सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दशैँ लगत्तै राष्ट्रपति भण्डारी जापान आउने तयारी

दशैँ लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले जापान र म्यानमारको भ्रमण गर्ने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । परराष्ट्र स्रोतका अनुसार राष्ट्रपति भण्डारी म्यानमारको औपचारिक भ्रमणपछि जापान आउने गरी भ्रमण तालिका बनाउने कार्य अगाडी बढिरहेको छ ।

राष्ट्रपति भण्डारी म्यानमारका राष्ट्रपति विन मिन्टको निमन्त्रणामा अक्टोबर तेस्रो साता अघि नै औपचारिक भ्रमणमा जाने कार्यक्रम रहेको बताइएको छ । चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको मिति तय भएपछि मात्रै राष्ट्रपति भण्डारीको म्यानमार तथा जापानको भ्रमणको मिति निश्चित हुने सम्भावना रहेको स्रोतले बताएको छ ।

परराष्ट्र स्रोतले भनेको छ–‘राष्ट्रपति भण्डारी अक्टोबर दोस्रो साता नै जापान जाने भनिएको हो तर चीनका राष्ट्रपतिको भ्रमण त्यही बेला पर्यो भने एक दुई दिन सर्न सक्छ । तेस्रो साता अघि नै म्यानमार हुँदै जापान जाने कार्यक्रम छ ।’

प्रधानमन्त्री निकट स्रोतका अनुसार चिनियाँ राष्ट्रपति अक्टोबर ११ मा काठमाडौं आउने सम्भावना रहेको छ । यद्यपी दुवै पक्षले अहिलेसम्म औपचारिक रुपमा पुष्टि गरीसकेका भने छैनन् । सी अक्टोबर ११ मा आए भने राष्ट्रपति भण्डारी अक्टोबर १४ वा १५ मा म्यानमारतर्फ लाग्ने सम्भावना छ ।

Bidhya Devi Bhandari President of Nepal
राष्ट्रपति विद्यादेवी भण्डारी । तस्विरः अनलाईनखबरबाट

म्यानमारका राष्ट्रपतिले गत वर्ष नेपाल भ्रमण गरेका थिए । जापानमा भने राष्ट्रपति भण्डारी यहाँका सम्राट नारुहितोको राज्याभिषेक समारोहमा सहभागी हुन आउने कार्यक्रम छ । राज्याभिषेक समारोहमा विश्वभरका नेताहरुलाई निमन्त्रण गरिएको छ ।

जापान नेपालको विकास साझेदार तथा निस्वार्थ सहयोग गर्ने मुलुक भएकाले राज्याभिषेकमा राष्ट्रपति आउने तय भएको बताइएको छ । राष्ट्रपति कार्यालयका एक अधिकारीले म्यानमार र जापान भ्रमण हुने पुष्टि गरे पनि मिति भने सरकारले तय गर्ने बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्