‘राष्ट्रवादी’ ओली कालापानीबारे किन मौन ?: देउवा
प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले कालापानी क्षेत्रको सीमा विवादमा मौन बसेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् । कांग्रेस सभापती देउवाले कालापानी नेपाली भूमि भएको र लिपुलेक त्रिदेशीय विन्दु भएको समेत बताएका छन् ।
नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले हेटौंडामा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले लिपुलेक चीन र भारतको मात्र नभई नेपालको पनि भएको बताएका छन् । यसबारे आफूले भारतमा समेत बोलेको उनले सुनाएका छन् ।
तर धर्ना जुलसबाट नभई भारत सरकारसँग वार्तामार्फत सीमा विवादको समाधान खोज्नुपर्ने उनले बताएका छन् । देउवाले अघि भने, ‘सरकारले किन गरिरहेको छैन ? राष्ट्रवादी भनिने ओलीले किन गरिरहेको छैन ? किन बोल्दैनन् ओली ?’
सरकार लम्पसरावादी भएको उनको आरोप छ । कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि कालापानी क्षेत्रमा भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन सरकारले पहल गर्नुपर्ने बताएका छन् ।
नेपालको भौगोलिक अखण्डताको रक्षाका लागि सरकारसँग काँधमा काँध मिलाउन कांग्रेस तयार रहेको भन्दै उनले भने, ‘अस्ति सार्वदलीय बैठकमा पनि प्रधानमन्त्रीलाई कूटनीतिक पहल गर्नुस् भनेका छौं । प्रधानमन्त्रीले कति गर्नुहुन्छ, हेर्नुछ ।’
सडकमा नारा लगाएर मात्र अतिक्रमित भूमि फिर्ता नहुने भन्दै उनले सरकारले तत्काल भारतसँग राजनीतिक तथा कूटनीतिक स्तरमा सम्वाद गर्नुपर्ने बताएका छन् । नेता पौडेलले भारतसँगै चीनतर्फ पनि नेपाली सीमा सुरक्षित छ छैन हेर्नुपर्ने धारणा राखेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्