सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बैतडीकी पुजाका बलात्कारीलाई ११ बर्ष जेल

सर्वोच्च अदालतले पुनरावेदनको फैसला उल्टाउँदै बैतडीकी पूजा बोहोरालाई बलात्कार गर्ने दुई जनालाई साढे ११ वर्ष जेल सजाय सुनाएको छ । साथै पीडित बोहोरालाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ ।

न्यायाधीश सपना मल्ल र हरि फुयाँलको संयुक्त इजलासले तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको फैसला उल्टाएको हो । आइतबार सजाय निर्धारणका लागि बसेको इजलासले सागर भट्ट र अमरराज अवस्थीलाई साढे ११ वर्ष कैद सजाय सुनाएको हो ।

सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालका अनुसार प्रतिवादीलाई बलात्कार कसूरमा साढे ६ वर्ष र सामूहिक बलात्कार कसूरमा ५ वर्ष गरी साढे ११ वर्ष कैद सजाय सुनाइएको छ ।

High cour, Supreme Court

सर्वोच्चले पीडक दुई जनाबाट जनही साढे २ लाख गरी ५ लाख र ५ लाख सरकारका तर्फबाट गरी १० लाख क्षतिपूर्ति पीडितलाई भराउने पनि आदेश दिएको छ ।

जिल्ला अदालत बैतडीले यो मुद्दामा भट्ट र अवस्थीलाई १३ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो । तर पुनरावेदन अदालतका न्यायाधीश नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले जिल्लाको फैसला उल्ट्याउँदै दुबै अभियुक्तलाई सफाइ दिएको थियो ।

पुनरावेदनको फैसलाविरुद्ध सरकारी वकिल कार्यालयले २०७१ पुस २ गते सर्वोच्चमा मुद्दा दायर गरेको थियो । आइतबारको इजलासले क्षतिपूर्ति संरक्षण ऐनअनुसार क्षतिपूर्ति निर्धारणका लागि पेरोल अधिकृत नियुक्त गर्न पनि सरकारलाई आदेश दिएको छ । त्यस्तै मुद्दा अनुसन्धान र अभियोजनकै क्रममा पीडकको आर्थिक अवस्था खुल्ने प्रतिवेदन पनि साथै राख्न आदेश दिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्