सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भारत–पाकिस्तान लडाईँमा २ जना श्रेष्ठको मृत्यु

भारत–पाकिस्तानबीचको पछिल्लो लडाइँमा पदमबहादुर श्रेष्ठ र गामिल कुमार श्रेष्ठको मृत्यु भएको छ । उनीहरुको नाम नेपालीजस्तो भए पनि कुन देशका हुन् भन्ने खुलाइएको छैन । गएराति पाकिस्तान नियन्त्रित कश्मिर (पीओके)मा भारतीय सेनाले आक्रमण गरेको थियो ।

पाकिस्तानले पनि भारततर्फ आक्रमण गरेको थियो । पाकिस्तानतर्फबाट भएको आक्रमणबाट भारतीय सेनामा कार्यरत हवल्दार पदमबहादुर श्रेष्ठ र राइफलम्यान गामिल कुमार श्रेष्ठको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

प्राप्त जानकारी अनुसार उनीहरुको ठेगाना त खुलिसकेको छैन, तर गोर्खा रेजिमेन्टका हुनसक्ने अनुमान छ । यस्तै ५५ वर्षीय मोहम्मद सादिक नामका एक सर्वसाधारण नागरिकको पनि मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । भारत र पाकिस्तान दुवैले एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् ।

भारतीय सेनाको तर्फबाट जारी विज्ञप्तिमा पाकिस्तानले भारतीय क्षेत्रमा आतंकवादीहरुको घुसपैठ गराएर युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ । त्यसको बदलामा भारतीय सेनाले पनि आतंकवादी समूहको क्षेत्रमा आक्रमण गरेको भारतीय स्थल सेनाप्रमुख जनरल विपिन रावतले बताएका छन् ।

india-and-pakistan-border

भारतीय सेनाको आक्रमणबाट पाकिस्तानको सीमामा ६ देखि १० जनासम्म आतंकवादी मारिएको र उनीहरुका तीनवटा क्याम्प ध्वस्त बनाएको दाबी रावतको छ । तर पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले भारतले विनाकारण जुरा, साहकोट र नौशेरी क्षेत्रमा युद्धविराम उल्लंघन गरेर सर्वसाधारण नागरिकलाई निशाना बनाएको आरोप लगाएका छन् ।

उनले जवाफी कारबाहीमा भारतीय सेनाका ९ जना मारिएको दाबी गरेका छन् । भारतका दुईवटा बंकरमा पनि क्षति र्पुयाएको पाकिस्तानको दाबी छ । उनले एक जना पाकिस्तानी सेना र तीन जना सर्वसाधारण नागरिकको मृत्यु भएको बताएका छन् । यस्तै पाकिस्तानी सेनाका दुई जवान र सर्वसाधारण नागरिक तीन जना घाइते भएको पनि बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्