सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भारतले हाम्रो भुमी पनि नक्सामा राख्योः चीन

भारतले एकतर्फी रुपमा जारी गरेको आफ्नो प्रशासनिक नक्सामा नेपालको भूभाग समेटेको भनेर विरोध भइरहेका बेला चीनको समेत भूभाग भारतीय नक्सामा पारेको एक चिनियाँ प्राध्यापकले दावी गरेका छन् ।

नेपाल भ्रमणमा रहेका चिनिया थिंक ट्यांक तथा प्राध्यापकहरुले सोमबार नेपाली पत्रकारहरुसँग भारतले चीन र पाकिस्तानको भूभागसमेत नयाँ नक्सामा हालेको बताएका हुन् ।

आइतबार प्रेस काउन्सिल नेपालको हलमा आयोजित छलफल कार्यक्रममा चाइना इस्टिच्युट अफ फुदान विश्वविद्यालयका निर्देशक तथा अन्तराष्ट्रिय मामिला विज्ञ प्राध्यापक झाङ वेइवेइले छिमेकी सबै मुलुकसँग भारतको सीमा समस्या रहेको बताए ।

Chinese Professer
तस्विरः अनलाइनखबरबाट

भारतले भुटानबाहेक अरु सबै छिमेकीसँग सम्बन्ध सुधार गर्न नसकेको समेत उनको भनाइ थियो । चाइनिज एकेडेमी अफ इन्टरनेशन ट्रेड एण्ड इकोनोमिक कोअपरेशनका उप–निर्देशक झु काइहुवाले नेपाली भूमि भारतले मिचेको बारेमा चीन जानकार रहेको बताएका छन् ।

उनले यो समस्या दुई देशबीच वार्ताबाट समाधान होस् भन्नेमा चीन रहेको र यसबारेमा चीनको अलग्गै अडान नरहेको बताएका छन् । उनले नेपाली भूभागमात्र होइन लद्दाखको नक्सामा चीन र पाकिस्तानको भूभाग समेत भारतले आफ्नोमा देखाएको बताएका छन् ।

भारतको सो नक्साका बारेमा चीनले आधिकारिक रुपमा आपत्ति जनाएर त्यसलाई अस्वीकार गरिसकेको समेत उनले जानकारी दिए । प्राध्यापक वेइवेइले दक्षिण एशियाको विकासका लागि चीनले अघि सारेको चीन नेपाल भारत त्रिदेशीय आर्थिक करिडोरबाट भारत हच्किएको बताए । उनले भारतलाई क्षेत्रीय आर्थिक साझेदारीमा जोड्न कठिन रहेकोसमेत टिप्पणी गरे ।

उनले भने–‘भारतको सबै छिमेकीसँग समस्या देखियो । हामीले चाइना–नेपाल–भारत आर्थिक कोरिडोरको प्रस्ताव ल्यायौं तर ऊ त्यसबाट हच्कियो । बिआरआईमा पनि ऊ हच्किएको छ । सीमा समस्याहरु शान्तिपूर्ण ढंगले समाधान हुनुपर्छ, यसमा चीनको फरक अडान हुन्न ।’

नेपाल भारत सिमा समस्याबारे चीनको विदेश मन्त्रालयले आफ्नो धारणा राखिसकेको भन्दै उनीहरुले लिपुलेकको बारेमा पनि चीन आवश्यकता परेमा छलफल गर्न तयार रहेको बताए । उनले नेपालको सार्वभौमिकतालाई भारतले सम्मान गर्नुपर्ने बताएका छन् ।

चीनको विदेश मन्त्रालयको एशिया मामिला सम्बन्धी बिभागकी द्धितीय सचिव किन वेन्सीले राष्ट्रपति सी जिनपिङको भ्रमणले नेपाललाई चीनले महत्व दिएको प्रष्ट हुने बताइन् ।

उनले भारतसँगको सिमा समस्या चीनले पनि भोगिरहेको भन्दै छलफलबाटै समाधान हुनुपर्ने बताइन् । उनले नेपालको चीनसँगको ब्यापार घाटा कम गर्नका लागि कृषि र पर्यटन उद्योगको विकास हुनुपर्ने धारणा व्यक्त गरिन् ।

कार्यक्रममा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजाल, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य लगायतले चीनिया थिंक ट्यांक र सरकारी अधिकारीहरुसँग नेपाल मामिलामा जिज्ञासा राखेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्