सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

केपी ओली र नेपालबिच ४ घण्टा गोप्य छलफल

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयदेखिको बोल्ती बन्द टुटेको छ । गत भदौमा उपचारका लागि प्रधानमन्त्री ओली सिंगापुर जानुअघिको सचिवालय बैठकमा दुवै नेताबीच व्यक्तिगत स्तरमै भनाभन भएको थियो । त्यसपछि दुवैको दोहोरो संवाद हुँदैनथ्यो ।

मंगलबार दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा लामो समयदेखिको ‘बोल्ती बन्द’ टुटेको हो । नेता नेपालका सहयोगी मोहन गौतमले दुई नेताबीच मंगलबार चार घण्टा लामो भेटघाट भएको पुष्टि गरेका छन् । प्रधानमन्त्रीलाई भेट्न नेपाल बिहान ११ बजे बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओलीले दुई÷तीन दिनदेखि नेपाललाई भेट्न खोजिरहेका थिए । तर समय मिलिरहेको थिएन ।

प्रधानमन्त्री निकट स्रोतअनुसार, नेपाल पुग्दा ओलीको खाना खाने समय भएको थियो । नेपाल भने खाना खाएरै गएका थिए । तर, ओलीले एउटाले खाने अर्काले हेरिरहने हुन्न भनेपछि नेपाल पनि सँगै टेबलमा बसेर केही खानेकुरा खाएका थिए । ‘खाना खाने टेबलदेखि सुरू भएको गफ चार घण्टा चल्यो,’ बालुवाटार स्रोतले बतायो ।

kp-oli-and-madhav-nepal

भेटमा पार्टी सञ्चालन र नेपाल–भारत सीमाबारे चलिरहेको विवाद लगायत विषयमा छलफल भएको कुरा आफूलाई नेपालले बताएको उनीनिकट एक नेताले बताएका छन् । मन्त्रिपरिषद हेरफेर गर्नेबारे भने कुरा भए÷नभएको यकिन गर्न नसकेको उनले बताए ।

प्रधानमन्त्री ओली भदौमा लामो उपचारका लागि सिंगापुर प्रस्थान गर्नुअघि बसेको नेकपा सचिवालयको बैठकमा दुवैबीच नमीठो संवाद भएको थियो । बैठक सुरुवात गर्दै प्रधानमन्त्रीले आफू सिंगापुर जान लागेको र आफ्नो अनुपस्थितिमा पनि पार्टीले निर्णय लिनसक्ने बताएका थिए । तर, त्यसको लागि आफूसँग सहमति लिनुपर्ने प्रस्ताव उनले गरेका थिए ।

प्रधानमन्त्रीको सो प्रस्तावको नेपालले प्रतिवाद गरेपछि दुई नेताबीच चर्काचर्की नै भएको थियो । त्यति बेला नेपालले विवादको बिट मार्दै प्रधानमन्त्रीलाई, ‘तपाईं (उपचारका लागि सिंगापुर) जाँदै हुनुहुन्छ, तपाईंलाई स्वास्थ्य लाभको कामना छ’ भनेका थिए । बैठकमा उपस्थित स्रोतअनुसार ओलीले तत्काल जवाफ फर्काए, ‘तपाईंले मेरो मृत्यु चाहनुभएको छ, स्वास्थ्य लाभको कामना गर्नुपर्दैन ।’

नेपालले उनीनिकट नेताहरूसँग आफूले शुभकामना दिँदा पनि प्रधानमन्त्रीले चाहिँदैन भनेपछि ‘तपाईं यति निकृष्ट र आपराधिक ढंगले पनि सोच्नुहुन्छ ?’ भनेर प्रश्न सोधेको बताएका थिए । स्रोतअनुसार प्रधानमन्त्रीको सो भनाइमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सचिवालय सदस्य बामदेव गौतम र नारायणकाजी श्रेष्ठले आपत्ति जनाएका थिए ।

उनीहरूले स्वास्थ्यलाभको कामना गर्दा पनि चाहिँदैन भन्न हुँदैन भनेर प्रधानमन्त्रीलाई सम्झाएका थिए । त्यसयता ओली र नेपालको सम्बन्ध राम्रो थिएन । केही दिनअघि ओली बिरामी भएर ग्राण्डी अस्पताल बस्दा पनि नेपाल भेट्न गएका थिएनन् ।

पार्टीका निर्णयमा पनि अध्यक्षद्वयको मनपरी भएको भन्दै नेपालले असन्तुष्टि जनाउँदै आएका छन् । पछिल्लोपटक सात प्रदेश प्रमुख नियुक्त गर्न अध्यक्षद्वयले आफ्ना निकट व्यक्ति छानेपछि नेपालले सचिवालय बैठकमा नोट अफ डिसेन्ट नै लेखेका थिए । यिनै घटनाक्रमका बिच ओली र नेपालबिच भेटघाट भएको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्