सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा ताइफुमा परी ४० को ज्यान गयो

जापानमा आएको निकै शक्तिशाली भनिएको हगिविस ताइफुका कारण मृत्यु हुनेको संख्या हालसम्म ४० पुगिससकेको छ । डुबानमा परेका र जोखिम क्षेत्रमा उद्दार कार्य भईरहेकाले मृत्यु हुनेहरुको तथ्यांक अँझै बढ्ने सरकारी अधिकारीहरुले बताएका छन् ।

हगिविस ताइफुमा परी १७ जना बेपत्ता भएको समाचार संस्था क्योदोले बताएको छ । जापानभरी २ सय भन्दा बढी घाईते भएको सरकारी अधिकारीहरुले बताएका छन् । ताइफुसँगै आएको घनघोर बर्षाका कारण नदिहरुमा पानीको बहाव उच्च हुन गई धेरै क्षेत्रहरुमा डुवान परेको छ । बाढीपहिरो र डुबानमा परेका क्षेत्रमा उद्धार कार्य भईरहेको छ ।

खासगरी चिकुमा नदी किनारको बाँध भत्किँदा मध्य जापानको शहर नागानो सबै भन्दा धेरै प्रभावित भएको जापान सरकारले जनाएको छ । नदी किनार भत्किएर आवासिय क्षेत्रमा पसेको पानीले पाँच मिटरसम्म डुवान गरेको बताइएको छ । जापानको भु, पुर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयका अनुसार नौओटा प्रिफेक्चरमा कम्तिमा ३३ ओटा पहिरो र भुस्खलन भएको छ ।

निकै शक्तिशाली भनिएको हगिविस सुपर ताइफुका कारण अति प्रभावित मानिएका टोकियो, गुन्मा, साइतामा, कानागावा, यामानाशी, नागानो, निगाता, सिजुओका, तोचिगी, फुकुसिमा, इबारकी, इवाटे र मियागी प्रिफेक्चरमा सबैभन्दा उच्च ५ तहसम्मको चेतावनी जारी गरिएको थियो ।

ताइफुका कारण फुकुसिमाकेनमा सबैभन्दा बढी १२ जनाले ज्यान गुमाएको तथ्यांक छ भने मियाजाकीमा ८ जनाले ज्यान गुमाएका छन् । समुद्री आँधी हगिविसका कारण खानागावा, गन्मा र तोचिगीमा ४–४ जना गरी १२ जनाले ज्यान गुमाएका छन् । फुकुसिमा, खानागावा लगायतका ६ ओटा केनमा गरी १७ जना बेपत्ता भएको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ताइफुमा परी घाइते भएका २ सय भन्दा बढीको बिभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ । ताइफु प्रभावित क्षेत्रमा बिहानैदेखी पानी पर्न थालेपछी बेपत्ताहरुको खोजी र उद्दार कार्यमा केही समस्या भएको बताइएको छ ।

Typhoon hagibis in Japan

ताइफुका कारण कम्तीमा ३८ हजार भन्दा बढीले घर छाड्न बाध्य भएका छन् । घर छाडेकाहरुलाई सरकारले अस्थाई आश्रय स्थलमा राखेको छ । सोमबार दिउँसोसम्म करिब ८ हजार घरधुरीमा विधुत आपुर्ती सुचारु हुन सकेको छैन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्