सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सुगौली सन्धी अनुसार नेपालको नक्साः कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई सहयोग गर्ने बताएको छ । मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले देशको भुमी रक्षार्थ कांग्रेस जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताएका हुन् ।

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भनेका छन्–‘यो विषयलाई टुङ्गोमा पुर्याउन लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको हाम्रो भूगोलको नक्साङ्कन गर्ने विषयमा सरकारलाई हाम्रो सम्पूर्ण रुपमा साथ र सर्मथन रहन्छ ।’

केही दिन अघि भारत सरकारले लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई आफ्नो नक्सामा समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेपछि नेपालमा त्यसको विरोध भइरहेको छ ।

सोमबार मात्रै संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको थियो ।

BiswaPrakash Sharma

मंगलबार पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता शर्माले पनि १८१६ को सुगौली सन्धिका बेला जे नक्साङ्कन भएको थियो त्यही तथ्यको जगमा नेपाल अगाडि जानुपर्नेमा जोड दिएका छन् ।

प्रवक्ता शर्माले भने–‘सरकारले गर्ने जरुरी पहलबारे हामी सतर्कतपूर्वक नियालिरहेका छौं । सम्पूर्ण राष्ट्रिय एकता निर्माण भएको यो कालखण्डमा परिणाममूखी पहल गर्न सरकार समर्थ हुनुपर्ने र हुने विश्वास नेपाली कांग्रेसले लिएको छ ।’

निर्वाचन आयोगको अभिव्यक्तिप्रति आपत्ति
प्रवक्ता शर्माले सरकारले सातवटै प्रदेशको प्रदेश प्रमुखको नियुक्ती र पदमुक्त गर्नु निर्वाचन आचारसंहिता विपरीत भएको बताएका छन् । तर, निर्वाचन आयोगले नै उक्त कार्य आचारसंहिता विपरीत नभएको भनी सार्वजनिक रुपमा अभिव्यक्ति दिएको भन्दै उनले आपत्ति प्रकट गरेका छन् ।

‘निर्वाचन आयोगले नै प्रदेश प्रमुखको पदमुक्त र नयाँ नियुक्ति आचारसंहिता विपरीत छैन भनेको सुन्यौं । यो आपत्तिजनक छ’ शर्मा भन्छन, ‘संवैधानिक निकायले यस्तो भन्दा आगामी निर्वाचन निष्पक्ष रुपमा हुन्छ भन्ने विषयलाई शंकाको रुपमा लिएका छौं ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्