सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानका नयाँ राजा नारुहितोले सम्हाले राजगद्दी

जापानका सम्राट नारुहितोले मंगलबार एक भव्य समारोहका बिच परम्परागत विधि पूरा गरी औपचारिक रुपमा आफ्नो राजगद्दी सम्हालेका छन् । पिता अकिहितोले गत बैशाखमा राजगद्दी त्यागेपछि उनका ५९ वर्षीय छोरा नारुहितो नयाँ सम्राट बनेका थिए ।

Emperor-Naruhito-Enthronement-Ceremony-2019-Reiwa-Era1

पूर्वसम्राट अकिहितो पनि छोराको राजगद्दी आरोहण समारोहमा सहभागी भएका थिए । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी पनि राजगद्दी आरोहण समारोहमा सहभागी भएकी छन् ।

राजगद्दी आरोहणको अवसरमा गरिने शोभायात्रा भने यसपटक भएन । जापानमा आएको समुद्री आँधी हगिबिसका कारण ठूलो जनधनको क्षति भएको शोकमा शोभायात्रा ननिकालिएको हो ।

Emperor-Naruhito-Enthronement-Ceremony-2019-Reiwa-Era1

नारुहितोले परम्परागत वस्त्र धारण गरेर साढे छ मिटर अग्लो ‘ताकामिकुरा’ भनिने राजगद्दीमा बसेका थिए । त्यहीँबाट उनले राष्ट्र र जनताको एकताको प्रतीकका रूपमा जिम्मेवारी वहन गर्ने शपथ लिएका थिए ।

समाचार संस्था रोएटर्सले उनलाई उद्धृत गर्दै लेखेको छ–‘राष्ट्र र जनताको एकताको प्रतीकका रूपमा आफ्नो उत्तरदायित्व वहन गर्न म संविधानअनुसार काम गर्ने शपथ लिन्छु ।’ सो अवसरमा उनकी पत्नी साम्राज्ञी मासाको सँगै रहेको अर्को आसनमा बसेकी थिइन् । उनले १२ पत्र भएको वस्त्र लगाएको बताइन्छ ।

Emperor-Naruhito-Enthronement-Ceremony-2019-Reiwa-Era1

यसैगरी प्रधानमन्त्री शिन्जो आबेले समारोहलाई सम्बोधन गर्दै सम्राट नारुहितोप्रति बधाई ज्ञापन गरेका थिए । समारोहमा सहभागीहरुले सम्राट नारुहितोको जयजयकार गर्दै चिरायूको कामना गरेका थिए । जापानमा संवैधानिक राजतन्त्र छ र राजा आलंकारिक भूमिकामा हुन्छन् ।

Emperor-Naruhito-Enthronement-Ceremony-2019-Reiwa-Era1
नारुहितोका भाइ युवराज आकिशिनो र युवराज्ञी किको समारोह स्थलमा आइपुग्दै

फेसबुकबाट कमेन्ट गर्नुहोस्