सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बेलायतले विदेशी विद्यार्थीलाई वर्क भिसा दिने

अन्तर्राष्ट्रिय विद्यार्थीले बेलायती विश्वविद्यालयबाट ‘ग्रयाजुएट’ भएपछि दुई वर्षसम्म ‘वर्क भिसा’ पाउने भएका छन् । सरकारले २०२१ देखि यस्तो नियम ल्याउन लागेको होम अफिसको अध्यागमन सम्बन्धि पछिल्लो श्वेत पत्रमा उल्लेख गरिएको छ ।

तत्कालिन गृहमन्त्री टेरेजा मेको पालामा सन् २०१२ मा हटाइएको पोस्ट स्टडी वर्क भिसा व्यवस्था पुनः ल्याउन लागिएको हो । अहिले ब्याचलर्स, मास्टर्स वा पिएचडी गरेपछि चार महिनामात्र काम गर्न छुट छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले घोषणा गरेको नयाँ रणनीतिको मुल उदेश्य ओभरसीज विद्यार्थीलाई बेलायती विश्वविद्यालयतर्फ आकर्षित गर्नु रहेको छ । यूरोपियन कानुन अनुसार बेलायती र ईयू विद्यार्थीलाई वर्षको ९ हजार २५० पाउन्ड ट्युसन फी तोकिएको छ तर अन्तराष्ट्रिय विद्यार्थीलाई ‘लिमिट’ छैन ।

Tower Bridge UK

यसको मतलब अन्तराष्ट्रिय विद्यार्थीलाई बेलायती विश्वविद्यालयले आफ्नै ढंगले चार्ज गर्न सक्छन् । ‘अन्तर्रा्ष्ट्रिय विद्यार्थीलाई पढाईपछि काम गर्ने अधिकार दिइनु स्वागतयोग्य कुरा हो,’ हाल पीएचडी गरिरहेका विद्यार्थी गणेश खड्का भन्छन्, ‘तर नेपालबाट कन्सलटेन्सीहरुले यसको दुरुपयोग गर्न सक्नेतर्फ पनि विद्यार्थी चनाखो हुन जरुरी छ ।’

बेलायतले करिब दशकअघि नियम खुकुलो बनाउँदा यसको व्यापक दुरुपयोग भएपछि अध्यागमन नियममा कडाइ गरिएको थियो । अन्तराष्ट्रिय विद्यार्थीले बेलायतलाई वर्षको प्रत्यक्ष–अप्रत्यक्ष करिब २० बिलियन पाउन्ड योगदान गरिरहेको बताइन्छ । हाल बेलायती विश्वविद्यालयमा ४ लाख ६० हजार अन्तराष्ट्रिय विद्यार्थी अध्ययनरत रहेको आंकडा छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्