ज्ञानेन्द्र शाहीमाथी चितवनमा सांघातिक आक्रमण
पछिल्लो समय भ्रष्टाचार बिरोधी आन्दोलनको अगुवाई गर्दै आएका ज्ञानेन्द्र शाहीमाथी चितवनमा निर्घात कुटपिट भएको छ । आफुलाई भ्रष्टाचार बिरोधी अभियन्ताको रुपमा चिनाउँदै आएका शाहीमाथी सत्तारुढ दलका युवा विद्यार्थीको समुहले आक्रमण गरेको ज्ञानेन्द्रका सहकर्मीहरुले बताएका छन् ।
शाही आवद्ध नेपालका लागी नेपाली अभियान समुहले चितवनको चौबिसकोटीमा खबरदारी सभा राखेको थियो तर, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम विथालेका दिएका छन् ।
उता चौविसकोठीमा कार्यक्रम विथोल्दै गर्दा लगतै यता आफु बसेको होटलबाट कार्यक्रम स्थल जान माईक्रो बस चढेका शाहीमाथि कुटपिट भएको छ । चौबिसकोटी स्थित होटल ग्लोबलबाट निस्किएर गाडी चढेका उनीमाथि कुटपिट भएको हो । उक्त समूहले शाही चढेको गाडीमा समेत तोडफोड गरेको छ ।
भ्रष्टाचारको विरोधमा देशका विभिन्न ठाउँमा कार्यक्रम गर्दै हिँडेका ज्ञानेन्द्र शाहीमाथि शनिबार दिउँसो आक्रमण भएको छ । शाही समुहले चौबिसकोठी चौतारोमा कार्यक्रम गर्न खोज्दै थियो । कार्यक्रम सुरू हुनुभन्दा अघि उनी बसेको ग्लोबल होटलमा नै उनीमाथि आक्रमण भएको थियो ।
इट्टाले हानेर शाहीको टाउकोमा गम्भिर चोट लागेको छ । उनको भरतपुरस्थित चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटाले बाहिरी चोट ठूलो नदेखिएपनि सिटी स्क्यान नगरी अवस्थाको बारेमा भन्न नसकिने बताएका छन् ।
उनको टाउकोको सिटी स्क्यान हुँदैछ । ज्ञानेन्द्र शाहीप्रति सत्तारूढ दल निकट युवा विद्यार्थी रुष्ट छन् । नेकपा निकट युवा विद्यार्थीले उनलाई कार्यक्रम गर्न नदिने बताउँदै आएका छन् । यसअघि पनि काठमाण्डौको माईतिघरमा उनीमाथी पत्रकार सम्मेलनस्थलमै हातपात भएको थियो ।
सम्भावित झडपलाई ख्याल गर्दै प्रहरी कार्यक्रम स्थलमा केन्द्रित भएका बेला यता शाही आफु बसेको होटलबाट निस्केर कार्यक्रमस्थल जान गाडी चढेका बेला एउटा समुहले ढुंगामुढा गरी आक्रमण गरेको थियो ।
चितवनका प्रहरी प्रवक्ता डिएसपी एकनारायण कोईराला भन्छन्–‘झडप होला भनेर हामी कार्यक्रम स्थलमा केन्द्रीत रहँदा शाहीमाथि होटलमा आक्रमण भएर उपचारका लागि पठाइएको भन्ने बुझिएको छ । अरु विवरण बुझ्दै छौ ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्