आँप बोकेर आएको भारतीय ट्रकमाथी तोडफोड
चितवनको नारायणगढ क्षेत्रपुरस्थित महानगर ताजा तरकारी तथा फलफूल थोक बजारमा आँप ल्याएर आएको भारतीय ट्रकमा तोडफोड गरिएको छ । विहान तीन बजे आँप लिएर बजार क्षेत्रमा प्रवेश गरेको यूपी ४१ ए टी २६९१ नम्वरको भारतीय मालबाहक ट्रकमा तीन जना युवाले तोडफोड गरेका हुन् ।
स्कुटरमा आएका ती युवाले गाडीको अगाडिको सिसा फुटाइदिएका छन् । उनीहरुले पेट्रोल छर्किएर आगो लगाउने प्रयाससमेत गरेको फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिएका छन् ।

‘ती युवाहरुले तोडफोडपछि पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेका रहेछन्, तर चिसोका कारणले सलाई ओसिएपछि आगो नबल्दा ट्रक जोगियो,’ अध्यक्ष धितालले भने, ‘यसले ब्यापारीहरुमा भय बढाएको छ ।’
सो ट्रकमा पाँच टन आँप थियो । ट्रकमा तोडफोड गर्दै आगजनीको प्रयास गरेपछि केही ब्यापारीहरुले प्रतिकार गरेका थिए । त्यसपछि ती युवाहरु स्कुटरमै फरार भएको चितवन प्रहरीले जनाएको छ ।

चितवन प्रहरीका प्रवक्ता एकनारायण कोइरालाले दोषीहरुको पहिचान नभएको बताएका छन् । प्रहरीले तोडफोड गर्नेहरुको खोजी कार्य तीव्र पारिएको जनाएको छ ।
चितवनकै सबैभन्दा ठूलो यो तरकारी बजारमा सीसीटीभीसमेत छैन । तर बजारको सुरक्षाका लागि सीसीटीभी जडानको प्रकृया भने अघि बढाइएको अध्यक्ष धितालले बताएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्