सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

लुम्विनिमा कसले तोडफोड गर्यो बुद्धका मुर्ति ?

अज्ञात समूहले लुम्बिनी क्षेत्रमा बुद्धका मूर्ति तोडफोड गरेको छ । बुटवल–बेलहिया ६ लेन सडकअन्तर्गत रूपन्देहीको तिलोत्तमा नगरपालिकामा पाँचवटा मूर्ति बुधबार राति तोडफोड गरिएको हो ।

नगरपालिकाले लुम्बिनी भ्रमण वर्ष प्रवद्र्धन गर्न २२ वटा मूर्ति स्थापना गरेको थियो । तीमध्ये शंकरनगर क्षेत्रका मूर्ति फुटाइएको छ । घटनाको अनुसन्धान गरी अभियुक्तलाई कारबाहीको दायरामा ल्याउन सरोकारवालाले माग गरेका छन् ।

अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रीय महास्थिवीरले मूर्ति तोडफोड गर्नु अशान्तवादी चरित्र भएको बताएका छन् । उनले भनेका छन्–‘यो घटना निन्दनीय छ । अशान्ति चाहनेहरू यस्तो गतिविधिमा संलग्न छन् । घटनामा संलग्नलाई सरकारले तत्काल कारबाही गर्नुपर्छ ।’

राणा शासनयता बुद्धविरोधी गतिविधि भएको सम्भवतः यो पहिलो घटना हुन सक्ने जानकार बताउँछन् । २००१ सालमा बौद्ध धर्म प्रचार गरेको भन्दै सात भिक्षुलाई देशनिकाला गरिएको थियो । पछिल्लो घटनाले ती दिनको स्मरण गराएको भिक्षुको भनाइ छ ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले यो घटना लज्जास्पद भएको बताए । यसले नकारात्मक सन्देश प्रवाह गर्ने चिन्ता उनले व्यक्त गरेका छन् । बुद्धको मूर्ति कुन स्थानमा राख्ने÷नराख्ने भनेर प्रश्नसमेत उब्जिएको उनको भनाइ छ ।

उनले भनेका छन्–‘बाटो–बाटोमा बुद्धका मूर्ति राख्नु कत्तिको उचित छ ? यसको सुरक्षा दिन सकिन्छ कि सकिँदैन भन्ने कुरा महत्वपूर्ण भएको छ ।’ बुद्ध कुनै धर्मका नभई साझा हुन् भन्ने शिक्षा दिन नसकेका कारण पनि घटना भएको हुन सक्ने उनको ठम्याइ छ ।

budhdha Statsu brecked in lumbini
तोडफोड गरिएको बुद्धको मुर्ती । तस्विरः अन्नपुर्णपोष्ट

रूपन्देहीमा तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाले सडकका बीचमा मूर्ति राखेका छन् । बुद्धका मूर्ति राख्दा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने तिलोत्तमाका मेयर वासुदेव घिमिरेले बताएका छन् । उनले भनेका छन्–‘मूर्ति तोडफोड विकासविरोधी गतिविधि हो ।’

प्रदेश ५ प्रदेशसभाको अर्थ, उद्योग तथा पर्यटन समितिले घटनाको निन्दा गरेको छ । समिति सभापति दधिराम न्यौपानेले विज्ञप्ति जारी गरी मूर्ति तोडफोड धार्मिक मूल्य मान्यताको अपमान भएको बताएका छन् । नेकपा तिलोत्तमा नगर कमिटी अध्यक्ष मोहन चापागाईं, कांग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डेले विज्ञप्ति जारी गरी घटनाको निन्दा गरेका छन् ।

मूर्ति तोडफोडका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी रुपन्देहीका प्रहरी उपरीक्षक हृदय थापाले छुट्टै टिम बनाएर अनुसन्धान गरिरहेको बताएका छन् । इलाका प्रहरी बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराई नेतृत्वको टोली अनुसन्धानमा खटिएको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्