सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

जापानिज कलामा गोल्ड फिसको महत्व

जापानिज कलाकार रियुसुके फुकाहोरी कलेज सकेपछि अन्योलमा थिए । कलाको आफ्नो करियर छोड्ने सोच्दै थिए । कोठामा बसिरहँदा वाक्कदिक्क भइसकेका थिए । तर त्यही गाह्रो समयमा गुज्रिरहेको बखत उनले आफ्नो कोठामा भएको गोल्डफिसलाई हेर्न पुगे ।

त्यसको सुन्दरताले उनलाई यति मोहित गर्छ कि उनले आफ्नो कस्तूरी भेटे सरह हुन्छ । त्यसपछि त उनले आफ्नो कला यात्रामा छलाङ नै मार्छन् । आज उनको कलाको मुख्य विषयवस्तु नै गोल्डफिस बनेको छ ।

तर सयौं वर्षदेखि जापानी कलामा गोल्डफिस देखिँदै आइरहेको छ । तर यस्तो किन छ ?

चिनियाँहरूले सन् १५०२ मा पहिलो पटक जापानमा यो माछा पु¥याएका थिए । त्यो समयमा यी माछा कुलीन वर्गहरूका लागि महँगा पाल्तु जनावर थिए । महत्वका जनावर थिए । किनकि यसलाई धन र सौभाग्यको प्रतीक मानिन्थ्यो । यसको सुनौलो रङले सम्पत्ति जनाउँथ्यो भने रातो रङले रोग र दुर्भाग्य टार्ने विश्वास गरिन्थ्यो ।

समयसँगै यो माछा धनी मानिसहरूमा मात्र सीमित नभएर सामान्य मानिसहरूमा पनि लोकप्रिय भयो । जसको कारण माछाको सुन्दर रङ र आकर्षक चाल थियो । जुन आज पर्यन्त फरक अवतारमा कायम छ ।

त्यसको उदाहरण, जापानी ग्रीष्मकालीन चाडहरूमा किङ्ग्यो सुकुइ भनिने एउटा खेलमा यो माछा विशेष प्रयोग हुन्छ । जहाँ मान्छेहरूले कागजको चम्चाले यो माछालाई समात्ने कोसिस गर्ने गर्छन् ।

जापानमा यो माछा भित्रिएसँगै जापानी कलामा पनि आउन थालिसकेको थियो । विशेषतः एडो काल (१६०३–१८६८) मा लोकप्रिय ‘उकियो–ए’ वुड ब्लक प्रिन्टमा यो बारम्बार देखिन्थ्यो । तोकुगावा शोगुनको शासन भएको यस समयलाई जापानमा शान्ति, स्थिरता र आर्थिक विकासको युग मानिन्छ ।
त्यसबेला प्रसिद्ध कलाकार उतागावा कुनियोशीले गोल्डफिसलाई मानिसको रूपमा चित्रण गरेर रमाइला चित्रहरू बनाएका थिए ।

जस्तै, कसैले छाता ओढेका, पार्टीमा रमाइरहेका त कोही लडिरहेका । यस्ता कलाकृतिहरू आज बेल्जियमको रोयल म्युजियम अफ आर्ट एन्ड हिस्ट्रीमा संकलित छन् ।

कला इतिहासकारहरूका अनुसार जापानी कलामा जनावरलाई मानिसझैं देखाउने परम्परा पुरानै हो । तर कुनियोशीले गोल्डफिसलाई कलामा प्रयोग गर्दा पानीबाट बाहिर ल्याएर स्वतन्त्र बनाएका थिए । यो उनको असाधारण प्रतिभाको उदाहरण थियो ।

आज पनि जापानमा गोल्डफिसलाई गर्मी, सुन्दरता र शान्तिको प्रतीक मानिन्छ । जापानमा विभिन्न प्रजातिका गोल्डफिस पाइन्छन् । यी माछाहरूलाई जाडोमा बाँच्न गाह्रो हुने भएकाले हरेक हिउँदमा प्रायः टोक्योबाट होक्काइदोमा सार्ने गरिन्छ ।

त्यस्तै जापानमा हरेक वर्ष हुने ‘आर्ट एक्वेरियम’ प्रदर्शनीमा गोल्डफिस विशेष प्राथमिकतामा पर्ने गर्छ । अहिलेसम्म यस प्रदर्शनीमा ८० लाख बढी दर्शकहरू पुगिसकेको बताइन्छ । जहाँ गोल्डफिसलाई अनेकन् रुपमा देखाइएको हुन्छ ।

आजको समयमा चित्रकार फुकाहोरीले यो माछालाई नयाँ शैलीमा उतार्ने प्रयास गरिरहेका छन् । उनले जीवन र मृत्युबीचको रहस्यमय जीवका रूपमा देखाउने प्रयास गरिरहेका छन् । त्यसका लागि उनले यस माछालाई मुख्य विषयवस्तु बनाएर थ्री–डी रेजिन कला बनाउने गर्छन् ।

सामाग्री स्रोतः बिभिन्न अनलाईन पोर्टल

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS