सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा श्रमिक महिलालाई चश्मा लगाउन रोक

जापानका केही कम्पनीहरूले कामको समयमा महिलाहरूलाई चश्मा लगाउन प्रतिबन्ध गरेको छ । जापानका स्थानीय सञ्चारमाध्यमका अनुसार महिलाहरूलाई चश्मा लगाउन प्रतिबन्ध गर्नुका कारण कम्पनीपिच्छे फरक–फरक छन् ।

परम्परागत शैलीका रेस्टुरेन्टहरूले जापानी पोशाकमा चश्मा लगाउँदा राम्रो नदेखिने र महिलाको मेक अप पनि चश्माले छेकिने भएकाले चश्मा नलगाउने तर्क राखेको छ ।

एयरलाइन्स क्षेत्रमा भने सुरक्षालाई आधार बनाउँदै चश्मा लगाउन प्रतिबन्ध लगाइएको बिबिसीले जनाएको छ । विभिन्न क्षेत्रका विभिन्न तर्क आए पनि चश्मा प्रतिबन्ध गर्नुको ठ्याक्कै कारण भने यकिन भइसकेको छैन । चश्मा लगाउनेहरूले अब लेन्स लगाउनुपर्ने बताइएको छ ।

जापानी नेटवर्क निप्पन टिभीले पहिलोपटक यसबारे समाचार सार्वजनिक गरेको थियो । निप्पन टिभीले नै जापानमा महिला श्रमिकहरूले चश्माको साटो कन्ट्याक लेन्स लगाउनु पर्ने भन्दै वकालत गर्ने कम्पनीहरूका बारे कथा चलाएको थियो ।

Japan Working women

खबर सार्वजनिक भएसँगै यो नियमको विरोध सुरू भएको छ । महिलाहरूलाई एउटा कम्पनीका कारण लेन्स लगाउन बाध्य बनाइएको भन्दै यसविरूद्ध आवाज उठिरहेको छ ।

केहीले यसलाई जापानी स्कुलहरूको कडा नियमसँग तुलना गरेका छन्, जसमा स्कुलका विद्यार्थीलाई कपाल रंगाउन नदिई कालै राख्न बाध्य पारिएको छ । क्योटो विश्वविद्यालयको समाजशास्त्रका प्राध्यापक कुमिको नेमोतोका अनुसार महिलाहरूलाई चश्मा लगाउन प्रतिबन्ध गर्नुको कुनै अर्थ छैन । यसलाई विभेदकारी नियमका रूपमा लिँदै उनले भनेका छन–‘यो लैंगिक विभेद हो, परम्परागत जापानी सोच हो ।’

कम्पनीले महिलालाई कामका आधारमा भन्दा पनि एक महिलाको हिसाबमा हेरिरहेको प्राध्यापक नेमोततोको भनाइ छ । यसअघि पनि जापानमा महिलाले कामको समयमा अग्ला हिल जुत्ता लगाउनु आवश्यक र उपयुक्त भन्दै जापानका स्वास्थ्य र श्रममन्त्री ताकुमी नेमोतो आफैंले भनेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्