजनाबाहेक राणा परिवारबाट मोहीको नाममा जग्गा पाउने पनि विभागको छानबिन दायरामा परेका छन् ।

‘ललितानिवासले चर्चेको जग्गा हिनामिनामा संलग्न भाटभटेनी सुपरमार्केट तथा भाटभटेनी डेभलपर्स प्रालिका सञ्चालक मीनबहादुर गुरुङ, ढकाल र सुवेदी तथा उनीहरुका परिवारमाथि कालो धन आर्जन गरेको अभियोगमा छानबिन थालिएको छ,’ विभाग स्रोतले भन्यो, ‘यस विषयमा अख्तियार र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोसँग पनि सहयोग मागेका छौं ।’ विभाग स्रोतका अनुसार गुरुङ अध्यक्ष रहेको भाटभटेनी डेभलपर्स प्रालिमा ढकाल र सुवेदीको पनि लगानी देखिएको छ ।

सम्पती शुद्धिकरण बिभागका महानिर्देशक रुपनारायण भट्टराईले भनेका छन्–‘राणा परिवारबाट बालुवाटारको जग्गा हात पार्नुअगाबै गुरुङ, ढकाल र सुवेदीले स्रोत नखुलेको सम्पत्ति विभिन्न क्षेत्रमा लगानी गरेको उजुरी पनि परेको छ,’ विभाग स्रोतले भन्यो, ‘ललितानिवासको जग्गामा मात्रै होइन, भाटभटेनी सुपरमार्केट र अन्य व्यापार व्यवसायमा पनि उनीहरुको साझेदारी देखिन्छ ।’

बालुवाटारको जग्गा र भाटभटेनीको व्यापारमा गरिएको लगानीको स्रोतमाथि पनि प्रश्न उठेको भन्दै विभागका एक उच्च अधिकारीले त्यसमाथि विशेष अनुसन्धान भइरहेको जानकारी दिएका छन् । विभागका महानिर्देशक रुपनारायण भट्टराईले अख्तियार र सिआइबीले छानबिन गरिरहेको विषयमा आफूहरुको पनि चासो रहेको र सो बिषयमा थप बोल्न नमिल्ने प्रतिक्रिया दिएका छन् । ‘आयोग र सिआइबीमा भइरहेका विषयमा हाम्रो पनि चासो छ,’ महानिर्देशक भट्टराईले भने, ‘अनुसन्धान भइरहेका विषयमा अरु थप बोल्न मिल्दैन ।’

ललितानिवासको जग्गा प्रकरणमै बयानका लागि नगएपछि भाटभटेनीका सञ्चालक गुरुङका छोरा कल्याण तथा भूमाफिया ढकाल र सुवेदीसहित ८९ जनालाई आयोगले फरार सूचीमा राखेको छ । फरार सूचीमा भएका व्यक्तिको पनि सम्पत्ति छानबिन भइरहेको विभागले जनाएको छ । विभागले डिल्लीबजार मालपोत कार्यालयबाट सस्तोमा जग्गा रजिस्ट्रेसन पास गरिएको विषयमा पनि भूमाफिया, बिचौलिया र कर्मचारीमाथि अनुसन्धान गरिरहेको छ ।

२०४१ सालमा एउटा सटर भाडामा लिएर पसल सुरु गरेका गुरुङको सुपरमार्केटको अहिले देशव्यापी सञ्जाल छ । उनले भाटभटेनी ब्रान्डमा काठमाडौं सहित देशभर १५ स्थानमा सुपरमार्केट सञ्चालन गरेका छन् । अहिले भाटभटेनीले देशभरमा गरी दैनिक ५ करोड ५ लाख भन्दा बढी कारोबार गरिरहेको उसकै दाबी छ । अस्वाभाविक रुपमा बढेको सुपरमार्केटको लगानीमाथि यसअघि पनि पटकपटक प्रश्न उठ्ने गरेको थियो ।

सरकारी जग्गा हडप्नकै लागि गुरुङले भूमाफियाहरुसँग सम्पर्क बढाएर ललितानिवासको जग्गा सस्तोमा किनेका थिए । गुरुङले त्यसलाई प्लटिङ गरी आधादर्जन व्यापारिक घरानासहित विभिन्न व्यक्तिलाई बेचेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS