सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गित गाउँदै माग्ने रानु बनिन् बलिउड गायिका

केही समयअघि सामाजिक सञ्जालमा एक जना भारतीय महिलाको भिडिओ भाइरल भएको थियो । रेलवे स्टेसनको बेन्चमा बसेर गीत गाएकी ती महिलाको भिडिओ हेरेर तारिफ नगर्ने सायदै कोही थिए ।

भारतको पश्चिम बंगालको रानाघाट स्टेसनमा ‘एक प्यारका नग्मा है’ गाउने महिला हुन् रानु मोन्डल । उनी यसरी गाएरै आफ्नो पेट पाल्दै आएकी थिइन् । एक दिन उनको स्वर सामाजिक सञ्जालमा गुञ्जियो ।

मिठो स्वर भएकी उनलाई धेरैले चर्चित गायिका लता मंगेशकर ‘जस्तै’ भने । रानु आफैंले पनि लताबाट प्रेरित भएको बताएकी थिइन् । त्यसैले उनलाई ‘रानाघाटकी लता मंगेशकर’ पनि भन्न थालिएको छ ।

उनको भिडिओ र स्वर दुवै हिट भएको केही दिनपछि उनको खोजी हुन थाल्यो । कसैले उनलाई भेट्यो र बाटामा बस्दै आएकी रानुको साफसफाइ र श्रृंगार भयो । उनको स्वरझैं सुन्दरता पनि निखारियो । सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई खुबै शुभकामना दिए ।

Ranu Mondal Indian Singer
रानु मोन्डल सडकमा गित गाउँदै गर्दा र मेकअपपछी

आफ्नो स्वरको जादूले रानुले धेरैको मन जितिसकेकी थिइन् । तर उनको कमाल यतिमै सीमित भएन । रानु टेलिभिजन कार्यक्रम ‘सुपरस्टार सिंगर’मा देखिइन् । कार्यक्रममा सहभागी केटाकेटी भेटिन् । यहीँ उनको जीवनमा नयाँ मोड दिने व्यक्ति पनि थिए–गायक तथा संगीतकार हिमेश रेशमिया ।

कार्यक्रमको निर्णायकका रूपमा रहेका हिमेशले रानुको स्वर सुनेपछि आफू निकै प्रभावित भएको बताए । उनको स्वरको तारिफ गर्दै उनलाई ‘काम दिने’ बताएका थिए । र, हिमेशले आफ्नो बोली पूरा गरेका छन् ।

हालै सार्वजनिक एक भिडिओमा रानु स्टुडियोमा गीत रेकर्ड गराउँदै गरेकी देखिन्छिन् । उनीसँग हिमेश पनि छन् । हिमेशले आफ्नो नयाँ फिल्म ‘ह्याप्पी हार्डी एन्ड हीर’का लागि रानुलाई गीत गाउने अवसर दिएका हुन् ।

https://youtu.be/s4ILDIU_CcE

फेसबुकबाट कमेन्ट गर्नुहोस्