सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापान पस्दै सुपर ताईफु, असर कहाँ–कहाँ गर्दैछ ?

जापानको मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार भोली शनिबार र पर्सी आईतबार हगिविस नामको शक्तिशाली ताईफु (आँधीबेहरी) ले राजधानी टोकियो र आसपासका क्षेत्रहरुको जनजिवन अस्तव्यस्त बनाउन सक्ने देखिएको छ । मौसमविदहरुले हगिविस सुपर ताईफुको सामना गर्न आवश्यक तयारी गर्न सर्बसाधारण सबैलाई सचेत गराएका छन् ।

मौसमविदहरुले दिएको जानकार अनुसार हगिविस आँधी ओगासावारा द्धिपबाट अगाडी बढेको छ । यो शक्तिशाली समुद्री आँधीका कारण जापानका अधिकांश भागमा भारी बर्षा हुनेछ भने शक्तिशाली हावाहुरी चल्ने अनुमान गरिएको छ । जापानको मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार बिहिबार साँझ हगिविस आँधीको गती १४१ किलोमिटर प्रतिघण्टा मापन गरिएको थियो ।

Super Typhoon Hagibis

जापान सरकारले जापानका बिभिन्न भागमा बसोबास गरिरहेका विदेशी नागरिक तथा पर्यटकहरुलाई हगिविस सुपर ताईफुबाट बच्न सचेत रहन आग्रह गरेको छ । सरकारले विदेशीहरुका लागी स्मार्टफोनमा उपलब्ध एप, बिभिन्न साईट तथा टेलिभिजनमार्फत सुचना तथा जानकारीहरु लिन आग्रह गरेको छ ।

बिहिबार एक पत्रकार सम्मेलन गर्दै न्याय मन्त्री काचुयुकी खावाईले विदेशीहरुमाझ सुचना सम्प्रेसण गर्न मातहतका निकायहरुलाई अह्राएको बताएका छन् । उनले स्थानीय निकायहरुले तयार पारेका जानकारीहरु पढ्न तथा जापान टुरिजम एजेन्सीले तयार पारेको वहुभाषिक मोवाईल एप प्रयोग गर्न सुझाएका छन् । जुन नेपाली भाषामा पनि छ ।

कागोशिमा हुँदै जापानी भुभागमा प्रवेश गर्ने यो सुपर ताईफु ताकामासु, ओसाका, नागोया, टोक्यो, नागानो, कानाजावा, उचुनोमिया, सेन्दाई हुँदै आमोरीतर्फ गएर सकिनेछ । मौसम विज्ञान विभागद्धारा प्रदान गरिएको सुचना अनुसार यो सुपर ताईफुको असर सबैभन्दा धेरै ओसाका, नागोया, टोक्यो, नागानो, कानाजावा, उचुनोमिया लगायतका स्थानमा देखिने अनुमान गरिएको छ ।

शुक्रबारदेखी इजु द्धिपमा २४ घण्टाभित्र १२० मिलिमिटर पानी पर्न सक्ने अनुमान गरिएको छ भने कान्तो, तोकाई तथा किन्की क्षेत्रमा १ सय मिलिमिटर सम्म बर्षा हुनसक्ने अनुमान गरिएको छ । त्यसैगरी शनिवार दिउँसोबाट ताईफुको असर बृद्धि भई तोकाई क्षेत्रमा ४ सय देखि ६ सय मिलिमिटरसम्म पानि पर्नेछ भने कान्तो–कोशिन क्षेत्रमा ३ सय देखि ५ सय मिलिमिटरसम्म पानि पर्नेछ भने किन्की क्षेत्रमा ३ सय देखि ५ सय मिलिमिटरसम्म पानि पर्नसक्ने अनुमान गरिएको छ ।

जेआर रेलवे कम्पनीले आगामी शनिबार र आईतबार ताईफु (आँधि बेहेरी)का कारण विभिन्न ठाउँमा आफ्ना रेलसेवा बन्द हुनसक्ने बताएको छ । विध्वंसकारी आँधी हागिविसले यसअघि फासाई आँधीले भन्दा पनि ठूलो क्षति पुर्याउन सक्ने चेतावनी पनि दिईएको छ ।

Super Typhoon Hagibis

जेआर रेलवे कम्पनीले जनाए अनुसार बुलेट ट्रेन तथा अन्य मुख्य रेलसेवाहरु जस्तै–यामानोते, चुओ तथा तोकाईदो लगायतका लाईनहरु बन्द हुन सक्नेछन् । जेआर मात्र नभई, कान्तो एरियामा संचालनमा रहेका थुप्रै रेल कम्पनीहरुको सेवा रद्द तथा ढिलो हुनसक्नेछ ।

प्राप्त जानकारीका अनुसार टोकियोबाट हानेदा एयरपोर्ट सम्म चल्ने केईक्यु कर्पोरेशन तथा नारिता एयरपोर्टसम्म चल्ने केईसेई लाईन पनि नचल्ने तथा ढिलो हुने सम्भावना रहेको छ । त्यस्तै ओदाईक्युलाईनमा पनि समस्या देखिन सक्ने बताईएको छ ।

जापान मेटोरोलोजिकल एजेन्सीले यस पटकको ताईफुलाई विध्वंसक भनि वर्गीकरण गरिसकेको छ । जसका कारण भारी वर्षाका कारण डुवान तथा तथा पहिरोको समेत खतरा रहेको बताईएको छ । पुर्वीजापानमा भने यसको असर शनिबार राती देखि आईताबार बिहानसम्म अत्यधिक रहने र आईतबार साँझबाट हट्ने जनाईएको छ ।

हागिविसका (ताईफु) कारण वायु सेवा कम्पनीहरुले पनि आफ्ना सेवा बन्द गर्न सक्ने बताएका छन् । अल निप्पोन एयरलाइन्स लगायत जापानका बायुसेवा कन्पनीहरुले पनि ताईफुको कारण सेवा अवरुद्ध हुनसक्ने भन्दै सचेत गराई सकेका छन् ।

यस अघिको ताईफु फासाईका कारण सोचेभन्दा धेरै प्रभावित भएपछि रेल कम्पनी तथा वायु सेवा कम्पनीहरुले यस पटक पहिलेभन्दा अझ बढि सतर्कता अपनाउने प्रयास गरेका छन् । यस्तै प्रकृतिको आँधी सन् २०१३ को अक्टोबर महिनामा पनि आएको थियो । त्यतिबेला पनि ठुलो क्षति भएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्