रोशनी शाहीको सुरक्षामा असई र महिला प्रहरी
यौनकाण्डमा मुछिएपछी पदबाट राजिनामा दिएका सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाउने संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई प्रहरीले सुरक्षा दिएको छ ।
शाहीलाई सुरक्षा दिन प्रहरीले एक जना असई र एक जना महिला प्रहरी खटाएको प्रहरी स्रोतले जानकारी दिएको छ । उनीमाथि निगरानी राख्न र भवितव्य केही पनि नहोस् भनेर सुरक्षा दिन परेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार ती महिलाले एक वर्षअघि विष सेवन गरेकी थिइन् । सात दिनसम्म आइसियुमा बसेर निको भएपछि उनी घर फर्किएको प्रहरीले जनाएको छ । रोशनी शाहीले पनि बिहान ७ बजेबाट प्रहरी आएर आफ्नो निगरानी गरेको फेसबुक स्टाटस लेखेर जानकारी दिइकी छन् ।
उच्च प्रहरी स्रोतका अनुसार प्रहरीको एक टोली आज बिहान शाहीको कोठामा पुगेर थप अनुसन्धान गरेको थियो । ‘हामी डे वानदेखि नै अनुसन्धानमा छौं,’ एक प्रहरी अधिकारीले भने, ‘अनुसन्धानलाई मजबुत बनाउन हामीले पनि उनको कोठामा प्रहरी पठाएका हौं ।’
![roshani Shahi](https://everestwall.com/wp-content/uploads/2019/10/roshani-shahi-1024x713.jpg)
मंगलबार अपराह्न प्रहरीले पीडित महिलाको कोठामा गएर रक्सीको बोतल, गिलास तथा महराको भाँचिएको चस्मा ल्याएको थियो । प्रहरीले दिएको जानकारी अनुसार संसद सचिवालयमा कार्यरत ती महिलाको पेरिसडाँडानजिक कोठामा गई घटनास्थलमा भेटिएका वस्तुहरू नियन्त्रणमा लिइएको छ ।
कोठाको मुचुल्का उठाउन महानगरीय प्रहरी वृत्त बानेश्वर, महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाका अनुसन्धान अधिकृत गएका थिए । महिलाको कोठाबाट बरामद भएका ती वस्तुको फिङ्गर टेस्टका लागि फरेन्सिक ल्याब पठाउने प्रहरीको योजना रहेको स्रोतले बतायो ।
पछिल्लो समय ती महिलाले भने बयान फेरेकी छन् । उनले महराले आफूलाई बलात्कार गरेको नभई दुव्र्यवहार गरेको बताएकी छन् । पतिसहित बस्दै आएकी बिबाहित ति महिलाले लगाएको आरोप साँचो हो वा आरोप मात्रै त्यो भने अनुसन्धानपछी मात्रै थाहा हुनेछ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्